Comments Add Comment

यार्सागुम्बासहित चार जना पक्राउ

२८ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, काठमाडौं बूढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभाको चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौंको गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुलीको दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल परियार र काठमाडौंको गोकर्णश्वर नगरपालिका-४ माकलबारी बस्ने रामेछापको हिमगंगा गाउँपालिका-७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अवैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशाल र सुनिललाई शनिबार राति चेकजाँच गर्दा उनीहरुको साथबाट १२ पिस यार्सागुम्बा बरामद गरेको थियो ।

उनीहरुसँगको सोधपुछको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको समन्वयमा शेर बहादुरको कोठामा प्रहरी पुगेको थियो । सो क्रममा लुकाएर राखेको अवस्थामा प्रहरीले थप मात्रामा यार्सागुम्बा बरामद गरेको थियो । शेरबहादुरले आफूलाई उक्त यार्सागुम्बा हिमालले दिएको बताएपछि हिमाललाई पनि काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट नियन्त्रणमा लिएको उनले बताए ।

डीएसपी विष्टका अनुसार बरामद यार्सागुम्बा आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment