
१५ चैत, काठमाडौं । इन्डोनेसियाको मकास्सार शहरस्थित एक क्याथोलिक चर्चबाहिर भएको आत्मघाती बम विष्फोटमा परी कम्तीमा १० जना घाइते भएका छन् ।
आइतबार आत्मघाती आक्रमणकारीले क्याथोलिक चर्चबाहिर विष्फोट गराएको प्रहरीले जनाएको छ । घटनास्थलमा मानिसको शरीरका टुक्रा पनि भेटिए पनि अहिलेसम्म पहिचान हुन सकेको छैन ।
यसअघि इस्लामिक चरमपन्थी समूहले पनि चर्चहरुमा आक्रमण गर्दै आएका थिए । तर, यो घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।
चर्चका पादरीले दिएको जानकारीअनुसार आक्रमणकारीहरु मोटरसाइकलमा आएका र उनीहरुले चर्चभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । उक्त आक्रमणमा परी घाइते भएका केहीको अवस्था गम्भीर रहेको उनले बताए ।
मकास्सारका मेयरले यो विष्फोट सहायक द्वारमा भएको उल्लेख गर्दै मुख्य द्वारमा विष्फोट गराइएको भए ठूलो क्षति हुनसक्ने बताए ।
बहुसंख्यक मुसलमान भएको इन्डोनेसियामा यसअघि पनि चर्चहरुमा आक्रमण हुँदै आएको छ । सन् २०१८ मा सुरबाया शहरस्थित चर्चमा भएको आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको थियो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4