Comments Add Comment
मेलम्चीको पानी वितरण शुभारम्भ :

कृष्णप्रसाद भट्टराईलाई राष्ट्रपतिले सम्झिइन्, प्रधानमन्त्रीले नाम लिएनन्

२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा राखिएको ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन् । अब क्रमशः काठमाडौंबासीका घरघरमा मेलम्चीको पानी पुग्नेछ ।

झण्डै तीन दशकको प्रयासमा सफल हुँदा राष्ट्रपति भण्डारीले कृष्णप्रसाद भट्ट्टराईलाई सम्झिइन्, जसले ०४८ को चुनावी सभाका क्रममा मेलम्चीको पानी काठमाडौंको सडक पखाल्छु भनेका थिए । ०४२ सालमै सम्भाव्यता अध्ययन भएको यो आयोजना भट्टराईकै त्यही भाषणपछि चर्चामा आएको थियो ।

त्यही स्मरण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिल्यो ।’

विभिन्न चरणमा मेलम्ची आयोजनाको निर्माण अघि बढाएको भन्दै अहिलेको सरकारको दृढ इच्छाशक्तिको कारण आयोजना सम्पन्न भएको उल्लेख गरिन् । ‘केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छाशक्तिको कारण यो आयोजना सम्पन्न भएको छ’ उनले भनिन् ।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरुको योगदानको स्मरण गरिन् र धन्यवाद दिइन् ।

राष्ट्रपति भण्डारीअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोजनाका विषयलाई लिएर कृष्णप्रसाद भट्टराईलाईलाई सम्झिएनन् । तीन दशक पुरानो आयोजनालाई पूरा गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘यसको परिकल्पना धेरै अगाडि गरिएको थियो । यस विन्दुसम्म आइपुग्न झण्डै तीन दशक लाग्यो । तर हामीले विगत केही वर्षयता यस सफलताको दिन साकार पार्न कामलाई तिव्रता दिने प्रयास गर्‍यौं, जसको फल स्वरुप आज यसविन्दुमा आइपुगेको छौं’ उनले भने ।

उनले खानेपानी मन्त्रालय, आयोजनासँग सम्बन्धित सम्पूर्ण प्राविधिक, योगदान गर्ने सबैलाई धन्यवाद दिए । साथै यसैवर्ष सुरुङ परीक्षणका क्रममा बाढीले बगाएर मृत्यु भएका मेलम्ची आयोजनाका दुई कर्मचारीप्रति श्रद्धासुमन व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment