Comments Add Comment

बासमती ‘ब्याटल’ : भारतविरुद्ध पाकिस्तान र नेपाल एउटै कित्तामा

२४ मंसिर, काठमाडौं । भारतले बासमती धान र चामलको भौगोलिक संकेतमाथि एकाधिकारको माग गर्दै यूरोपियन यूनियनमा दिएकोे दाबीविरुद्ध नेपालले आफ्नो बिरोध पेश गरेको छ ।

बासमती चामलको भौगोलिक ‘ट्रेडमार्क’मा भारतीय एकाधिकारको प्रयासविरुद्धको बिरोध तथा नेपालको दाबी केही घण्टा अघि पेश गरिएको नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले जानकारी दिए ।

‘बासमती चामल नेपालको इतिहाससँग जोडिएको भन्ने यथेष्ठ प्रमाणसहित यूरोपियन युनियनको केन्द्रीय कार्यालय ब्रसेल्समा दाबी बिरोध पठायौं,’ डा जोशीले भने । नेपालकोतर्फबाट कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दीपक भण्डारीले उक्त दाबी बिरोध पेश गरेको जोशीले जानकारी दिए ।

ईयूको नेपाली राजदूत, नेपालस्थित ईयूको कार्यालय र उद्योग तथा कृषि मन्त्रालयलाई पनि दावी बिरोध पत्रको बोधार्थ पठाइएको उनले बताए ।

बिहीबार बिहानसम्म जवाफ नआए नेपलस्थित यूरोपियन यूनियनको कार्यालयमा पुगेर लिखित जानकारी नै गराउने गरी तयारी गरिएको जोशीको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिवको मंगलबार बसेको बैठकले नेपालकोतर्फबाट दाबी बिरोध पेश गर्ने निर्णय भएको थियो ।

भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन (ईयू) मा दिएको आवेदन ११ सेप्टेम्बर २०२० मा जर्नलको रुपमा प्रकाशित भएको थियो । ११ डिसेम्मरसम्म यसविरुद्ध दाबी विरोध गर्ने समय सीमा थियो ।

उक्त निवेदनबिरुद्ध दाबी बिरोध नपरेको खण्डमा उक्त उत्पादनको उत्पादन, बिक्री र ट्रेडमार्क अधिकार भारतको मात्रै एकलौटी हुने थियो ।

ईयू जर्नलमा प्रकाशित भएको मितिले तीन महिनाभित्रै दाबी बिराध गर्नुपर्ने मान्यताअनुसार नेपालले दाबी बिरोधको तयारी गरेको थियो ।

भारतको निवेदनविरुद्ध पछिल्लो एक महिनादेखि पाकिस्तान एक्लै लड्दै आएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भारत-पाकिस्तानबीचको यो विषयमा उत्पन्न विवादलाई ‘बासमती ब्याटल’ नाम दिएका छन् ।

बिबादमा पाकिस्तानले उक्त धान र चामल आफ्नो मुलुकमा पनि उत्पादन हुने भन्दै भारतविरुद्ध दाबी पेश गरेको थियो । दाबी बिरोध गर्ने अन्तिम समयमा आएर पाकिस्तानकै जस्तै गरी नेपालले उक्त उत्पादनको एकाधिकारविरुद्ध भारतको बिपक्षमा उभिएको हो ।

भारतले बासमती धानको उत्पादन भारतीय क्षेत्रमा हुने भन्दै यसको भौगोलिक संकेत आफूले मात्रै पाउनुपर्ने दाबी पेश गरेको थियो ।

उसले उत्तराखण्ड, हरियाना, दिल्ली, पञ्जाब, हिमाञ्चल, उत्तर प्रदेश लगायतका क्षेत्रमा बासमती उत्पादन हुने र यसलाई फलाउने प्रक्रिया र स्वादमा आफ्नै विशिष्टता रहेको दाबी गरेको छ ।

बासमती परम्परागत रुपमै भारतमा उत्पादन हुँदै आएकोले बासमतीको नाममा अरु देशको स्वामित्व हुन नहुने माग गरेको छ ।

तर, नेपालमा पनि विभिन्न प्रकारका बासमती धानको खेति परापूर्वकालदेखि नै हुँदै आएको छ । बासमतीलाई नेपालको रैथाने धानको प्रजाति मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment