Comments Add Comment

लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले अनलाइनखबरसँग भने ।

नेकपा माओवादी केन्द्र दल त्याग गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का हालै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका छन् । उनको ठाउँमा नयाँ राष्ट्रियसभा सदस्य चयन गर्नुपर्ने भए पनि निर्वाचन आयोगले उपनिर्वाचनको मिति भने तोकेको छैन ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेयले आइतबार पार्टी र सांसद पद त्यागेको घोषणा गरेका थिए । कपिलवस्तुका उनले आफू राष्ट्रियसभामा गठबन्धनको उम्मेदवार बने पनि कुन पार्टीबाट चुनावमा सहभागी हुने टुंगो नलागेको बताए । ‘म कुनै पार्टीमा प्रवेश गरेको छैन, यस विषयमा विचार गर्दैछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment