Comments Add Comment

महिलालाई यति धेरै छुट दिने तिमीहरु को हौ ?

मेरा दुईजना दिदी हुनुहुन्छ। उहाँहरुको विवाह भैसकेको छ । जेठी दिदीको त बच्चा पनि छ। जेठी दिदीको मागी अनि माहिली दिदीको प्रेम विवाह (भागी होइन) भएको हो।

मेरा दुवै दिदीहरुको विवाहमा केटापट्टिबाट अनेकन दवाब अनि असन्तुष्टिहरु आए। केटापक्षबाट कता कता हेपिएजस्तो, उनीहरु ठूलो, अनि हामी सानोजस्तो। त्यस्तो मुखमै केही भन्ने त होइन । तर, व्यवहार त्यस्तै झल्किने। त्यसमाथि हाम्रा परम्परा र रीतिरिवाज यस्ता छन् कि विवाहमा केटापक्षको हात सधैं माथि हुने रहेछ, अनि केटीपक्षको सधैं तल।

पहिलो त विवाहको मिति तोक्दा उनीहरुले नै भनेको हुनुपर्ने रहेछ। हाम्रा योजनाहरुको कम महत्व, उनीहरुका योजनाहरुको धेरै महत्व। हरेकपटक उनीहरुका योजनाअनुसार हामी ढल्किदिनुपर्ने। कुरा गर्दा नै हामी त केटापक्ष हौँ भनेजस्तो व्यवहार आउने । हामी प्रधान हौँ जस्तो। यो केही व्यक्तिको मात्र कुरा होइन, छोरी हुने बाबुआमाले छोरीको बिहेताका अलि सानै भैदिनुपर्ने रहेछ।

हाम्रा दाजुभाइ छैनन् । त्यसै पनि जेठी दिदीको विवाहमा ‘छोरो नभएको घरमा बिहे नगर्ने, भोलि सन्तानको मामाघर हुँदैन’ जस्ता कुराले कति विवाहका प्रस्ताव रोकिएका/टुटेका थिए।

आफ्नै दाजुभाइ नभएका हामी, सामान्यभन्दा अझ सानो बनिदिनुपर्ने होला। छोरा नभएर स्वर्गको ढोका नखुल्ने मात्र हो कि भनेको त विवाहका ढोका नि छिट्पुट बन्द हुँदा रहेछ्न्। पछि मेरा अहिलेका भिनाजुसँग विवाहको टुङ्गो लाग्यो। भिनाजु व्यक्ति बुझकी भए पनि परिवार, आफन्ती र समाज त्यस्तो थिएन। गलतलाई गलत भन्न नसक्ने भिनाजु पनि मलाई यथास्थितिवादी नै लाग्यो।

छोरीका बाबुआमाले ज्वाइँका बाबुआमालाई किन ढोग्नुपर्ने होला ? मेरा बुबाआमा उमेरमा मेरा दुवै भिनाजुका बुबाआमा भन्दा जेठा हुनुहुन्छ। त्यै पनि उहाँहरु छोरालाई जन्म दिने बाबुआमा भएकाले ‘स्वत’ हामीभन्दा धेरै सम्मानयोग्य हुनुभयो होला। हामीलाइ सम्मान र आदर गर्न गाह्रो भएको विल्कुल होइन । तर, कताकता हामीले गरेको मान उहाँहरुलाई नपुगे जस्तो हुँदोरहेछ। उहाँहरुले हामीलाइ मान नगर्ने होइन, तर हामीबाट अत्यधिक धेरै मानको आश गर्ने।

यो उहाँहरुको मात्र दोष होइन, हाम्रो रीति नै स्त्रीद्वेषी अनि पितृसत्तात्मक छ। छोरी मान्छे भएर झुकिदिनुपर्ने, छोरीका बाआमा भएकैले झुकिदिनुपर्ने। छोरीका बा आमाले त ज्वाइँका भाइ बहिनीदेखि सबै परिवारलाई बडो मान दिनुपर्ने। ज्वाइँका भाइबहिनीलाई पनि पहिले नमस्कार छोरीकै बाआमाले भन्नुपर्ने। अहिलेको पुस्ताले त्यस्तो नसोच्ला । तर, फेरि अरुले कुरा काट्ने बाहिर।

अनि बुहारीले सासू ससुरालाई ढोग्नुपर्ने । तर, ज्वाइँलाई भने छोरीका बाआमाले ढोग्नुपर्ने। मेरो छोरीसउ विवाह गरेर उसलाई सुरक्षित बनाइदिने ज्वाइँ भनेर होला, कमसेकम हाम्रो परम्पराले त्यही भन्छ। बुहारी त सानी भैदिनुपर्छ, नत्र ठुली भाकी भनिहाल्छ्न । छोरीलाई त्यसै गाह्रो छ, बुहारीलाई दुईगुना गाह्रो।

‘ढोग्दिनँ हाम्रीले त, हाम्ले ढोग्न लाका छैनम’ हाम्रा गाउँका छोराका आमाहरुका कुरा सुन्नमा आउँछ। ‘सासू ससुरालाई ढोग्दा सानो हुन्छौ र तिमारु ?’ प्रश्न आउँछ धेरैको।

हुँदैनम्। बिल्कुल हुँदैनम्। त्यसो भए ‘ज्वाइँहरुले’ श्रीमतीका बाआमा ढोगे भयो नि त, किन ढोग्दैनन् ? ज्वाइँ त छोरासरहका हुन् नि। किन छोरालाई ढोग्ने त त्यसोभए ? मैले मेरा बाआमा ढोग, तिमी अनि म पनि ढोग्छु तिम्रा बाआमा भनेर हिसाब-किताब गर्न खोजेको होइन। बस्, तिम्रो स्त्रीद्वेषी प्रश्नमाथि प्रतिप्रश्न गरेको।

महिलाले कुनै चिज गर्न नमान्दा चै तिमीहरू ‘त्यति गर्दैमा घट्छौ तिमीहरु’ ‘बाआमा सरह हुन, ठूला हुन आफूभन्दा, मान गर्दा तिमीहरुको के जान्छ?’ ‘फलेको वृक्ष नुग्छ भन्ने थाहा छैन?’ आदि सुन्नमा आउँछ। उखानको प्रयोग नै गलत सन्दर्भमा भैदिन्छ । अनि ‘हो नि’ भन्दै धेरै कुर्लिन्छन।

सम्मान नगर्ने होइन, सबैले सबैको आदर सम्मान गर्नुपर्छ, आफूभन्दा ठूलालाई मान गर्नुपर्छ। ल तपाईंलाई ढोग्नु नै सम्मान लाग्छ भने बुहारीले मात्र ढोग्नुपर्ने किन ? वा ल अचेल धेरैले ढोग्दैनन् भन्ने सोचेर झुक्नुमात्र पनि ठूलाबडाको सम्मान हो जस्तो लाग्छ भने, हाम्रा भिनाजु हाम्रा बाआमा देख्ने बित्तिकै झुक्नुपर्ने हैन त ? के उहाँ झुकेर सानो हुनुहुन्छ त ? किन उहाँलाई त्यतिविधि सम्मान गर भनेर भन्छ त हाम्रो रीतिले ?

बुहारी लोग्नेका आफन्तकोमा जाँदा एककप चिया मात्र खाए पनि त्यो कप उठाएर माझिदियोस् भन्ने आश गरिन्छ। हो नि, आफूले खाएको कप माझ्ने हो नि। अर्कालाई दु:ख दिनु झन गलत हो नि। त्यै त। त्यै कप लोग्ने चाहिँले उठाएर माझे भयो नि त। किन बुहारी पाहुना नै लाग्न मात्र गए नि त्यो आशा राखिन्छ त ?

अनि विवाहमा जूठो खुवाउने कुरा पनि त्यस्तै । श्रीमानको जूठो श्रीमतीलाई खुवाइदिनुपर्ने अनि श्रीमतीको जूठो श्रीमानले खान नहुने। श्रीमानको जूठो खाए माया बढ्ने रैछ, श्रीमतीको जूठो खाए सायद श्रीमतीको हैकम बढ्ने होला।

विवाहका रीवाजहरु धेरैजस्तो यस्तै छन्। तपाईंहरु भन्नुहोला कि ‘बिहेपछि अहिलेका केटाले खाइहाल्छन् नि स्वास्नीको जूठो, केही भनेका छैनम् हाम्ले’ भनेर । तपाईंले नभन्नुहोला, धेरैले भन्छन्, जति नभन्नेहरु छन्, तिनका मनमा कस्तो असहज चै हुँदोरहेछ। “जूठो खाको हाम्लाइ किन देखाउन पर्छ र खाए खाउन्, तर हाम्लाई नदेखाउन्।” कस्तो अचम्म है, बुहारीको जूठो छोराले खाएको देख्दा कस्तो कस्तो हुने छोराका बा आमालाई। मुखले केही नभने पनि अलि नपच्ने रैछ।

मेरा दिदीभिनाजु कामको सिलसिलामा घर बाहिर बस्नुहुन्छ, नेपालमै। हाम्रा भिनाजुले हाम्रा बाआमालाई आफैँले मन लागेर कहिल्यै के कसो छ भनेर फोन गर्नुहुन्न। हाम्रा आमाबालाई छोरीज्वाइँको प्रगतिमा त्यसै खुसी छ, फोन गरेनन् भन्ने पटक्कै छैन। तर, मेरी दिदीले भिनाजुका बुवाआमालाई के-कसो छ भनेर बेलाबखत फोन गरिरहनुहुन्छ र पनि ‘वास्तै गर्दिन’ भन्ने गुनासो उहाँका सासूससुरालाई छ। बरु छोराले त्यति फोन नगर्दा वास्ता छैन, बुहारीले गरिन भने नराम्रो लाग्ने।

हाम्रो सामाजिक संरचना, रीतिरिवाज र परम्परा अत्यन्त पितृसत्तात्मक र स्त्रीद्वेषी छन् । तर, यसमाथि प्रश्न गर्ने हामीहरुलाई ठूलो पल्टेको, केके न जान्ने भएको भनिन्छ।

मलाई सबैभन्दा अचम्म लाग्ने चै केमा हो भने हामीलाई ‘त्यति गर्दा सानो हुन्छौ’ त भन्नेहरुले आफूले पनि हामीले जत्तिकै किन गर्न नसकेका होलान्। यस्तो भन्नेहरु आफू पनि ज्वाइँ भएका होलान्, सासू भएका होलान्, ससुरा भएका होलान्, तिनीहरुले भैदिउन् न त ‘सानो’ !

छोराकी आमाले गएर बुहारीकी आमालाई ढोगुन् न त। छोराका बाले गएर बुहारीका बालाई त्यसै गरून् न त। तिमी ज्वाइँ बनेर जाँदा सबैले चिया खाएको कप उठाएर माझ्न मात्र थाल न त। गरि हेर ल । ज्वाइँ ससुराली धेरै जान नहुने रे । हेप्छन् वा मान धेरै पाँइदैन रे। त्यत्रो मान चाहिने रैछ त तिमीहरुलाई त।

खैर धेरै कुरा छन् , भनेर सकिँदैन। यी ‘डबल स्ट्यान्डर्ड’ देखेर वाक्क लाग्छ । अनि, भन्न मन लाग्छ । प्रश्न गर्न मन लाग्छ । प्रश्न गर्दा धेरैको जवाफ के आउँछ थाहा छ ? – ‘जति छुट दिए नि तिमीहरुलाई पुग्दैन, दुईचार अक्षर के पढेका थियौ, ठूला भयौ तिमीहरु ।’

मलाई फेरि प्रतिप्रश्न गर्न मन लाग्छ: छुट दिने तिमीहरु को हौ ? छुट दिने-नदिने अधिकार प्रकृतिले तिमीहरुलाई सुम्पेको छ हो ? पितृसत्ताले निर्णय गर्ने, अनि लौ पाइयो भनेर हामीले चुप बस्नुपर्ने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment