Comments Add Comment

कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ का मन्त्रीलाई जिल्लागत जिम्मेवारी

२० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल पर्सन तोकेको हो ।

जसअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई सप्तरी, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई सिरहा, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई धनुषा र महोत्तरी, उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई सर्लाही र रौतहट तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई बारा र पर्साको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकार बीच कोरोना महामारी नियन्त्रणका लागि समन्वयको रुपमा काम गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

तत्काल ४१७ दरबन्दी थप गरिने

मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभिन्न अस्पतालमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय सरकारले गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३, प्रादेशिक अस्पताल जनकपुरधामका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि लिएर स्विपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यक्ताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले यसअघि पीसीसीएमसीको बैठकले गरेको निर्णयहरुलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment