Comments Add Comment
पुस्तक-समीक्षा :

‘प्रवास’ भित्र पसेर हेर्दा

साहित्यको आनन्ददायी नीरव गुफामा पस्न मन थियो । तर मनले खोजे जसरी कहिल्यै भित्रिन भने सकिनँ । कारण पनि आफैं, परिस्थिति पनि आफ्नै । तैपनि मौका पाउनेबित्तिकै कथा–संसारमा आफूलाई विचरण गराउन मन लाग्छ ।

चारैतिरबाट घेरेर राखेको संसारबाट उछिट्टिएर संसारकै फरक परिवेश र परिधिसँग दगुर्दै त्यहाँका संवेदनशील स्पन्दनहरूको अनुभूतिले एकैछिनका लागि भए पनि जिरिङ्ग हुन मन लाग्छ ।

सानैदेखि चिनेको, जानेको सुमित शर्मा समीरको पहिलो कृति ‘प्रवास’ले यस्तै एउटा अवसर प्रदान गर्‍यो । पढेर नसकिंदासम्म ‘प्रवास’मा पसेपछि आफू नै प्रवासमा पुगेझैं, प्रवासीहरूसँग बसेझैं अनुभूति भयो ।

यसो त मलाई सानैदेखि कथा–कहानी पढ्ने बानी बसेको हो । उपन्यासहरू लामा कथा हुन् भनेर बुझें । बुझाउनेले पनि त्यही भने । निश्चय नै कथा र उपन्यास बीचको यो प्रमुख भेद होला । तर, अर्को महत्त्वपूर्ण भिन्नताको बारेमा धेरैपछि आएर मात्र थाहा पाइयो । कथाले मूलतः कथ्यलाई अगाडि सार्दछ भने उपन्यासहरू कथ्यका त्यान्द्रा केलाउँछन् । छोटकरीमा उपन्यास कथाभित्रका कथाहरूको संग्रह हो भावनाहरूको संगम हो । ‘प्रवास’ उपन्यासले यस विशिष्टताको मर्यादा राखेको छ ।

जीवन बुझ्न मृत्यु पर्खिनुभन्दा सबै कुराको निमित्त जीवन अनिवार्य छ । जीवन रहे मात्र जीवनका सबै तह र पत्रहरू बुझ्न सकिन्छ भन्ने सत्यलाई बुझ्नुपर्ने लेखकको सन्देश–कथ्य सराहनीय देखिन्छ

‘प्रवास’ विभिन्न बाध्यताको शिकार, आवश्यकताको भुमरीमा परेको र वर्तमान कालखण्डमा बहुसंख्यक नयाँ सन्तति–समूहको प्रतिनिधि ‘अली’को मात्र कथा होइन । यो आफ्नै आवश्यकता र दबाबसँग सम्झौता गरेर बाँच्दै गरेकी र पछि षडयन्त्रपूर्ण विद्रोहको तानाबाना बुन्दै आफ्नो सपनाको संसार छुने असफल कोशिश गर्न पुगेकी जारा र वास्तविकतासँग धेरैपछि मात्र परिचित हुनसकेकी उनीहरूकी छोरी आयशाको पनि कथा हो ।

अलीको भाइ शारीरिक रूपमा अशक्त आकिब विकल्पहीन त्रासदीमा छ । अर्को महत्त्वपूर्ण पात्र रिया आफ्नै समस्याले ग्रसित छिन् । अन्योलमा छिन् । प्रेम विवाह गरेकी अपाहिज (अपाङ्ग) लोग्ने र परिवारप्रतिको जिम्मेवारी तथा माया, स्नेह र व्यक्तिगत प्राकृतिक चाहनाको चेपुवामा फसेकी छिन् ।

परिवारको दृष्टिमा अनावश्यक शंका बेरिएकोमा दुःख छ । त्यसैले मर्यादित र भरोसा गर्न सक्ने साथीको खोजीमा छिन्, ताकि पारिवार र प्रेम विवाहको मर्यादा पनि कायम रहन सकोस् ।(प्रवास उपन्यासको मुख्य पात्र अली, जारा, आयशा आदि हुन् भने कथास्थान पाकिस्तान र क्यानाडा हो)

अलीको मित्र आहिल, उसकी बेगम हसिता र छोरो बाबेरको कथा पनि सुखमय भविष्यको चाहनाको पूर्तिसँग गाँसिएको छ । आम्दानी बढाउनेतिर मात्रै लागेर परिवारको भविष्य उज्ज्वल हुन सक्दैन । संगत, संस्कार र सामाजिक–पारिवारिक वातावरणको भूमिका बढी र अपरिहार्य हुन्छ । सबै मुख्य पात्रहरूको लक्ष्य आर्थिक लाभपछि परिवारमा फर्किनुतिर नै केन्द्रित देखिन्छ ।

माटोको गन्ध पात्रहरूको रगतबाट हट्न सकेको छैन । अन्ततः जीवनको उत्तराद्र्धमा आफ्नै माटो खोज्छन् । कति फर्किन्छन् भने कतिलाई परिस्थितिको साङ्लोले बेरेर नै राख्दछ । अलीसँगको कथा यात्राद्वारा उपन्यासले यी सबै कथ्यहरूलाई रुचिकर शैलीमा गुथेर प्रस्तुत गरेको छ ।

कथा वा उपन्यासका कुनै रचनाकार वास्तवमा विषय र कथ्य मात्र रोज्छन् । भित्र पसेपछि तिनको भूमिका अवलोकन, समीक्षक र प्रस्तोताको हुन्छ । ‘प्रवास’को प्रारम्भ नै घाममा भौंतारिने कमिलाहरूको अवलोकनले भएको छ ।

सामान्यतः बाल्यकालमा हाम्रातिरका सबैजसो बालबालिका कमिलाहरूको जीवनको अवलोकन गर्दछन्, जो सदैव तिनको सम्झनामा जागृत रहिरहन्छ । अवलोकनको यो प्रस्तुतिले लेखकको सूक्ष्मतासँगको सम्बन्धलाई प्रस्फुटित गरेको देखिन्छ । प्रस्तुति गर्दा अवलोकनको समीक्षा व्यक्त गर्ने शैली भने प्रश्न–विधिको प्रयोगले भरिएको छ ।

दृश्यलाई सोझै उभ्याइदिएर खडा गरिएका प्रश्नहरू पाठकलाई सोच्न बाध्य पार्छन् । लेखकको आफ्नो दृष्टिकोण प्रष्टसँग आएको छैन । पाठक आफैं सोचुन्, आफ्नै दृष्टिकोण बनाउन् भन्ने ध्येयले जानाजान यसो गरिएको हुनसक्दछ ।

कतै–कतै यी प्रश्नहरूबारे मनोव्याख्या शैलीको प्रयोग गरी दृष्टिकोण राखिएको भए हुन्थ्यो कि भन्ने पनि लाग्छ । त्यसो गर्दा आजको समाजमा गम्भीर चिन्तन र दृष्टिकोण निर्माणसँग सहजताको सम्बन्ध राख्न नसक्ने र यस्तो अभ्यासलाई झ्याउ मान्ने पाठक समूहको निमित्त लाभकारी हुन्थ्यो कि भन्ने पनि लाग्दछ । यसो गरिएको भए प्रवासको यो कथाले प्रवासमा जानेर नजाने गुन्धुनमा परेकालाई सहयोग हुन्थ्यो ।

‘प्रवास’को प्रवासमा पस्दा लेखकले औंल्याउन खोजेका कतिपय सत्य र वास्तविकतालाई बडो सरलताले सबैको आगाडि राखिदिएका छन् । उदाहरणका लागि, वास्तविकतासँग आत्मसात् गरिसकेपछि अतीतसँग मतलब हुँदैन र भविष्यको चिन्ताले हुने तनाव न्यून गर्दछ । मानिस आफूसँग जोडिएपछि आफ्नो जरासँग आफैं जोडिन्छ ।

त्यस्तै, जीवन बुझ्न मृत्यु पर्खिनुभन्दा सबै कुराको निमित्त जीवन अनिवार्य छ । जीवन रहे मात्र जीवनका सबै तह र पत्रहरू बुझ्न सकिन्छ भन्ने सत्यलाई बुझ्नुपर्ने लेखकको सन्देश–कथ्य सराहनीय देखिन्छ ।

उपन्यासकार सुमितले सबै पात्रलाई समान दृष्टिले देखेका छन् । कसैसँग लेखकको माया वा नकारात्मक दूरी देखिन्न । पात्रहरू स्थिति भन्न मात्र उभ्याइएको महसूस हुन्छ । आकिब वा बाबेरको झलक मात्र छ । विस्तृत परिचय भएको भए ठीक हुन्थ्यो भन्ने लाग्दछ ।

सारांशमा ‘प्रवास’ले प्रवासको गम्भीर अवलोकन प्रस्तुत गरेको छ । प्रवासी जीवनका महत्त्वपूर्ण प्रश्नहरूतिर ध्यान आकर्षित गरेको छ । जो सबै क्षेत्रका निमित्त मननीय छ भन्ने ठान्छु । नेपाली साहित्यमा प्रवासी स्वाद र मानिसका साझा सपना पढ्न, बुझ्न र मनन गर्न चाहनेहरूका लागि यो उपन्यास पठनीय छ ।

पुस्तक : प्रवास

विधा : उपन्यास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment