Comments Add Comment

साहित्यिक पत्रिका : कागजबाट डिजिटल बन्ने प्रयासमा

११ पुस, काठमाडौं । नेपाली साहित्यिक पत्रिकाको इतिहास लामो र गौरवमय छ । वि.सं. १९५५ सालमा प्रकाशित भएको ‘सुधासागर’ लाई साहित्यिक पत्रकारिताको पहिलो खुटि्कलो मान्ने हो भने अहिलेसम्मको साहित्यिक पत्रकारिताले १२२ वर्ष लामो यात्रा पूरा गरेको छ ।

‘शारदा’, ‘रुपरेखा’, ‘इन्द्रेणी’, ‘मधुपर्क’, ‘गरिमा’, ‘रचना’, ‘अभिव्यक्ति’, ‘जनमत’, ‘दायित्व’लाई नेपाली साहित्यका ऐतिहासिक साहित्यिक पत्रिकाहरू मानिन्छ । नेपालका स्थापित साहित्यकारहरू जन्माउन यी पत्रिकाले मुख्य भूमिका खेलेको इतिहास छ ।

साहित्यिक पत्रकार रोचक घिमिरे अहिलेको जमाना अनलाइनको भएकाले अनलाइन साहित्यिक पोर्टलहरुको विकास हुनुपर्ने धारणा राख्छन् । घिमिरेका अनुसार प्रविधिको युगमा साहित्य पनि त्यही ढाँचामा जानुपर्ने हुन्छ ।

पाँच दशकदेखि ‘रचना’ साहित्यिक पत्रिका सम्पादक-प्रकाशन गरिरेका ८० वर्षीय घिमिरे भन्छन्, ‘साहित्यिक अनलाइन खुल्नुपर्ने भनिरहँदा यसको विश्वश्नीयता र स्तरीयतामा पनि ध्यान दिनुपर्छ । अर्थात्, डिजिटल ढाँचामा जाँदा साहित्यको मर्म खस्कुनु हुँदैन ।’

प्राध्यापक गोविन्दराज भट्टराई साहित्यिक पत्रिकाको युगको दुखान्त कथा स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला कुनै लेख लेख्दा कार्बन राखेर देशैभरिका पत्रिकामा पठाउनुपथ्र्यो । आज त्यो अवस्था अन्त्य भएको छ ।’

अनलाइनले सबैभन्दा सजिलो तरिकाले लेख्ने माध्यम उपलब्ध गराएको भट्टराईको निचोड छ । उनी यो अवसरलाई लेखक, साहित्यकारले सदुपयोग गर्नुपर्ने धारणा राख्छन् ।

साहित्यिक पत्रकार रामप्रसाद पन्त पनि नेपाली साहित्यमा अनलाइन पत्रिकाहरूको प्रभाव बढ्दै गएको स्वीकार्छन् । उनका अनुसार सूचना प्रविधिको युगमा साहित्य पनि त्यही माध्यममा जान आवश्यक हुन्छ ।

साहित्यको ‘डिजिटलाइजेसन’

पछिल्लो समय दैनिक पत्रिकाहरुले जस्तै मूलधारका अनलाइनहरुले साहित्यिक सामग्रीलाई बिट रिपोर्टिङकै रुपमा प्राथमिकता दिन थालेका छन् । तथापि, छुट्टै साहित्यक अनलाइनहरु चलाउने क्रम पनि बढेको छ । यस्ता अनलाइनहरु केही प्रवासबाट चलेका छन् भने केही नेपालबाट ।

अहिले एक दर्जनको हाराहारीमा साहित्यिक अनलाइनहरू सञ्चालनमा आएका छन् । मझेरी डटकम, साहित्य संग्रहालय, साताको साहित्य, कविता कोष, समकालीन साहित्य, अक्षरंग, नेपाली कलासाहित्य डटकम, साहित्य पोस्ट, काव्यालय आदि त्यस्ता साहित्यिक अनलाइन हुन् ।

२०६१ मा स्थापना भएको ‘नेपाली कलासाहित्य डटकम प्रतिष्ठान’ पुरानो साहित्यिक अनलाइन मानिन्छ । मोमिला जोशी सम्पादक रहेको यो अनलाइन अहिले पनि सञ्चालनमा छ । संस्थाले साहित्यिक पोर्टलसँगै वाषिर्क पुरस्कार वितरण, कलाश्री पत्रिका प्रकाशन गर्दै आएको छ ।

संस्थाकी अध्यक्ष मोमिला भन्छिन्, ‘२०६१ सालको अवधारणापत्रमा नै नेपालको साहित्य अन्तरराष्ट्रिय स्तरमा पुग्नुपर्छ भनेर लेखेका थियौं । त्यसैले अनलाइनको सर्वसुलभता नभएका बेलामा पनि हामीले कलासाहित्य डटकम खोल्न सक्यौं ।’

काठमाडौंबाटै खुलेको ‘अक्षरंग डटकम’ अर्को साहित्यिक अनलाइन पत्रिका हो । अक्षरंगले साप्ताहिक रुपमा अपडेट गरी रचना प्रकाशित गर्दे आएको सम्पादक रमण घिमिरे बताउँछन् । साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरे प्रधानसम्पादक रहेको यो अनलाइनले नयाँ-पुराना पुस्ताका साहित्यकारलाई जोडेको छ ।

नेपाली साहित्यको अंग्रेजी अनलाइन ‘दी गोर्खा टाइम्स’ले पनि प्रकाशित हुँदै आएको छ । संयुक्त राज्य अमेरिकामा दर्ता भएको यो साहित्यिक अनलाइन नेपालमा पनि दर्ता हुने प्रक्रियामा रहेको सम्पादक महेश पौडेल बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका उपप्राध्यपाक रहेका पौडेलका अनुसार गोर्खा टाइम्स नेपाली साहित्यको पहिलो अंग्रेजी अनलाइन हो । यसमा साहित्यका अनुदित रचनाहरु प्रकाशित गरिँदै आएको छ ।

‘साताको साहित्य’ अनलाइन अष्ट्रेलियाबाट प्रकाशित हुने गरेको छ । यो अनलाइन पोर्टलका परिकल्पनाकार निष्प्रभ सजी हुन् । उनी एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

उता, भारतबाट प्रकाशित हुने ‘कविता कोश’ले पनि दक्षिण एशियाका अन्य भाषासरह नेपाली भाषालाई पनि स्थान दिएको छ । यद्यपि नयाँ रचनाभन्दा संग्रहण गरिएका पुराना नेपाली कविताहरू यसमा बढी राखिएका छन् ।

दार्जिलिङबाट पनि नेपाली साहित्यको अंग्रेजी अनलाइन ‘पब्लिकनामा’ खुलेको छ । राजा पुनियानीको नेतृत्वमा खुलेको यो अनलाइनले नेपाली र भारतेली नेपाली साहित्यलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै, अश्विनी कोइराला सम्पादक रहेको ‘साहित्य पोस्ट’ अनलाइनले पनि साहित्यका सामग्री अपडेट गर्दै आएको छ ।

आकर्षणसँगै आर्थिक संकट पनि

काठमाडौंकी श्रीजु सरलको नेतृत्वमा राजकुमार नेपाल, प्रवीण पौडेल र रितेश गुरुङले ०७६ असारमा केही युवाले साहित्यमा नयाँ पुस्तालाई जोड्ने उद्देश्यले २०७६ असारमा ‘काव्यालय डटकम’ सुरु गरे । सुरुमा घरैबाट साहित्यिक सामग्री पोष्ट गरेका उनीहरुले केही महिनापछि ललितपुरस्थित ज्वागलमा कार्यालय खोले । तर, लकडाउनपछि कार्यालय बन्द भयो । त्यसपछि उनीहरूले घरमै बसेर सामग्री अपडेट गरिहेका छन् ।

स्थापनको डेढ वर्षको अवधिमा काव्यालयले २ सयको हाराहारीमा युवा लेखकलाई जोडेको सम्पादक श्रीजु सरल बताउँछिन् ।
युवाहरुको आकर्ष देखिए पनि बलियो आयस्रोत र विज्ञापन नहुँदा साहित्यिक अनलाइनहरु संकटमा पर्दै आएका छन् । संकटबीच पनि ती अनलाइनका सम्पादक तथा प्रकाशकको व्यक्तिगत बलमा पोर्टल टिकिरहेको छ ।

गीतकार रमण घिमिरे सम्पादक रहेको ‘अक्षरंग डटकम’लाई चौधरी फाउण्डेसनको साथ छ । बेलायतबाट प्रकाशित हुने ‘समकालीन साहित्य डटकम’ कृष्ण बजगाईंको पहलमा सञ्चालन भइरहेको छ ।

नेपाली कलासाहित्य डटकम काठमाडौंका निजी विद्यालयहरूको विज्ञापन र एनएलजी इन्स्योरेन्स कम्पनीको सहयोगमा चलेको छ ।

मझेरी डटकम, साहित्य संग्रहालय, अनलाइन साहित्य, नेपाली साहित्य घर, नेपाली साहित्य संसार व्यक्तिगत बलबुँतामै चलेका छन् । अष्ट्रेलियाबाट सञ्चालन हुने ‘साताको साहित्य’ पनि व्यक्तिगत लगानीमै चलेको हो । सम्पादक/प्रकाशक निष्प्रभ सजी भन्छन्, ‘साताको साहित्य पुरस्कार भने इनोभेटिभ एसोसिएट भन्ने संस्थाले स्पोन्सर गरेको छ ।’

नेपाली कलासाहित्य डटकमकी मोमिला जोशी आर्थिक सहजता भयो भने साहित्यिक अनलाइनमा दैनिक अपडेट गर्न सकिने बताउँछिन् । उनी भन्छिन्, ‘आर्थिक सबलताबिना मिडिया प्रभावकारी नहुने देखियो । यसैले हाम्रो वार्षिक पत्रिका ‘कलाश्री’का सामग्री नै अनलाइनमा राख्दै आउनुपर्ने बाध्यता छ ।’

साहित्य पोस्टका अश्विनी कोइराला भन्छन्, ‘साहित्यिक अनलाइन भनेपछि लगानीकर्ता, विज्ञापनदाताको चासो निकै कम हुन्छ । यसैले पनि आर्थिक संकटको सामना गर्नैपर्ने हुन्छ ।’

लेखक एवं समीक्षक राजकुमार बानियाँ साहित्यिक अनलाइनको काममा सबैले सहयोग गर्न आग्रह गर्छन् । बानियाँले विभिन्न साहित्यिक अनलाइनमा प्रकाशित सामग्री आफूले पढ्ने गरेको बताए । उनका अनुसार अनलाइन साहित्यिक पत्रिकाहरूले नेपाली साहित्यको प्राण धान्न सघाउ पुर्याएका छन् । र, यस्ता साहित्यिक अनलाइनले नयाँ पुस्तालाई लेखनमा ल्याउन सहायता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment