+

बेल्जियम–इजिप्ट भिडन्तः गोल्डेन जेनेरेसनको साख जोगाउने दबाब

२०८३ असार  १ गते २१:१५ २०८३ असार १ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियम र इजिप्ट सियाटल स्टेडियममा भिड्दै छन् ।
  • चोटमुक्त भएका कप्तान मोहम्मद सलाहको नेतृत्वमा इजिप्ट मैदान उत्रनेछ भने बेल्जियम आफ्नो साख जोगाउने प्रयासमा रहनेछ ।
  • यी दुई टोलीबिच भएका ४ भेटमध्ये इजिप्टले ३ र बेल्जियमले १ खेल जितेका छन् ।

१ असार, काठमाडौं । सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको बेल्जियमले इजिप्टविरुद्ध खेल्दै फिफा विश्वकप २०२६ को आफ्नो यात्रा सुरु गर्दैछ । वासिङ्टनको सियाटल स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार राति पौने एक बजेबाट सुरु हुनेछ । समूह ‘जी’ अन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

चौथोपटक विश्वकप खेल्न लागेको इजिप्टले १४ पटक विश्वकप खेलिसकेको बेल्जियमलाई रोक्ने कसरतमा हुनेछ । खेलेका सबै विश्वकपमा समूह चरणबाट बाहिरिएको इजिप्ट यसपटक समूह चरण पार गर्ने ध्ययमा हुनेछ ।

इजिप्टले पूर्ण रूपमा स्वस्थ खेलाडीहरूको सेट र उच्च मनोबलका साथ आफ्नो विश्वकप यात्राको सुरुवात गर्दैछ । अप्रिलको अन्त्यतिर ह्यामस्ट्रिङको चोट व्यहोरेका मोहम्मद सालाह पूर्ण रूपमा निको भइसकेका छन् । सलाहले विङ्गरको रूपमा खेल्दै इजिप्टको कप्तानी सम्हाल्नेछन् ।

प्रशिक्षक होसाम हसनले बेल्जियमको दबाबलाई झेल्दै काउन्टर–अट्याकमा जोड दिने रणनीति बनाउन सक्छन् । डिफेन्डर मोहम्मद अब्देलमोनेम र यासेर इब्राहिमले इजिप्टको रक्षापंक्ति सम्हाल्नेछन् । इजिप्टको लक्ष्य बेल्जियमका आक्रमणलाई रोक्नु र काउन्टरअट्याकमा विङ्गरहरूको तीव्र गतिको प्रयोग गर्दै खाली ठाउँको फाइदा उठाउनु हुनेछ ।

सन् २०२२ को कतार विश्वकपको समूह चरणबाटै लज्जास्पद बहिर्गमन बेहोरेको बेल्जियमले यस पटक आफ्नो खस्किँदो ‘गोल्डेन जेनेरेसन’ को साख जोगाउने प्रयास गर्नेछ । प्रिमियर लिग लियान्द्रो ट्रोसार्ड र जेरेमी डोकुले विङ्गरको भूमिका निभाउनेछन् भने स्ट्राइकरका रूपमा रोमेलु लुकाकु मैदान उत्रनेछन् । बेल्जियमका मुख्य गोलकिपर थिबाउट कोर्टुवा सुरुवाती ११ मा रहने पक्का छ ।

रियल म्याड्रिडका यी स्टार गोलकिपरलाई रक्षापंक्तिमा सेन्टर–ब्याक आर्थर थिएट र नाथन न्गोयले साथ दिनेछन् । एस्टन भिल्लाका लागि यस सिजन उत्कृष्ट प्रदर्शन गरेका युरी टिलेमान्सले मिडफिल्ड सम्हाल्नेछन् । उनलाई अमादु ओनानाले साथ दिने सम्भावना छ ।

पछिल्लो ५ खेलमा बेल्जियम पराजित भएको छैन । ४ खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ । पछिल्लो ५ खेलमा इजिप्ट दुईदुई खेलमा जितहार हुँदा एक खेल बराबरी खेलेको छ । यी दुई टोलीबिच भएको ४ भेटमध्ये ३ मा इजिप्ट र एकमा बेल्जियम विजयी भएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय