Comments Add Comment

वेदको इतिहास र वैदिक मानवको उदारता

तस्वीर : वैदिक समाजको वेभसाइटबाट साभार

सरयु नदी अफगानिस्तानको हो भनी कोशाम्बी प्रवचनमा डाक्टर राजेश कोच्चरले दिल्लीमा भनेका अथवा दुई दशकभन्दा पहिलेको पुस्तकमा अर्का वरिष्ठ विद्वान् डाक्टर द्वारिकाप्रसाद मिश्रले वैदिक नदी सरस्वती नै पामीर पर्वतबाट चीनतिर बग्ने हरैहवेती हो भनी लेखमा पढ्ने नेपालीहरू विभिन्न प्रकारले चकित भएका वा केहीले सारै चित्त दुखाएका पनि होलान् । वैदिक वा तिनका पछि प्राचीन तर सभ्य हुन थालेका आर्यजनलाई कसरी हेर्ने कसरी बुझ्ने भन्ने प्रश्नबारे तिनै वैदिक आर्यका पछिल्ला र आजसम्मका सन्ततिको अति ठूलो जनसङ्ख्यामा प्रष्टता रहेन ।

वैज्ञानिक शास्त्रीय तुलनात्मक सामाजिक अध्ययनको पद्धतिले यो संसारमा विकास गरेको केही शताब्दी मात्र भएको छ । आर्यजनले आफ्नो वैदिक समाजलाई आफ्ना समयका अपेक्षाकृत साधनविहीन, विचार-विनिमयविहीन, अध्ययन र शोधकार्यमा सहायता पुर्‍याउने मुद्रण- सञ्चारसाधन, व्यवस्थित प्रकारका लेखनसाधन र पुस्तकालयरहित अवस्थामा पनि ध्यानमा राखेर अध्ययन गर्न प्राय: मध्यवैदिक कालदेखि नै र उत्तरवैदिक कालपछि त निश्चित तवरमा थालेका थिए । हिमालयको तराई मैदानमा कृष्णद्वैपायन ‘व्यास’ ले पौराणिक शब्दावलीअनुसार द्वापरयुगको अन्त्यतिर (आधुनिक शोधकर्ताले त्यो समयलाई विक्रमपूर्व १४००-१००० तिर राखेका छन्) आश्रम स्थापित गरी पैल, जैमिनी, वैशम्पायन, सुमन्तु-सुत (रोमहर्षण) असित, देवल र आफ्ना छोरा शुक गरी आठ वरिष्ठतम विद्वान्को समूहद्वारा इतिहास र त्यस बेला उपलब्ध ज्ञानविज्ञानसम्बन्धी अध्ययन र शोधकार्य गराए ।

त्यो पहिलो व्यवस्थित कोसिसबारे सुरू विक्रमाब्दको विष्णुपुराणले आफ्ना शब्दावलीमा त्यसैबेला उल्लेख गरेको थियो । विष्णुपुराणले उल्लेख मात्र गयो, प्राचीन वैदिक समाजको आफ्नै उद्देश्यनिम्ति आफ्नै प्रकारले तर व्यापक स्थलगत अध्ययन र निष्पत्ति स्थापना कार्य कृष्णद्वैपायनले सुरु गरे । त्यसपछि याज्ञवाल्क्य, ऐतरेय, उद्दालक, श्वेतकेतु, दृप्त बलाकि आदिद्वारा अगाडि बढाइयो । यास्क, पाणिनी, कौटिल्य, पतञ्जली, नागार्जुन, वात्स्यायन, आर्यभट्ट, वाणभट्ट, शङ्कर आदिले कृष्णद्वैपायनले सुरु गरेकै शोधकार्य र अध्ययनलाई गुरुशिष्य परम्परामा नयाँनयाँ स्थापनासाथ अघि बढाउँदै त्यसमा थपे । त्यो प्रक्रिया अझैसम्म तर आधुनिक शैलीमा यो उपमहादेशमा चलिरहेकै म देख्छु ।

आधुनिक युगमा त्यो प्रक्रियामा विश्वका विभिन्न ठाउँमा रुचि बढेर विभिन्न देशका उच्चतम विद्वान् र प्राज्ञहरूले आफूलाई संलग्न गराउन थालेका देखिएको छ । पुणेको डेकान कलेज यसको एउटा उदाहरण हो । यो भूमण्डल मानवजातिको हो जसले यसका सौन्दर्यमा निरन्तर नयाँ अनुदानद्वारा यसलाई सिँगार्दै ल्याएको छ । यसरी हेर्दा मानव सभ्यता भू-मण्डलव्यापी शाश्वत र सार्वभौम रहेको देखिन्छ । राज्य भनेको शक्ति, शस्त्र र सत्तासम्पन्न तर मानवसभ्यता र मानवीय न्यायपरक विवेकी मूल चरित्रलाई आफ्नो स्वार्थ र ऐश्वर्यको सम्बर्द्धन कार्यमा समर्पित परन्तु आफूलाई लोककल्याणकारी दयावान् धर्मात्मा आदि भनी झूटो प्रचार गर्ने सोका निम्ति बुद्धि र ज्ञान खरिद गरी स्रष्टा, चिन्तनकर्ता, दार्शनिक, कवि र कलाकार तथा वैज्ञानिकहरूलाई आफ्नो दास बनाउनेमा संलग्न, भू-मण्डलका ऐश्वर्य, सम्पदा तथा समृद्धिका सम्बलद्वारा लुटपाट गर्ने हठ हत्यारा मानवद्रोहीहरूको त्यस्तो एउटा सानो डप्फाले खडा गरेको भूगोलमा अङ्कित विचित्रको उपकरण मात्र हो । जसले मानवजातिलाई वर्ण, धर्म, भाषा र कथित संस्कृतिका आधारमा विभाजित राख्यो ।

सत्यज्ञानलाई नसहनु, त्यसमा अवरोध उत्पन्न गर्नु र मानव समुदायलाई सबै प्रकारका पारस्परिक शङ्कामा अल्झाउनु आदि राज्य हुनुको अनिवार्य शर्तहरू हुन् । माथिका कुरामा कत्ति पनि सत्यता छ भने प्राचीन आर्यजन र तिनका वैदिक पौराणिक युग र सभ्यतालाई भूगोल, भाषा र धर्म तथा इतिहासद्वारा सृष्टि गरिएका कृत्रिम विभाजनहरूभन्दा माथि उठेर हेर्नु, अध्ययन गर्नु र बुझ्ने चेष्टा गर्नुपर्छ । त्यसरी मात्र सत्य ज्ञानको प्राप्ति हुनेछ। वैदिक इतिहासलाई सबै युरोपेली अध्येताहरूले आर्यजनलाई होच्याउने उद्देश्यले बङ्ग्याएर प्रस्तुत गरिरहेका छन् भन्नु आफ्ना अज्ञान र अन्ध-विश्वासमाथि ढाकछोप गर्नुमात्र ठहर्छ । उपनिवेशवादी र वैदेशिक प्रभुत्ववादी प्रचारकहरू स्वभाव र उद्देश्यले गर्दा नै दुष्ट हुन्छन् भन्ठान्नु ज्ञानकै अपमान गर्नु हो । त्यसो गरेर नपुगी केही हठवादीहरू आफू एउटालाई शुद्ध सदाचारी देशभक्त र यथार्थ ज्ञानी र आफूसित विचार नमिल्नेजति सबै विदेशद्वारा प्रभावित, युरोपेली ज्ञानद्वारा प्रदूषित तथा सन्दिग्ध उद्देश्यका मूर्ख भन्नेहरू आत्म तृष्टिकारी-आनन्दी अन्धविश्वासको मस्त निद्रामा निधाउने गर्छन्।

प्राचीन आर्यदेशमा बरु त्यस्ता संकीर्णता थिएनन् । तिनले असल जति फेला पारुन्जेल सबै ठाउँबाट ग्रहण गर्ने गरेर आफ्ना राम्रा उपलब्धिलाई समेत दान र सेयर गर्ने गरे । आदानप्रदान हुने गरेका अनगिन्ती उदाहरण प्राचीन आर्यदेशीय वाङ्मयमा छन् र तिनका जीवनबाट दिन सकिन्छ । ती प्राचीनहरूले मानव र त्यसका सभ्यता तथा उपलब्धिलाई विभाजित आधारमा हेरेनन् । उदारता र ग्रहणशीलतामा आधारित सहिष्णुता तिनका भाषा, संहिता र बन्धुत्व भाव थिए । ज्ञान र विज्ञान, सभ्यता र सिजनशीलतालाई तिनले यो वा त्यो राज्यसीमामा सीमित राखेनन् र त्यस्तो आधारबाट प्रेरित भएनन् । व्यष्टि र समष्टि दुवैमा सामान्यतया सान्दर्भिक तवरले यस्ता दृष्टिकोण र जीवनव्यवहारका अटूट निरन्तरता त्यो युगमा थियो भन्ने कुरा वैदिक र पौराणिक साहित्यका समीचीन अवलोकनबाट प्रष्ट हुन्छन् । ‘अयं निज परोवेति गणना लघु चेतसाम् ( यो मेरो र त्यो तेरो भनी सचित स्वार्थ रहेकाहरूले मात्र गणना गर्छन्) को आदर्शले नै व्यक्तिलाई अति प्रेरित गर्थ्यो समाज पनि उत्तिकै प्रेरित रहन्थ्यो ।

यस्तो निष्कर्षमा म आफू पुगेको हुँदा त्यो युगबारे कालगणना र समयको तुलनात्मक निर्धारण वा प्रश्नमा मेरा धारणा अपेक्षाकृत आग्रहरहित छन्। पुरातत्व शास्त्रले तुलनात्मक आधारबाट प्रमाणित गरेका समय निर्धारणबारे मैले शंका गर्नुपर्ने कुरै उठ्दैन । नत्रभने, भनौं, ऋग्वेदका मन्त्रहरू पैतीस सय वर्षपहिलेका हुन् कि पाँच दश वा बीस हजार वा करोड वर्ष पहिले रचित हुन् भन्ने प्रश्नभित्रको समयलाई विक्रम पूर्व चौध सयको सट्टा चौध हजार वर्षपहिले राख्दा पनि तुलनात्मक इतिहासमा बाधा पर्दैन भने मलाई बाधा पर्ने प्रश्न नै उठ्दैन । मेरा पूर्वजहरू मानिस थिए, पशुभन्दा फरक थिए । गरुड पुराणअनुसार म आफू ठीक यो पटक जन्मिँदा पहिले कुकर थिएँ भन्नेमाथि म विश्वास गर्न सक्तिन जसरी कि गत लक्ष्मीपूजामा जुवा खेलेबापत अब अर्को जीवनमा म उडुस भएर जन्मिनेछु भन्नेले पनि मलाई चिन्तित तुल्याउँदैन ।

स्व. मदनमणि दीक्षितद्वारा लिखित ‘हिन्दू संस्कृतिको परिशीलन’ पुस्तकबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment