Comments Add Comment

म्युजिक भिडियोमा मालामाल मोडल, खुम्चिँदै निर्देशक

 

दिनमा आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक हुन्छ । चलनचल्तीको हिसाबले एउटा म्युजिक भिडियो बनाउने औषत खर्च तीनदेखि पाँच लाखसम्म । म्युजिक भिडियोमा गरिएको यत्तिका लगानी कसरी परिपूर्ति गरिन्छ वा मुनाफा उठाइन्छ ? यसको खोजीनीति नगरौं । यद्यपि म्युजिक भिडियोका लागि खर्चने यत्तिका बजेटबाट ‘मोडल’ अर्थात कलाकार भने मालामाल छन् ।

म्युजिक भिडियोमा गरिने खर्चको भागबन्डा लगाउने हो भने प्राविधिक, उपकरण, यातायात र खानपानकोे हिसाब कटौती गरेर बाँकी ठूलो हिस्सा कलाकारको लागि खर्चनुपर्छ । यसको प्रभाव के भने, राजेश हमालदेखि पल शाहसम्म ‘मोडलिङ’ मा तानिएका छन् । यसबाट कस्तो मनोविज्ञान विकास भएको देखिन्छ भने म्युजिक भिडियो भनेकै कलाकारको बलले चल्ने हो । त्यसैले त रचनात्मक म्युजिक भिडियो बनाउने भन्दा पनि ‘स्टारकास्ट’ लिने होडबाजी चलेको छ ।
उदेगलाग्दो कुरा, एउटा मोडलका लागि जति बजेट छुट्याइन्छ, म्युजिक भिडियोको अवधारणा, कथ्यसंरचना एवं प्रस्तुतीमा अति न्युन लगानी गरिन्छ ।

उराठलाग्दो कुरा, गीत तयार भएपछि सोही अनुसार कस्तो भिडियो बनाउने भन्दा पनि मोडलको मोलमोलाई पछि मात्र कस्तो गीत बनाउने भन्ने लहड चलेको छ । निर्देशक प्रकाश भट्टको टिप्पणी यस्तो छ, ‘लगानी हुनुपर्ने ‘कन्सेप्ट’माथि हो । गीतअनुसार कलाकार छनोट हुनुपर्ने हो । तर, लगानीकर्ताहरु अहिले चलेका कलाकारको पछाडि मात्रै दौडिएका छन् ।’

चल्तीका अनुहार देखाएकै भरमा म्युजिक भिडियो चल्छ त ? आजसम्मको उदाहरणले यसलाई गलत देखाउँछ । ‘महानायक’ राजेश हमाललाई फिचरिङ गराइएको म्युजिक भिडियोले समेत हावा खायो ।

जबकि यसबीचमा केही म्युजिक भिडियोले दर्शक–श्रोताको मन जित्यो, जो स्टारकास्टले नभई गीतको माधुर्य र कलात्मक भिडियोको संयोजनले थियो ।

‘फलानोले ति कलाकार राख्यो भने म तिभन्दा माथिल्लो स्तरका कलाकार राख्छु भन्ने प्रवृत्ति छ । त्यसरी नै कलाकारमाथि लगानी भईरहेको छ’ प्रकाश भन्छन् । लगानीकर्ताहरु चलेका कलाकारहरुको पछाडि मात्रै लाग्दा हिजोआज कलाकारहरुले पारिश्रमिक पनि निकै महंगो डिमाण्ड गर्न थालेको निर्देशक प्रकाश बताउँछन् ।

कलाकारलाई लाख खर्च गर्नेहरु निर्देशकलाई भने २०–२५ हजार तिर्न समेत गाह्रो मान्ने गरेको प्रकाश सुनाउँछन् । निर्देशक शिव विक पनि पछिल्लो समय कलाकारप्रति गरेको लगानीलाई गलत प्रवृत्तिका रुपमा चित्रण गर्छन् । ‘कन्सेप्टमा ध्यान दिने प्रवृत्ति नै हराईसक्यो । लगानीकर्ताहरुलाई चलेको कलाकार भए पुग्छ । उनीहरुनै कलाकार खोजेर ल्याउँछन् । कलाकारहरुमाथि लाख बढी खर्चिन तयार हुन्छन् तर अन्य कुरामा खर्च गर्न हिच्किच्याउँछन्’ शिव गुनासो पोख्छन् ।

कलाकारमाथि लगानी बढी हुँदा निर्देशकले खुम्चिएर काम गर्नुपरेको शिव बताउँछन् । उनी हिजोआज म्युजिक भिडियोमा कलाकार छनोटमात्रै नभई लोकेशन, प्राविधिकहरुको छनोट समेत लगानीकर्ताले गर्ने गरेको हुँदा निर्देशकको ‘भ्यालू’ घटेको बताउँछन् । उनी भन्छन्, –‘अहिले त निर्देशक मुखियाको हलीजस्तै हो । लगानीकर्ताहरुले जो कलाकार भन्नुुहुन्छ, जसरी भन्नुहुन्छ त्यहिअनुसार काम गरिदिने मात्र हो ।’ यस्ता प्रवृत्तिले आफूहरुलाई सन्तुष्टि नमिल्ने उनले बताए ।

उनले अगाडी भने, ‘‘सातको पात टपरी’बनाउँदा टिममा बसेर सरसल्लाह भएर सुटिङ गरिएको थियो । त्यो मेरो ‘कन्सेप्ट’मा भिडियो बनेको थियो । त्यसपछि ‘लोभी आँखा’ मेरो कन्सेप्टमा बनेको हो । अहिले कन्सेप्ट खोज्ने प्रवृत्ति नै हरायो । लगानीकर्तालाई चलेको कलाकार भए पुग्यो ।’ उनीपनि चलेका कलाकारले मात्रै भिडियो नचल्ने बताउँछन् ।

अर्का म्युजिक भिडियो निर्देशक विधान कार्की पनि हिजोआज धेरै कुराहरु निर्देशकको वशमा नहुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘अहिले ८० प्रतिशत लगानीकर्ताहरु आफै कलाकारहरु खोजेर ल्याउनुहुन्छ । कलाकार बाहेक अन्य कुराहरु पनि उहाँहरुले नै निर्णय गर्नुहुन्छ ।’

यस्ता परिस्थितिका कारण एउटा निर्देशकले खुलेर आफ्नो ‘क्रियसन’ देखाउन नपाएको विधान बताउँछन् । उनले लगानी गर्नेहरु लहलहैमा चलेका कलाकारहरु खेलाउनुपर्छ भन्ने ध्याउन्नमा लागेको बताए । तर, कलाकारले मात्रै भिडियो नचल्ने विधानको पनि मत हो ।

‘गीतअनुसार छलफल गरेर कलाकार छनोट हुनुपर्ने हो । तर, त्यसो भईरहेको छैन्’– उनले अगाडि भने ।

कलाकारहरुमाथि बढी लगानी खर्चिँने, मेकिङमा खर्च कम छुट्याउँदा निर्देशकले आफ्नो ‘कन्सेप्ट’अनुसार काम गर्न नपाएको उनले बताए । कलाकारहरुले कम पारिश्रमिक लिने हो भने आफूहरुले मेकिङमा बढी ध्यान दिन पाउने विधान बताउँछन् ।

विधान भन्छन्–‘फेरि म्यूजिक भिडियोको छायांकन १२ घन्टामै सक्नुपर्ने वाध्यता पनि निर्देशकसँग छ । होइन भने प्राविधिकको पारिश्रमिक बढ्ने, किचेनमा बढी खर्च हुने हुन्छ । बजेट कम हुँदा हामीहरुले हतारमा काम गर्नुपर्ने वाध्यता छ ।’

भिडियो चल्न गीत नै राम्रो हुनुपर्ने विधानको भनाई छ । विधानले भने, ‘चलेका कलाकारहरु लिँदा भिडियोले ‘इनिसियल’ रुपमा राम्रो गर्ला । तर, कलाकारहरुकै कारण मात्र भिडियो चल्छ भन्ने कुरामा मान्यता राख्दिन् ।’

बजारको लहलहैमा लागेर कलाकारहरुलाई म्युजिक भिडियोमा लिने, उनीहरुलाई मागेको पारिश्रमिक दिने प्रवृत्ति हटाउनुपर्ने निर्देशकहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment