Comments Add Comment

श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित

२५ चैत, काठमाडौं । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत र  सुदिल राईले एक–एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली दर्शकको साथ पाएको आर्मीले शुरुवातदेखि नै आक्रामक खेल खेलेपनि पहिलो गोल श्रीलंका पुलिसले गरेको थियो ।

लगातार विपक्षीको पोष्टमा धावा बोलेको आर्मीका सन्तोष तामाङको प्रहार १०औं मिनेटमा श्रीलंका पुलिसका गोलकिपर दिनेश मेहेन्द्रानले मुस्किलले बचाए । त्यसको दुई मिनेटपछि नै आर्मीका कप्तान भरत खवासको प्रहार गोलकिपर बिट भइसकेको अवस्थामा डिफेण्डरले गोललाइनबाट बचाए भने टंक बस्नेतको कर्नरमा भरत खवासकै हेडर गोलकिपर दिनेशले पन्च गर्दै बाहिर फाले ।

आर्मी गोल गर्न चुकिरहेका बेला श्रीलंकन टोलीले २८औं मिनेटमा खाता खोल्यो । घानाका खेलाडी इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा आर्मीले बराबरी गर्ने मौका गुमायो । नवयुग श्रेष्ठको क्रसमा कप्तान भरतले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । ३९औं मिनेटमा टंकको क्रसमा कप्तान भरतको फ्रि हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

तर ४१औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बलमा सन्तोषले २५ यार्डबाट हाफ भलिमा शानदार गोल गरे । त्यसको दुई मिनेटपछि नै आर्मीले अर्को गोल गर्‍यो ।

कप्तान भरतको पासमा नवयुग श्रेष्ठले हेडर गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि आर्मीले दबाब कायमै राख्यो । ५०औं मिनेटमा श्रीलंकन पुलिसका गोलकिपरको गल्तीमा टंकबहादुर बस्नेतले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

७६औं मिनेटमा इभान्सको प्रहार क्रस बारमा लागेर फर्किंदा श्रीलंका पुलिस चुकचुकायो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुदिल राईले ८३ औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए । उनी ६३औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्जुरी टाइममा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–१ गोल अन्तरको शानदार जित निकाल्यो ।

आर्मीको भेट बेंगलुरुसँग

जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्नेछ । सन् २०१३ मा स्थापना भएको बेंगलुरुको कप्तान सुनिल क्षेत्री छन् र यो क्लबले २ पटक आई लिग र एक पटक इन्डियन सुपर लिगको उपाधि जितेको छ । सन् २०१४ देखि नै लगातार एएफसी कप खेल्दै आएको बेंगलुरु २०१६ मा एएफसी कपको फाइनलमा पुगेको थियो ।

प्रिलिमिनरीकै अर्को खेलमा माल्दिभ्सको क्लब इगल्स भुटानको थिम्पु सिटी एफसीलाई २–० ले पराजित गर्दै दोस्रो चरणमा पुगेको छ । क्लब इगल्सले पनि १४ अप्रिलमै बंगलादेशको अबहानी लिमिटेडको विजेतासँग खेल्नेछ ।

दोस्रो राउण्डको विजेता दुई टिमबीच २१ अप्रिलमा प्लेअफ हुनेछ र विजेता टिम एएफसी कप २०२१ को दक्षिण एसियाली समूहमा छनोट हुनेछ । जसमा भारतको मोहन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया छन् ।

नेपालबाट यसअघि सन् २०१९ मा मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेलेको थियो । तर मनाङ समूह चरणबाटै बाहिरिएको थियो ।

तस्वीर : विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment