+
+

भान्सालाई अस्पताल र खानालाई औषधिको रूपमा प्रयोग गरौं

पदम भण्डारी पदम भण्डारी
२०७७ पुष २२ गते ११:५८

काठमाडौं । कोभिड १९ ले मानव शरीरलाई रोगसँग लड्न सक्ने रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) लाई कमजोर बनाइदिन्छ । कोभिड-१९ले रोग प्रतिरोधी क्षमतालाई कमजोर मात्र बनाएको छैन, विश्वव्यापी खाद्य असुरक्षालाई समेत बढावा दिइरहेको छ। खाद्य विज्ञहरूले भनेका छन् । ‘अस्वस्थ खानपानका कारणले एकातिर कुपोषण बढ्दै गएको छ भने अर्कोतिर आहारसँग सम्बन्धित बिरामीहरूको संख्या बढ्दो छ ।’ यसले के जनाउँछ भने खानपिन र आहारमा औषधिकोजन्य गुणहरू एवं शरीरको रोगसँग लड्नसक्ने क्षमता बढाउन मद्धत पुर्‍याउने खालका खानेकुराहरू खानामा समावेश गर्न विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने र त्यसको उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने आवश्यकता बढेको छ ।

प्रख्यात ग्रीस चिकित्सक हिप्पोक्रेट्सले खानालाई यसरी व्याख्या गरेका थिए – ‘खाना तपाईंको औषधि होस् र औषधि तपाईंको खाना होस् ।’ कोभिड-१९ महामारीले खानेकुराको विषयलाई विश्वभरिको छलफलको विषय बनाइदियो किनभने धेरै व्यक्तिहरूले मैले के खायो भने कोभिड-१९ को भाइरसविरुद्ध रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ स्वास्थ्यको लागि लाभदायक हुन्छ भनेर ध्यान दिइरहेका छन् ।

पदम भण्डारी

कोभिड-१९ को महामारीले कुनकुन देशहरू बढी आक्रान्त बने र तिनीहरुको खानपानको शैलीले पनि संक्रमण फैलिने कुरालाई प्रभावमा पार्छ भन्ने कुरा अनुसन्धानले पुष्टि गरिसकेपछि खानाको बारेमा थप बहसको थालनी भयो।हामीले खाने खाना अधिक पौष्टिक होस, उत्पादन गर्नलाई धेरै ठूलो प्रविधि नचाहियोस् र दुरदराजमा बसोबास गर्ने साना किसानहरुले समेत सजिलै उत्पादन गर्न सकून।यसलाई ध्यानमा राखेर बालीहरूको उत्पादन र बजारीकरणमा जोड दिने र हाम्रो खाना प्रणालीलाई पुनः सेट गर्नुपर्छ। खाद्य र पोषण यी दुई चिजलाई प्रयाप्त ध्यान दिनु जरुरी छ ।

विज्ञानले पुष्टि गरेको कुरा हो कि अधिक पौष्टिक र गुणस्तरीय भोजनमा औषधीय गुणहरू हुन्छन् जसले मानव स्वास्थ्यलाई रोगबाट बचाउन मद्धत गर्छ । कोभिड-१९ महामारीले हाम्रो खाद्य प्रणाली असफल भइरहेको छ।असफल खाद्य प्रणालीलाई सशक्त बनाउन विभिन्न तवरले काम गर्नुपर्छ । अब हामीले खेतीमा पुनर्विचार गर्नुपर्छ र पोषणयुक्त बालीहरु लगाउन अभियान सञ्चालन गर्नुपर्छ।पहिलो चरणमा त्यस प्रकारका खाद्य पदार्थहको परिचय र हरेक व्यक्तिको मनमा स्थापित गराउनुपर्छ।

नेपालको सन्दर्भमा यो अझ बढी सान्दर्भिक छ । हाम्रोजस्तो खाद्यान्नमा परनिर्भर हुनुपर्ने मुलुकले आफ्नो मुलुकमा जीवन्त खाद्य प्रणाली व्यवस्थित गर्न सकोस् जसले जनताको स्वास्थ्यलाई राम्रो बनाओस्, रोगहरूको प्रतिरोध क्षमता बढाउन मद्धत गरोस् र मुलुक खाद्य परनिर्भरताको चपेटोमा पर्न नपरोस्। यस किसिमको रणनीति बनाउन कोभिड-१९ले सिर्जना गरिदिएको यो राम्रो अवसर हो । हाम्रो देशमा औषधीय गुण भएका स्वस्थ खानेकुरा छिटो र सस्तोमा उत्पादन गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । हाम्रो खानपानको शैलीले गर्दा ती बालीहरू ओझेलमा पर्दै गए र तिनीहरूको उत्पादन पनि कम हुँदै गयो । अनुसन्धान र विकासमा राज्यको ध्यान पनि पुगेन र हामी खाद्यान्नमा परनिर्भर हुँदै गयौं ।

नेपालको भू-परिवेश अनुरूप उत्पादन गर्न सकिने खाद्यान्न बालीहरुको राम्रो पहिचान गरेर ती बालीहरुको खेती गर्नु जरुरी छ । ऊवा, जौ, कोदो, फापर, चिनो कागुनो, जुनेलो उच्च पोषण र स्वास्थ्यलाई लाभ हुने बालीहरू हुन्।उत्पादन गर्न सकिने हिसाबले यी बालीहरु साना तथा मध्यमस्तरका किसानहरुका लागि उत्तम हुन्।

हाम्रो शरीर र खानामा घनिष्ठ सम्बन्ध छ।हामीहरुले यसमा बढी ध्यान दिनु जरुरी छ र हामी सबै मिलेर खानाको विषयलाई एउटा मुद्दाको रूपमा सामना गर्न प्रभावकारी नीतिहरू बनाउनु जरुरी छ ।स्वस्थ खानालाई बढावा दिनका लागि कृषि, स्वास्थ्य एवं खाद्य सरोकारवालाहरूबीच बहुक्षेत्र समन्वयलाई बढावा दिने नीति बनाउन नीति निर्माणकर्ताहरूको मानसिकता परिवर्तन हुनु जरुरी छ । हामीलाई थाहा छ कि राम्रो खाना भनेको लामो र स्वस्थ जीवनको महत्त्वपूर्ण चिज हो । बहुराष्ट्रिय संघसंस्थाहरू जस्तै यूरोपियन युनियन र विश्व स्वास्थ्य संगठनले राम्रो खानालाई सामाजिक जिम्मेवारी बनाउनका लागि काम गर्नुपर्दछ ।

संयुक्त राष्ट्रसंगको एउटा तथ्याङ्कले सन २०१९ मा करिब ६० लाख मानिसहरु अर्थात विश्वको आठ प्रतिशत जति जनसंख्या कुपोषित थियो। यो प्रवृत्ति जारी रहेमा आगामी वर्षहरुमा यो संख्या बढेर असी लाख भन्दा बढी हुनसक्छ। विश्व स्वास्थ्य संगठनका प्रमुख कार्यकारी निर्देशक गुटेरेसले भनेका छन् । देशहरूले खाद्यान्न र पोषण सेवालाई आवश्यक मापदण्ड बनाएर कार्यक्रम बनाउनुपर्छ, यस क्षेत्रमा काम गर्नेहरूका लागि संरक्षण गर्ने कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्छ, खाद्यान्न आपूर्ति श्रृंखलालाई प्राथमिकता दिनुपर्छ र साना बच्चाहरू, गर्भवती र स्तनपान गराउने महिला, वृद्ध व्यक्ति र अन्य जोखिममा रहेका समूहहरूको सामाजिक सुरक्षालाई सुदृढ पार्नुपर्छ। उनले थप समावेशी र दिगो संसारको लागि खाद्य प्रणालीको रुपान्तरणको वकालत गरेका छन् ।

भान्सा भनेको घरको अस्पताल जस्तै हो । भान्सामा बनाइने खानाले हाम्रो स्वास्थ्यलाई निर्धारण गरेको हुन्छ ।  हामीले राम्रो खानालाई बढावा दिन आवश्यक छ। हामीले अहिले जे खाइरहेका छौं त्यसले हामीलाई हानि पुर्‍याइरहेको छ ।

(लेखक भण्डारी विभिन्न विकाससँग सम्बन्धित संघसंस्थाहरुमा विगत तीन दशकभन्दा बढी समयदेखि कार्यरत छन् । हाल उनी स्वीस कन्ट्याक नेपालमा वरिष्ठ सल्लाहकारको पदमा कार्यरत हुनुका साथै कृषि तथा वन विश्वविद्यालयमा एडजङ्क्ट प्रोफेसरको रूपमा आंशिक रुपमा कार्यरत हुन्छन् । यहाँ उल्लेखित विचारहरू लेखकका निजी विचारहरू हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?