Comments Add Comment

बाघलाई ठक्कर दिएर मार्ने कार चालकविरुद्ध वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा

फाइल तस्वीर

२२ पुस, वीरगञ्ज । कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटना भएकै दिनबाट उनलाई नियन्त्रणमा राखी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

निकुञ्जमा कार्यरत रेञ्जर दीपक तिवारीलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिइएको छ । उनले मिश्रसँग बयान लिने लगायतका कार्य गरिरहेका छन् । निकुञ्जले घटनाबारे अनुसन्धानपछि प्रतिवेदन तयार गरेर मिश्रलाई अदालतमा पेस गर्ने छ ।

गत शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठक्कर दिएको थियो । टाउकोमा ठक्कर लागेपछि बाघको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै कार चालक मिश्र स्वयंले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रै भएर पथलैयादेखि हेटौंडा जाने सडकमार्ग छ । जसले गर्दा वर्षेनी जंगली जनावरहरु गाडीको ठक्करबाट मर्ने गरेका छन् ।

नेपालमा बाघ, गैंडा, जंगली हात्ती, सालक, ब्वाँसो, हाब्रे, अर्ना लगायत २६ जातका स्तनधारी, डाँफे मुनाल लगायत ९ जातका चरा, घर्सने प्रजातिमा अजिङ्गर, घडियाल गोही र सुन गोहरीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा संरक्षित वन्यजन्तु मार्ने विरुद्ध कारबाहीको व्यवस्था छ । ऐनमा गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद–बिक्री गर्न वा हस्तान्तरण गरी लिनदिन प्रतिबन्ध लगाइएको छ ।

गैंडाको खाग वा कस्तुरीको बिना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने वा ओसारपसार गर्न नपाइने उल्लेख छ । त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment