+
+
विश्व क्षयरोग दिवस :

क्षयरोग जोसुकैलाई हुन सक्छ

मणिराज श्रेष्ठ मणिराज श्रेष्ठ
२०७७ चैत ११ गते ६:५०

सन् १८८२ मार्च २४ मा सर्वप्रथम चिकित्सक रोवर्ट कोचले मानव शरीरमा क्षयरोगको किटाणु पत्ता लगाए । यो पत्ता लगाएको सय बर्षपछि प्रत्येक बर्ष सम्झना स्वरुप मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइने गरेको छ ।

अहिलेसम्म यो रोग हाम्रो समाजबाट निर्मुल नभए पनि प्रयत्न जारी छ । यही सन्देश दिनलाई पनि यसबर्ष सन् २०२१ को विश्व क्षयरोगको नारा ‘द क्लक इज टिकिङ’ (The clock is Ticking) अर्थात ‘समय बितिरहेको छ’ भन्ने रहेको छ ।

सन् १९२४ अगाडिदेखि नै यस रोगले मानिसलाई निकै आक्रान्त पारेको थियो, हिजोआज कोभिड-१९ ले जस्तै । जब १९२४ मा बिसीजी भ्याक्सिनको विकास भयो, त्यस समयदेखि यस रोगसँग लड्ने र जित्ने अवस्था सिर्जना भयो । त्यसपछि अनुसन्धानकर्ताहरूले यसको उपचारमा ठूलो परिवर्तन अर्थात बढिभन्दा बढी प्रभावकारी र सजिलोका लागि नयाँ खोपको विकास गर्दैछन् ।

२–३ हप्ता भन्दा बढि समय खोकी लागिरहने र खकारमा रगत देखिने, छाती दुख्ने, हल्का काम गर्दा पनि थकाई लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्नेजस्ता लक्षण देखिएमा क्षयरोग हुनसक्ने प्रबल संभावना हुन्छ ।

बदलिंदो जीवनशैली, जथाभावी खानपान, चेतनाको कमी, लापरवाहीलगायतका कारण अन्य रोगजस्तै क्षयरोग पनि ठूलो चुनौतीको रुपमा रहेको छ । क्षयरोगका किटाणुहरु प्रायः सबैको शरीरमा रहने भएकाले कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई यस रोगले सजिलै आक्रमण गर्नसक्छ ।

सन् २०१६ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको सर्वेक्षण अनुसार विश्वको एक तिहाई जनसंख्या क्षयरोगबाट संक्रमित रहेको र त्यसमध्ये करिब ९० प्रतिशत भन्दा बढी अविकसित र विकासोन्मुख देशमा रहेको देखाएको छ । यस्तै क्षयरोगकै कारण नेपालमा बर्षेनी लगभग ५ देखि ७ हजार मानिसको मृत्यु हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

के हो त क्षयरोग ?

य जनमानसले क्षयरोगलाई ‘टीबी’ भनेर बुझ्ने गरेका छन् । क्षयरोग एक माइक्रो ब्याक्टेरियम ट्युबरकुलोसिस (mycobacterium tuberculosis) नामक किटाणुबाट लाग्ने सरुवा रोगमध्ये गम्भीर खालको सरुवा रोग मानिन्छ ।

यो क्षयरोग मुख्य त फोक्सोमा लाग्ने भए पनि शरीरका अन्य अंगहरू जस्तो : हाड जोर्नी, मुत्र प्रणाली, पाठेघर, कलेजो, स्नायु पेट, आन्द्रालगायतका भागहरूमा पनि संक्रमण हुने संभावना हुन्छ ।

लक्षण र उपचार

२–३ हप्ता भन्दा बढि समय खोकी लागिरहने र खकारमा रगत देखिने, छाती दुख्ने, हल्का काम गर्दा पनि थकाई लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्नेजस्ता लक्षण देखिएमा क्षयरोग हुनसक्ने प्रबल सम्भावना हुन्छ । त्यसो भएकाले यस्ता लक्षण देखिएमा समयमै खकार तथा रगत परीक्षण गराउने, छातीको एक्सरे गराइहाल्नुपर्छ ।

खासगरी रुघा, खोकी, फोक्सोमा असर भएका कारण श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षण कोभिड–१९ मा पनि देखिने भएकोले ती परीक्षणहरू गराउनु उत्तम हुनेछ ।

रोग देखिएमा चिकित्सकको सहयोगमा नियमित औषधिको प्रयोग गर्नुपर्दछ । नेपाल सरकारबाट प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा क्षयरोगको उपचार तथा औषधि निःशुल्क दिने व्यवस्था गरिएको छ ।

सम्बन्धित विज्ञहरूका अनुसार यसरोगबाट बच्न कोभिड–१९ बाट बच्न अपनाएका उपाय नै सरसफाइमा विशेष ध्यान दिने, मास्क लगाउने, कोठामा हावा ओहोर–दोहोर हुने र घामको किरण पर्ने व्यवस्था गर्ने, क्षयरोग लागेका ब्यक्तिको सम्पर्कबाट केही टाढा रहने, बालबालिकालाई समयमै बिसिजी खोप लगाउने, धुमपान तथा मद्यमान सेवन नगर्नेलगायतका सावधानी अपनाउनु पर्दछ ।

६० वर्षदेखि न्युनीकरणको प्रयास

नेपालमा ६० बर्ष अगाडिदेखि क्षयरोग न्युनीकरणको कार्यक्रम शुरु भएको थियो । जस अनुसार सरकारले राष्ट्रिय क्षयरोग केन्द्र मातहतका हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क क्षयरोगको परीक्षण तथा औषधि उपलब्ध गराइरहेको छ ।

नेपालमा ६० बर्ष भन्दा अगाडिदेखि क्षयरोग न्युनिकरणको कार्यक्रम सुुरु भएको थियो । जस अनुसार सरकारले राष्ट्रिय क्षयरोग केन्द्र मातहतका हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क क्षयरोगको परीक्षण तथा औषधि उपलब्ध गराइरहेको छ ।

यससम्बन्धी विभिन्न किसिमले जनचेतनामूलक कार्यक्रम तथा तालिम पनि सञ्चालन भएको पाइन्छ । सन् २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने रणनीतिक कार्यमा नेपालले पनि सहभागिता जनाई कदम अगाडि बढाएको भए पनि यसको गति भने ज्यादै सुस्त देखिन्छ । जसका कारण उपलब्धि पनि निकै न्युन देखिन्छ ।

नेपाल क्षयरोग निवारण संघको स्थापनापछि यसका अभियन्ताहरूले पनि जिल्ला–जिल्ला, गाउँ–गाउँमा क्षयरोग हुन नदिन र भइसकेकाहरूले अपनाउनुपर्ने सावधानीका बारेमा सचेतना कार्यक्रम गर्ने गरेका छन् । उनीहरुले सरकारबाट सञ्चालित कार्यक्रममा सहयोग गर्ने गरेको पाइन्छ ।

अन्तमा

क्षयरोग कुनै पनि बर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज, भूगोलमा बस्ने मानिसलाई लाग्न सक्ने सरुवा रोग हो । समयमै पहिचान र उपचार भएन भने यो गम्भीर प्रकृतिको रोगका रुपमा लिइन्छ । त्यसैले सबै सजग, सचेत र सावधान हुन जरुरी छ ।

सरकारले जिम्मेवारीपूर्वक कार्ययोजना बनाएर तदारुकताका साथ कार्यान्वयन पक्षमा लाग्न जरुरी छ । यसका अभियन्ता, समाजका हरेक समूह र व्यक्तिहरूले पनि जहाँबाट जुन किसिमले सकिन्छ यस रोगलाई न्युनीकरण गर्दै निर्मुल गर्नमा हातेमालो गर्न जरुरी छ ।

क्षयरोग लाग्न नदिऔं र यदि लागिहालेमा समयमै सावधानीपूर्वक उपचार गरेमा क्षयरोग निको हुन्छ भन्ने कुरा बुझौं र अरुलाई पनि बुझाऔं ।

विश्व क्षयरोग दिवसको यस सन्दर्भमा कसैलाई पनि अन्य रोगसँगै क्षयरोग पनि नलागोस र क्षयरोग लागेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना ।

(लेखक : नेपाल क्षयरोग निवारण संस्था, काभ्रे जिल्ला शाखाका कार्यसमिति सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?