Comments Add Comment

मेरा बच्चा फ्यानहरु धेरै हुनुहुन्छः एलिना चौहान

छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । लकडाउनको समयमा सार्वजनिक ‘के माया लाग्छ र’बोलको गीतपछि उनलाई फुर्सद मिलेको छैन । त्यसयता ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् । उनै एलिनासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. तपाई अल्छी कि जाँगरिली ?
कहिलेकाही त साह्रै अल्छी पनि लाग्छ भने कहिलेकाही जाँगर पनि चल्छ । काम नहुँदा मात्र हो मलाई अल्छी लाग्ने त ।

२. बिहान कति बजे उठ्नुहुन्छ ?
यो कुरा बेलुका कतिबजे सुतिन्छ भन्नेमा भर पर्ने कुरा हो । राती अबेरसम्म सुटिङ भयो भने १० बजे उठ्छु, नत्र म ७ बजे उठिसक्छु ।

३. बेड मै फेसबुक, इन्स्टाग्राम चेक गर्ने बानी कत्तिको छ ?
त्यो त एकदमै छ । मेरो त दिनको सुरुवात नै सामाजिक संजाल हेरेर हुन्छ । नयाँ गीत आएको छ भने भ्यूज कति गयो, कति फलोअर्स बढ्यो, मेरो गीतमा कतिवटा टिकटक बन्यो, च्यानलमा कति सब्सक्राइबर बढ्यो त्यो हेर्छु । कमेन्टहरु पढ्छु, कमेन्ट लाइक गर्छु ।

४. बिहान उठेपछि पहिले पानी पिउनुहुन्छ कि चिया ?
चिया पिउँछु । उठ्ने बित्तिकै पानी पिउने बानी नै छैन ।

५. उठिसकेपछि योगा–ब्यायाम गर्ने वा जीम जाने बानी छ कि छैन ?
नाई त्यो बानी छैन । उठेपछि चिया पिएर गीतको डमी सुन्न थाल्छु । तीन÷चार दिन अघिदेखि नै आफ्नो कामहरु नोट गरेर राखेकी हुन्छु । उठिसकेपछि त्यो हेर्छु । दिउँसो कुनै गीतको रेकर्र्डिङ छ भने त्यसको तयारीमा लाग्छु ।

६. फोनमा कति बोल्नुहुन्छ ?
काम परेको बेला फोन आउँछ । नत्र म धेरै बोल्दिनँ ।

७. फुर्सदको समयमा गीतहरु कत्तिको सुन्नुहुन्छ ?
पुराना–पुराना गीतहरु खोजेर सुन्छु । नयाँ राम्रा लागेका गीतहरु सुन्छु ।

८. खानामा के मनपर्छ ?
सबै मनपर्छ । तर गुन्द्रुक र कालो दाल भनेपछि म भुतुक्कै हुन्छु ।

९. फ्यानहरुको फोन कत्तिको आउँछ ?
कहिलेकाही मात्र आउँछ ।

१०. दिक्क लगाउने खालका फोनहरु आउँछ कि आउँदैन ?
त्यस्तो फोनहरु आएको छैन । आएपनि मलाई दिक्क लाग्दैन । म राम्रोसँगै बोल्छु । मेरो प्रायः साना–साना बच्चाहरु फ्यान हुनुहुन्छ । फोन उठाइदियो भने निकै खुशी हुनुहुन्छ । म उहाँहरुसँग कुरा गरिरहेको हुन्छु ।

११. कामहरु नभएको दिन कसरी कटाउनुहुन्छ ?
लुगा धुने, घरको कामहरु गरेरै बित्छ ।

१२. कस्ता मानिससँग भेट्दा रमाइलो लाग्छ ?
मलाई मेरो जस्तै बानी भएका मानिसहरु भेट्दा रमाईलो लाग्छ ।

१३. तपाइको जस्तै बानी भन्नाले ?
रिसाउँदा पनि थाहा नहुने स्वभावका मान्छेहरु मन पर्दैन । म जे छ त्यो भनिहाल्छु । बोल्ने खालको मान्छे मनपर्छ । कतिपय कलाकार, गायकहरु म ठुलै हुँ गरेर बस्छन नि, कोही–कोही फेरी यो मसँग बोल्दैन होला भन्ने लागिरहेको हुन्छ, उहाँहरु एकदमै बोलिरहनुभएको हुन्छ । त्यस्ता खालका मान्छेहरु भेट्दा रमाईलो लाग्छ ।

१४. सांगीतिक क्षेत्रका साथीहरु कती बनाउनुभयो ?
म काठमाडौं आएकै धेरै भएको छैन । यहाँ आउँदा सांगीतिक क्षेत्रमा लाग्नुभएका साथीहरु कोही पनि हुनुहुँदैनथ्यो । अहिले पनि साथीहरु भनेर एकजना बाहेक अरु हुनुहुन्न । बरु अहिले साथी भन्दा पनि दाईहरु धेरै हुनुहुन्छ । बहिनीहरु पनि हुनुहुन्छ ।

१५. बेलुका कोठामा कतिबजेसम्म पुग्नुहुन्छ ?
कहिलेकाही ८–१० बजेसम्म काम हुन्छ । प्रायः ८ बजे पुग्छु ।

१६. अब आउने गीतहरु कस्ता छन् ?
मैले अहिलेसम्म नगरेको कामहरु गर्न खोजिरहेकी छु । आधुनिक गीत गरेको थिइनँ, हालै आधुनिक गीत रिलिज भएको छ । अरु पनि राम्रा–राम्रा गीतहरु आउँदैछन् ।

१७. गीतबाट रेस्पोन्स कस्तो पाइरहनुभएको छ ?
एकदमै राम्रो पाइरहेकी छु । जती काम गर्दै गइरहेकी छु, ति गीतमा आउने प्रतिक्रियामा नराम्रो कमेन्टहरु भेटिनँ । अधिकांशले तारिफ गर्नुभएको छ । स्वरको तारिफ आउँदा खुशी लाग्छ ।

प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment