Comments Add Comment

मानिसको राजमार्ग, वन्यजन्तुको मृत्युमार्ग !

२० पुस, काठमाडौं । शुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार  विहान कारसँग ठोक्किएर १० वर्षको पोथी बाघ मर्यो

शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी ५२ वर्षीया नन्दकला थापा छोराले चलाइरहेको मोटरसाइलमा यात्रा गरिरहँदा एक्कासी बाघको शिकार बनिन् । २०५८ सालमा त्यही ठाउँमा यसैगरी बाघले एकजनाको ज्यान लिएको थियो ।

मुख्यगरी तराईका राष्ट्रिय निकुञ्जको घना जंगल चिरेका राजमार्गमा पछिल्ला वर्षमा यस्ता घटना बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बताउँछ । बर्दिया राष्ट्रिय निकुञ्जको शुक्रबार घटना भएको खण्डमा त नेपाली सेनाले सवारीमा ‘टाइम कार्ड’ लगाएको छ । राजमार्गमा पर्ने अन्य निकुञ्ज क्षेत्रमा पनि ४० किलोमिटर प्रतिघण्टा भन्दाबढी वेगमा सवारी चलाउन निषेध छ ।

संरक्षित वन्यजन्तु र मान्छेबीच राजमार्गमा हुने जम्काभेटका घटनाले दुवै पक्षको असुरक्षा बढेको देखाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य बताउँछन् । उनकाअनुसार कुल १०२८ किलोमिटरको पूर्व-पश्चिम राजमार्गको करिब २०० किमि खण्ड निकुञ्जभित्र पर्छ ।

बाँके राष्ट्रिय निकुञ्जमा करिब सय किलोमिटर, बर्दिया राष्ट्रिय निकञ्जमा ३० किमि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ किमि, पर्सामा २० किमि र चितवनमा ५ किमि राजमार्ग पर्छ ।

यसबाहेक राजमार्गको थप २०० किलोमिटर वन्यजन्तुको मुख्य बासस्थानका रुपमा रहेका जंगलभित्रै पर्छन् । घना वन क्षेत्र भएर जाने राजमार्ग र ग्रामीण सडकहरु थपिने क्रममा छन् । करिब एक लाख किलोमिटर सडक सञ्जाल रहेको नेपालमा कति किमि वन क्षेत्रबाट गुज्रिन्छ भन्ने अध्ययन भने भएको छैन ।

मध्यपहाडी, मदनभण्डारी र हुलाकी राजमार्ग, विभिन्न पहुँचमार्ग र ग्रामीण सडकहरु बनाउँदा मुख्य गरी मुआब्जा विवाद छल्न वन क्षेत्र नै रोज्ने गरिएको छ । पछिल्लो समयमा कच्ची सडकहरुले पक्की रुप लिने क्रम पनि बढेको छ । यसले गर्दा वन्यजन्तुमाथि दिनदिनै खतरा बढेको विभागका इकोलोजिस्ट आचार्य बताउँछन् । उनका अनुसार वन्यजन्तुका लागि फराकिलो कालोपत्रे सडकमा तीव्र गतिमा चल्ने सवारी ठूलो खतरा बनेका छन् भने निकुञ्ज क्षेत्रभित्र तोकिएको गतिमा गुड्दा यात्रु जोखिममा पर्ने अवस्था बनेको छ ।

सवारीको शिकार वन्यजन्तु

गत वर्षको एक अध्ययनले त्यसअघिको तीन वर्षमा करिब ५०० जंगली जनावर सडक दुर्घटनामा मरे । आर्थिक वर्ष २०७६/०७७ मा मरेका ५९१ मध्ये १०८ वन्यजन्तुको मृत्युको कारण सडक दुर्घटना थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार त्यसअघि आव ०७५/७६ मा ११९, ०७४/७५ मा १२४ र ०७३/७४ मा १३३ वटा वन्यजन्तु सवारीको ठक्करबाट सडकमा मारिएका थिए ।

घना वन क्षेत्र चिरेर बनेका राजमार्गसहित विभिन्न पूर्वाधार आयोजनाहरु धेरै वन्यजन्तु दुर्घटनामा पर्ने कारक बनेको संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व वन्यजन्तु कोष, नेपाल बताउँछ । सडक दुर्घटनामा मरेका वन्यजन्तुको संख्या हाल रेकर्ड भएकोभन्दा निकै हुनसक्ने कोषका संरक्षणविदहरु बताउँछन् ।

सवारीको ठक्करबाट घाइते भएर जंगलमा मर्ने वन्यजन्तुको गणना भएको छैन । वन्यजन्तु मरेका सबै सडक दुर्घटना रेकर्डमा आएको भनेर मान्न सकिने स्थिति पनि छैन । जंगल क्षेत्रमा मात्र नभई नहर, विद्युत प्रसारणलाइन आदिका पूर्वाधार क्षेत्रमा पनि वन्यजन्तुहरु दुर्घटनामा पर्ने गरेका छन् ।

विशेषतः पानी, कन्दमुल वा शिकारको खोजीका भौतारिएका वन्यजन्तु बढी सडक दुर्घटनामा परेको अध्ययनले देखाएको छ । विश्व वन्यजन्तु कोषले गरेको अध्ययनअनुसार धेरैजसो वन्यजन्तु हिउँद मौसममा सडक दुर्घटनामा पर्ने जोखिम रहेको पाइएको छ ।

कोषले मुग्लिन-नारायणगढ सडकको रामनगर र आपँटारी खण्डको चार ठाउँमा बनाइएको वन्यजन्तु अण्डरपासमा सन् २०१७ अगस्टदेखि २०१८ जुनसम्म अध्ययन गरेको थियो । वन्यजन्तुकै लागि भनेर नेपालमा पहिलोपटक अण्डरपास बनेका हुन् ।

वासस्थानमा पानी र आहारको अभाव हुने समयमा सडक क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर बढी हुने अध्ययनले देखाएको छ । हिउँदमा अन्डरपासबाट ओहोरदोहोर गर्नेमा मृग, बँदेल, दुम्सी, न्याउरी मुसा, लंगुर, वन बिरालो बढी थिए भने १० प्रतिशत बाघ, चितुवा, गैँडाजस्ता ठूला स्तनधारी थिए । यो अनुभव र अन्तर्राष्ट्रिय अभ्यासलाई हरेर नेपालले वन्यजन्तु र यात्रु सुरक्षाका लागि घना वनबाट गुज्रने राजमार्गहरुमा अण्डरपास, ओभरपास संरचना बनाउनुपर्ने विश्व वन्यन्तु कोषको सुझाव छ ।

रामनगरमा बनाइएको वन्यजन्तुकाे अन्डरपास

विज्ञहरुको सुझाव

पछिल्लो समय राजमार्गमा मात्रै हैन, ठूला नहर, प्रसारणलाइन जस्ता रेखीय प्रकृतिका ठूला पूर्वाधारहरुमा पनि वन्यजन्तुको ज्यान जाने क्रम बढदो छ । विश्व वन्यजन्तु कोषका वैज्ञानिक डा. गोकर्णजंग थापा नेपालका राजमार्ग सहितका पूर्वाधारमा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास जस्ता ‘क्रसिङ’ अनिवार्य भएको बताउँछन् ।

अहिले वन्यजन्तुलाई आफ्नो वासस्थानभित्रै विचरण गर्न पनि सडकमा पुग्न वा वारपार गर्नपर्ने बाध्यता बढेको छ । तराईका सिधा र फराकिला राजमार्गमा अन्धाधुन्द गतिमा गाडी हाँक्ने प्रवृत्ति पनि संरक्षित वन्यजन्तुका लागि काल बन्न थालेको छ । ‘घना वनलाई विभिन्न रेखीय पूर्वाधारले खण्डित गरेकोले वन्यजन्तुको प्राकृतिक विचरण बिथोलिएको छ,’ संरक्षणविद डा. थापा भन्छन्, ‘विकास पूर्वाधारको अवरोधले वन्यजन्तुलाई मृत्युको जोखिम मात्र पारेको छैन, उनीहरुको आनुवांशिक विकासमा समेत असर गरिरहेको छ ।’

उनका अनुसार एकबाट अर्को क्षेत्रमा सहजै जान नपाए वन्यजन्तुको एउटै वंशभित्र प्रजनन कायम रहन्छ । त्यसले वन्यजन्तुको नयाँ पुस्तामा आनुवांशिक गुण विकास गर्न प्राकृतिक अवरोध गर्छ । यसबाट वन्यजन्तु संरक्षणमै चुनौती थपिने बताउँदै डा. थापा भन्छन्, ‘आहार र पानीकै लागि पनि सीमित क्षेत्रमा खुम्चिँदा वन्यजन्तुको संरक्षणमा नयाँ-नयाँ समस्याहरु आउँछन् ।’

वयस्कबाट लखेटिने बुढो वन्यजन्तुलाई मानव वस्ती छिर्नबाट रोक्न पनि विकास पूर्वाधार भएका वन क्षेत्रमा अन्डरपास र ओभरपासका साथै नहरहरुमा पानी खान सजिलो पार्न ‘र्‍याम्प’हरु बनाउनुपर्ने थापाको भनाइ छ ।

छैन सरकारी तयारी 

विज्ञहरुको यस्ता सुझावलाई सरकारले अहिलेसम्म चासो दिएको छैन । वन्यजन्तु संरक्षण विभागले यस्ता पूर्वाधार बनाउन भन्दै निर्देशिका ल्याउन तयारी थालेको ४ वर्ष नाघिसक्यो । विभागका इकोलोजिस्ट हरिभद्र आचार्य निर्देशिकाको मस्यौदा तयार भएको बताउँछन् ।

काठमाडौं-निजगढ द्रुतमार्गमा भने वन्यजन्तुका लागि अन्डरपास बनाइँदैछ । बनिसकेका सडकहरुमा भने त्यस्ता ‘क्रसिङ’ पूर्वाधार राख्ने योजना नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउँछन् ।

‘सडक स्तरीकरण गर्दा जहाँ-जहाँ जनावरको लागि अण्डरपास आवश्यक पर्छ, त्यहाँ बनाउन सक्छौं,’ शर्मा भन्छन्, ‘स्तरीकरण नहुने सडकहरुमा भने अण्डरपास राख्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment