Comments Add Comment
राष्ट्र बैंकको सर्वेक्षण :

कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा

२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका उद्योग-व्यवसायहरु मध्ये ५४ प्रतिशत पूर्ण सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा गरेको ‘फलोअप सर्वेक्षण’ ले कोरोनाका कारण समस्यामा परेका मध्ये ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको हो ।

अझै ४६ प्रतिशत भने उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्र बैंकले यसअघि जेठ-असारलाई आधार मान्दै सर्वेक्षण गरेको थियो । त्यसबेला पूर्णं क्षमतामा चल्ने उद्योग व्यवसायरुहरुको संख्या ४ प्रतिशतमात्रै रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

त्यो चार प्रतिशत संख्या बढेर अहिले ५४ पुगेको उनले बताए । उनका अनुसार अर्थतन्त्र समग्रमा ५० प्रतिशत पुनर्उत्थान भएको छ । बाँकी ५० प्रतिशत पुनर्उत्थान हुन बाँकी रहेको छ ।

‘जेठ-असारको तुलनामा अहिले धेरै नै सुधार भएको छ, तर अझै सुधार हुन पनि बाँकी रहेको छ’ उनले भने, ‘धेरै प्रभाव परेको होटल व्यवसाय क्षेत्रमा पनि राम्रै सुधार भएको छ ।’

प्रवक्ता भट्टका अनुसार अहिले कोरोनाका कारण बन्द भएका होटल व्यवसायहरु मध्ये २९ प्रतिशत पूर्ण सञ्चालनमा आएका छन् । यसअघिको सर्वेक्षणमा एक प्रतिशत हाराहारीमा मात्रै होटल व्यवसाय पूर्ण सञ्चालनमा थिए ।

उत्पादन कारोबारमा पनि राम्रै वृद्धि भएको उनले बताए । जेठ-असारमा गरिएको सर्वेक्षणमा उद्योग व्यवसायहरुको उत्पादन कारोबार २९ प्रतिशतमात्रै थियो । अहिले यो बढेर ५० प्रतिशत पुगेको उनले बताए । कोरोनाका कारण जागिर गुमाएकाहरु पनि धेरैले जागिर पाएको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार त्यसबेला कुल कर्मचारीको ७७ प्रतिशतमात्रै काममा थिए । बाँकी २३ प्रतिशतलाई उद्योग व्यवसायको रोजगारीबाट निकालिएको थियो । अहिले ८७ प्रतिशत श्रमिक काममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक अनुसन्धान विभागका प्रमुख समेत रहेको प्रवक्ता भट्टले दिएको जानकारीअनुसार यस अघिको सर्वेक्षणमा ६७४ वटा सबै क्षेत्रका उद्योग व्यवसायहरु सहभागी थिए । अहिले गरिएको सर्वेक्षणमा भने ६०४ उद्योग व्यवसायहरु सहभागी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment