Comments Add Comment

मुख्यमन्त्री पौडेलले भने : विगतका नराम्रा कुरा बिर्सौं

१८ चैत, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरेका हुन् ।

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ । ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौं । जे जति भए ती सबै कुरालाई बिर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा गन्तव्यमा पुग्न सक्छौं । फेरि तिनै विषयलाई उठाउने हो भने समस्या आउन सक्छ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताइन् । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन् ।

उनले भनिन्, ‘तपाईं हाम्रै कारणले गर्दाखेरि, हामीभित्रकै कारणले गर्दाखेरि आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै-आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं ।’

उनले यतिबेला आत्मसमीक्षा गर्ने बेला आएको भन्‍दै निषेध र गुटको राजनीति नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमूल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन् । पार्टीमा निषेधको राजनीतिले कसैको हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने शाक्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment