News Summary
Generated by OK AI. Editorially reviewed.- बदनले अबको राजनीतिमा भिजनसहितको ‘गोल सेटिङ’ आवश्यक रहेको र आफ्नो पार्टीले सुशासनका निम्ति कुनै पनि प्रकारको सम्झौता नगर्ने दाबी गरे ।
- यदि पार्टी नेतृत्वले गलत बाटो समात्यो भने आफू पार्टी भित्रै खबरदारी र संघर्ष गर्न पछि नहट्ने बाचा उनको छ ।
- पुराना दलहरू बिग्रिएकाले नै नयाँ शक्तिको उदयका लागि बाटो सहज भएको अनुभव बदनले सुनाए । यद्यपि, उनको राजनीतिक स्कुलिङ भने तिनै पुराना दलबाट भएको थियो ।
११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदन भण्डारी काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेको पकड तोड्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
यो क्षेत्रमा एमाले नेता गोकुल बास्कोटाले २०७४ र २०७९ सालका दुवै निर्वाचन जितेका थिए । २१ फागुनको निर्वाचनमा भने रास्वपाका बदनले ५३ हजार ३४४ मत ल्याएर एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिए ।
काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्य १७ हजार ८६८ मतसहित दोस्रो हुँदा एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठ १३ हजार ९४० मत ल्याएर तेस्रो बने ।
आफ्नो विजयलाई बदनले सामान्य चुनावी नतिजा मात्र नभई जेनजी आन्दोलनले पुरानो राजनीतिक जग हल्लाएको परिणामका रूपमा व्याख्या गरेका छन् । पुराना दलहरूको लोकप्रियतामा आएको गिरावट र रास्वपाप्रति जनताको बढ्दो आकर्षण नै आफ्नो जितको मुख्य आधार भएको उनको दाबी छ ।
पुराना दलहरू बिग्रिएकाले नै नयाँ शक्तिको उदयका लागि बाटो सहज भएको अनुभव बदनले सुनाए । यद्यपि, उनको राजनीतिक स्कुलिङ भने तिनै पुराना दलबाट भएको थियो ।
आफ्नो राजनीतिक यात्रा २०६२ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु गरेको जानकारी दिँदै उनले पछि केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आफूले पार्टी पुनर्गठनको बाटो रोजेको बताए ।
तत्कालीन समयमा संविधानको ‘चिरहरण’ भएको महसुस गरेर आफू तत्कालीन नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए । नेता माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट फुटेर सो पार्टी गठन गरेका थिए । तर पछि यस्ता पुराना दलहरूबाट सुधार सम्भव नदेखेपछि २०८० वैशाखमा रास्वपामा प्रवेश गरेको उनको भनाइ छ ।

पुराना पार्टीबाट नयाँमा आउनेलाई अवसरवादीको ट्याग लगाउने कुरालाई बदन ठाडै इन्कार गर्छन् । आफूलाई लाग्ने गरेको अवसरवादीको आरोपलाई अस्वीकार गर्दै भण्डारीले पुराना पार्टीहरू ठिक नहुँदा दण्डित गर्नु र नयाँ विकल्प रोज्नु नै लोकतन्त्रको सुन्दरता भएको तर्क गरे ।
पुराना दलहरू भ्रष्टाचार, नातावाद र परिवारवादको दलदलमा फसेकाले आफूले सुधारको प्रयास गर्दा पनि सम्भव नभएपछि मात्रै पार्टी बदलेको उनको दाबी छ । बदनको विचारमा रास्वपा यस्तो पार्टी हो, जसले संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रलाई मूल दर्शन बनाएको छ ।
२०७२ सालको संविधानले ग्यारेन्टी गरेका मौलिक हकहरूलाई मात्रै पूर्ण रूपमा कार्यान्वयन गर्न सके पनि मुलुकमा एक किसिमको समाजवाद आउने उनको बुझाइ छ । रास्वपाको उदय नै सुशासन र भ्रष्टाचार अन्त्यका लागि भएको भन्दै उनले आफूहरू लोककल्याणकारी राज्य व्यवस्था र उदारतामा आधारित अर्थतन्त्रको पक्षमा रहेको बताए ।
त्यसैले आफू पुराना दलमा गर्न नसकेको परिवर्तन अब गर्नुपर्छ भन्दै नयाँ दलबाट चुनावी मैदानमा उत्रिएको बदनले बताए ।
चुनाव पहिलोपटक लड्दाको उनको अनुभव पनि पृथक छ । प्रतिस्पर्धामा रहँदाको आफ्नो अनुभव सुनाउँदै उनले ५० दिनको निर्वाचन अवधिभर आफू दैनिक मात्र ३ देखि ४ घण्टा सुतेको बताए । बिहान साढे ४ बजे उठेर सबै टिमलाई तयार पार्ने र राति १ बजे मात्रै सुत्ने गरेको उनले सम्झिए ।
अन्य उम्मेदवारले जस्तो ठूला आमसभा र भाषणबाजी गर्नुको सट्टा सिधै जनताकहाँ पुगे । यसरी ६०० भन्दा बढी टोल र घरदैलोमा पुग्ने रणनीतिले आफूलाई सफल बनाएको उनको दाबी छ ।
यसरी जनताको बीचमा जाँदा आफूले कुनै पनि अनावश्यक आश्वासन वा झुटो बाँचा नगरेको बदनले बताए । उनले जनतालाई स्पष्टसँग ‘म उधारोमा मत माग्न आएको हुँ’ भनेको र जितपछि त्यो मतको लगानीलाई सुशासन र विकासमार्फत फिर्ता गर्ने प्रतिबद्धता जनाएको बताए ।

‘मलाई सडक वा पुल बनाइदिने ठेकेदारका रूपमा भन्दा पनि नीति निर्माण गर्ने ‘विधायक’का रूपमा बुझिदिन मैले आग्रह गरेँ,’ आफूले चुनावमा गरेका वाचाबारे सुनाउँदै बदनले अनलाइनखबरसँग भने, ‘कतिपय मतदाताले धुलो उड्ने सडक र मल–बीउको अभाव जस्ता समस्या सुनाउँदा मैले ती समस्यालाई सदनमा उठाएर नीतिगत रूपमै समाधान गर्ने बाचा गरेँ । जादुको छडी चलाउँछु भनिनँ ।’
गाउँगाउँमा पुग्दा उनले थुप्रै घरमा ताला लागेको, वृद्धवृद्धा मात्रै बाँकी रहेको र युवाहरू विदेश पलायन भएको पीडादायी दृश्य देखे । विदेशमा रहेका छोराछोरीले आफ्ना बाआमालाई फोन गरेर ‘यसपालि घन्टीमा भोट हाल्नुस्’ भनेको पनि सुने । त्यस्तो भएमा म नेपाल फर्किने वातावरण बन्छ बा–आमालाई छोराछोरीले कन्भिन्स गरिरहेको कुराले आफूलाई निकै भावुक बनाएको उनले बताए ।
त्यसैले बदनले अबको राजनीतिमा भिजनसहितको ‘गोल सेटिङ’ आवश्यक रहेको र आफ्नो पार्टीले सुशासनका निम्ति कुनै पनि प्रकारको सम्झौता नगर्ने दाबी गरे ।
यसो भन्दै गर्दा उनी आफ्नो संसदीय भूमिकाबारे अन्जान छैनन् । संसदमा आफ्नो भूमिकाबारे बोल्दै उनले आफू सरकार र जनतालाई जोड्ने पुलको रूपमा काम गर्ने बताए । विकास निर्माणका कामहरू रोकिनुमा वन ऐन, वातावरण ऐन र सार्वजनिक खरिद ऐन जस्ता कानुनी अड्चनहरू जिम्मेवार रहेको र ती अड्चन फुकाउन आफूले सदनमा आवाज उठाउने उनले बताए ।
बजेटको अन्यायपूर्ण वितरण र शक्तिशाली नेताहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट थुपार्ने प्रवृत्तिको अन्त्य गर्न पनि पहल गर्नु छ, बदनलाई । त्यसैले मानव विकास सूचकाङ्कको आधारमा कमजोर भएका क्षेत्रमा बढी बजेट हाल्ने र क्षमतामूलक ठाउँमा सोहीअनुसार प्रणाली बनाएर नयाँ थिति बसाल्न आवश्यक रहेको उनको तर्क छ ।

निर्वाचित भएपछि धेरैजसो नेताहरू बिलासितामा हराउने डर जनतामा रहेको स्वीकार गर्दै भण्डारीले आफू सधैँ ‘भुइँ मान्छे’ भएर बस्ने र उत्पीडित वर्गको पक्षमा काम गर्ने दाबी गरे । दलित, जनजाति, अल्पसंख्यक, महिला र अन्यायमा परेका वर्गका लागि आफूले सदनमा बुलन्द आवाज उठाउने उनले बताए ।
यदि पार्टी नेतृत्वले गलत बाटो समात्यो भने आफू पार्टी भित्रै खबरदारी र संघर्ष गर्न पछि नहट्ने बाचा उनको छ । ५३ हजारभन्दा बढी मतदाताले दिएको विश्वास र जनमतलाई आफूले कहिल्यै डगमगाउन नदिने र सधैँ इमानदार भएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता उनले जनाए ।
‘यो निर्वाचनले नेपाली राजनीतिमा इमानदारिताको खडेरी चिर्ने र नयाँ युगको सुरुवात गर्ने विश्वास लिएको छ । यो विश्वास टुट्न दिइने छैन । यदि नेतृत्वले तलमाथि गरे मलाई सधैं खबरदारी गरिरहेको देख्नुहुन्छ,’ बदनले भने ।
प्रतिक्रिया 4