Comments Add Comment

ओलीको निर्देशन : चुनावको माहौल बनाउनुहोस्

१ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गरेका थिए । भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएका थिए । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो ।

निर्वाचन आयोगलाई दोस्रो पटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे नेम्वाङले ब्रिफिङ गरेका थिए । नेम्वाङले बुधबार मात्रै २१ पृष्ठ लामो पत्र बुझाएका थिए भने आयोगलाई निर्वाचनको तयारी नरोक्न आग्रह गरेका थिए ।

संक्रान्ति मनाउने र अनौपचारिक कुराकानी पनि गर्ने भनेर विहान एघार बजेदेखि शुरु भएको भेटवार्तामा बालुवाटार दिउँसो अबेरसम्मै चल्यो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत बालुवाटार बोलाएका थिए ।

स्थायी कमिटीमा नरहेका मन्त्रीहरुलाई पनि ओलीले निर्वाचन केन्द्रित हुनेगरी गतिविधि गर्न सुझाव दिएका थिए ।

पुस ५ मा संसद् विघटनलगत्तै नेकपा विभाजित भएकाले मन्त्रीहरु पनि अहिले देश दौडाहामा छन् । बालुवाटार पुगेका मन्त्रीहरुले पनि पार्टी गतिविधिबारे ओलीलाई ब्रिफिङ गरेका थिए ।

स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुलाई ओलीले अब घोषणापत्र लेखनदेखि निर्वाचन परिचालनको योजना बनाउनेतिर सोच्न समेत निर्देशन दिए । ‘निर्वाचनको लागि अब अगाडि बढ्नुपर्छ । निर्वाचनको आशंका चिर्ने गरी वातावरण हामीले नै बनाउनुपर्छ । मेची-महाकाली आधार तयार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

अनौपचारिक छलफल भनिएकाले कुनै निर्णय भने भएन । तर, आजको छलफल र अनौपचारिक ब्रिफिङले निर्वाचनको तयारीमा लाग्ने आधार बनाएको एक स्थायी कमिटी सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment