+
+
Shares

पर्यटकका लागि हटेन क्वारेन्टिन, भिसा प्रक्रिया पनि यथावत

अच्युत पुरी अच्युत पुरी
२०७७ चैत १० गते १४:४२
फाइल तस्वीर

१० चैत, काठमाडौं । गत शुक्रबार एमाले निकट पर्यटन व्यवसायी र कार्यकर्ताले एक खबर सामाजिक सञ्जालमा भाइरल गराए । जसमा भनिएको थियो, ‘सरकारले नेपाल आउने विदेशी पर्यटकका लागि क्वारेन्टिन हटायो, अनअराभइल भिसा पनि पाइने, अब पर्यटक आगमन सहज हुन्छ ।’ यसको नेतृत्व गरेका थिए नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले । उनले भनेका थिए, ‘मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।’ उनको पोष्टलगत्तै केही सञ्चारमाध्यमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उदृत गर्दै क्वारेन्टिन हटेको खबर छापे ।

त्यसपछि मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ भट्टराईलाई यसबारे धेरैको चासो आउन थाल्यो । उनी स्वयम्ले मन्त्री ढकाललाई के निर्णय भएको हो भनेर सोधे । उनीसँग पनि ढकालले मन्त्रिपरिषदबाट क्वारेन्टिन हटाउने निर्णय भएको नै हो भन्ने जानकारी गराए । तर, मन्त्रालयमा मन्त्रिपरिषद्को पत्र भने आएको थिएन । सोही कारण मन्त्रालयका उच्च अधिकारी भने मौन बसे । आइतबार जब सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय पढे, त्यसमा भने पर्यटकको आगमन तथा भिसासम्बन्धी कुनै महत्वपूर्ण निर्णय भएको उल्लेख छैन ।

हेर्नुहोस् चैत ५ गतेको मन्त्रिपरिषद्को निर्णय :

त्यसो भए के भएको हो ?

आइतबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्ने दिन मै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न सक्ने भन्दै सभा सम्मेलन गर्न र भेला नहुन आह्वान गर्‍यो । सीमा नाकामा कडाइ गर्नेदेखि पीसीआर परीक्षणको दायरा बढाउन समेत आफ्नो मातहतका निकायलाई आग्रह गर्‍यो । क्वारेन्टिन आदेश २०७७ बमोजिमका व्यवस्था लागु गर्न समेत मन्त्रालयले आह्वान गर्‍यो । एकातर्फ स्वास्थ्यको कडाइ गर्ने निर्देशन र अर्कोतर्फ पर्यटन मन्त्रालयको सहजीकरण गर्ने निर्णय आफैंमा विवादास्पद हुने अवस्था थियो । सोहीकारण पर्यटन मन्त्रालयको प्रस्तावबाट भने सरकार तत्कालका लागि पछाडि हटेको छ । अर्थातः नेपालमा अहिले पनि विदेशी पर्यटकलाई क्वारेन्टिन बस्नु पर्ने व्यवस्था यथावत छ । सामाजिक सञ्जालमा एमाले निकट व्यवसायीले भाइरल गराएको निर्णयहरु भने मन्त्रालयले मन्त्रिपरिषदमा पठाएका प्रस्ताव मात्र हुन् ।

हेर्नुहोस् चैत ८ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना :

मन्त्रालयका सहसचिव भट्टराईका अनुसार पर्यटक आगमन सहज बनाउने सम्बन्धमा मन्त्रिपरिषद्ले नयाँ निर्णय दिएन । सोही कारण सरकारको ११ माघको पछिल्लो निर्णय नै कार्यान्वयनमा छ । यस अनुसार नेपाल आउन चाहने पर्यटकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनु पर्नेछ । उनीहरुलाई भिसा सिफारिस भने नेपालमा पर्यटन व्यवसायसँग सम्बन्धित आधिकारिक निकायले गर्नुपर्छ । सबै विदेशी नागरिकसँग ७२ घण्टाको पीसीआर नेगेटिभ रिर्पोट हुनुपर्छ । यात्रा अनुमति पत्र वा आकस्मिक राहदानी बाहकले आगमन विन्दुमा अनअराइभल भिसा पाउँदैनन् । कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने सबै यात्रुले आफ्नै खर्चमा १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । ५ औं दिनमा कोरोना पीसीआर परीक्षण गर्ने र त्यसमा नेगेटिभ आएमा थप ५ दिन होम क्वारेन्टिनमा जान सक्ने नियम छ । जहाज चढ्नु अगाडि नै होटेल बुकिङको प्रमाण पेस गर्नुपर्छ ।

हेर्नुहोस् अध्यागमन विभागको सूचना :

पर्वतारोहण सिजन पुनः प्रभावित हुने चिन्ता

सरकारले पर्यटक आगमनका सम्बन्धमा थप सहिजकरण नगरेपछि पर्यटकीय सिजन यो पटक पनि प्रभावित हुने देखिएको छ ।

नेपालमा वसन्त ऋतुमा पर्वतारोहणका लागि हजारौं आरोही आउँछन् । यही मौसममा पर्यटकलाई सहज बनाउन खोजिएको भएपनि निर्णय नआएका कारण सिजन प्रभावित हुने भट्टराईले स्वीकार गरे ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण सरकारले गत वर्षको यो सिजन सबै गतिविधि रद्द गर्ने निर्णय गरेको थियो । यस पटक खोप अभियान समेत जारी रहेका कारण पर्वतारोही आगमन सहज बनाउने अपेक्षा व्यवसायीको थियो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?