Comments Add Comment

‘विप्लव सरकारसँग मिले, हामीले कहिले न्याय पाउने ?’

२१ फागुन, विराटनगर । नेकपा विप्लव समूहले गत मंसिर २३ गते उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गर्‍यो । हत्याको जिम्मेवारी लिएको विप्लव समूह त्यसको ८६ दिनमा शान्तिपूर्ण राजनीतिमा आएको छ ।

राजनीतिको नाममा गरिएको व्यक्ति हत्याबाट पीडित परिवार भने न्याय नपाइने हो कि भन्ने त्रासमा छ । ‘मेरो श्रीमानलाई मार्नेहरुमध्ये एकजनालाई मात्र सरकारले पक्राउ गरेको छ,’ श्रीमती धनकुमारी श्रेष्ठ भन्छिन्, ‘आज त त्यो पुरै समूह सरकारसंग मिलेको भन्ने सुनेँ । अब कारबाही नै रोकिन्छ कि भन्ने डर लागेको छ ।’

सरकारले सहिद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई चाँडो भन्दा चाँडो कारवाही गर्ने विश्वास दिलाएपछि हत्याको भोलिपल्टै श्रीमानको शव बुझेर अन्त्येष्टि  गरेको उनी बताउँछिन् ।

श्रीमानको हत्यापछि धनकुमारी बाँकी परिवार लिएर मधुमल्ला बजारमा सरेकी छन् । ‘उहाँको हत्यापछि त्यो ठाउँमा बस्न सकिन,’ उनले भनिन् ‘तीनवटी नातिनी र छोरा बुहारीसँग मधुमल्लामा बसेर न्याय पर्खिरहेका छौं ।’

सरकारसंग तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न विप्लव आफ्ना कार्यकर्तासहित शुक्रबार काठमाडौंमा सार्वजनिक भएका छन् । यता, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको परिवार भने न्याय पाउनेमा सशंङ्कित बनेको छ ।

विप्लव समूहका ६ जनाले शिक्षक श्रेष्ठलाई २३ मङ्सिरको बिहान घरमै कब्जामा लिएर जङ्गल लिएर गएका थिए । केही समयपछि खोज्दै गएका गाउँलेहरुले घाँटी रेटेर हत्या गरिएका श्रेष्ठको विभत्स शव फेला पारेका थिए । लगत्तै विप्लव समूहले विज्ञप्ति जारी गरेर हत्याको जिम्मेवारी लिएको थियो ।

त्यस आधारमा पक्राउ परेका विप्लव समूहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

विप्लव फरार प्रतिवादी

श्रेष्ठ हत्याको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा विप्लवसहित ३४ जनालाई फरार भनिएको छ । त्यसअनुसार, सूचीमा कपिलवस्तु शिवराज नगरपालिका– ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, रोल्पाको थवाङ गापाका–१ का ५२ वर्षीय विशम भनिने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय उदय चलाउने, संखुवासभा मादी नपाका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ केराबारी गापाका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राई, खोटाङ साकेला गापाका–१ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी फरार छन् ।

त्यस्तै, झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका- २ का ४६ वर्षीय विवश भनिने पुष्पलाल चौलागाई, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भनिने नवीन राई, धनकुटा पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भनिने माधव गौतम, संखुवासभा चैनपुर नगरपालिका–४ मैदानेका ३० वर्षीय उत्तरकुमार भनिने युवराज राई, भोजपुर ट्याम्केमयुङ–७ का ४१ वर्षीय भीम भनिने कुमार राई पनि शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा फरार छन् ।

खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ–१ गाईखर्कका ङवाङनुरु भन्ने ३६ वर्षीय पेम्बा शेर्पा, ओखलढुंगा लिखु–७ का ३१ वर्षीय अमृत सागर भनिने योगेन्द्र बस्नेत, गोरखाको अजिरकोट गाउँपालिका– ३ का शिलु भनिने ४१ वर्षीया उमा भुजेल, झापा दमक नगरपालिका–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का बालकुमार भनिने ३५ वर्षीय राकेश राई, भोजपुर रामप्रसाद राई गापा–४ दलगाउँका २५ वर्षीय चाम्स भनिने मिलन राई, संखुवासभा चैनपुर–४ मैदानेका नाति भनिने २२ वर्षीय बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का अखिल भनिने २२ वर्षीय मनोज भुजेल, ताप्लेजुङ मिक्वाखोला–१ का लुङ्गा भनिने २३ वर्षीय सुदम लुङखिम्बा (लिम्बू) पनि फरार प्रतिवादी छन् ।

भोजपुरको पौवादुङ्मा गापा–३ का २६ वर्षीय उमेश खत्री अधिकारी, ताप्लेजुङ मिक्वाखोला–५ का संग्राम भनिने २९ वर्षीय पूर्णबहादुर लिम्बू, धनकुटाका आशिष भनिने २४ वर्षीय विक्रम राई, मोरङ मिक्लाजुङ–१ का बिर्जुम भनिने २२ वर्षीय श्रीमान राई, मिक्लाजुङ– ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरा, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लुङखिम्बा लिम्बू, ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङ्देम्बे, भोजपुर पौवादुङमा–४ का २४ वर्षीय अनुस्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन लिम्बू, इलाम देउमाई नगरपालिका–७ का मौसम भनिने ३६ वर्षीय जितमान राई र ४५ वर्षीय अविनाश भनिने डम्बर मगर फरार छन् ।

यीमध्ये खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने वार्ता गर्न विप्लवले खटाएको टोलीको सदस्यका रुपमा केही दिनअघिदेखि नै काठमाडौंमा सरकारी पाहुना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment