
२४ वैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
प्रहरीका अनुसार रेमडिसिभिरको नक्कली कारोबार गर्ने गिरोह नै सक्रिय छ । सो गिरोहले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सन ‘स्टासेफ’ को बोतलमा रेमडिसिभिरको स्टिकर लगाएर ८ हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको प्रहरीको दावी छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरमा रेमडिसिभिरको अभाव छ । उक्त औषधी भारतबाट अवैध रुपमा ल्याएर बिक्री हुँदै आएको थियो ।
रेमडिसिभिरको अवैध कारोबार गरेको सूचनामा अनुसन्धान अघि बढाएको प्रहरीले रेमडिसिभिरको नाममा अर्कै औषधि बिक्री हुँदै आएको पत्ता लगाएको हो । ‘कहाँबाट ल्याएर कहाँ कहाँ बिक्री गरे अनुसन्धान गर्दैछौं,’ प्रहरी स्रोतले भन्यो,‘ ८ हजार भन्दा बढी मुल्य राखेर बिक्री हुँदै आएको रहेछ ।’
९० रुपैयाँको इन्जेक्सन २५ हजारसम्ममा बिक्री
गिरोहले ‘स्टासेफ’ औषधिमा रेमडिसिभिरको स्टिकर लगाएर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ । दुईवटै औषधिको बोतलको आकार उस्तै छ । होटल भाडामा लिएर गिरोहले स्टासेफ औषधिको बट्टामा रेमडिसिभिरको खोल र स्टिकर प्रयोग गरेर बिक्री गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।
स्टासेफ इन्जेक्सन एन्टिबायोटिक हो । चिकित्सकका अनुसार ज्वरो आँउदा र छाती दुख्दा यो इन्जेक्सन प्रयोग हुन्छ । स्टासेफको खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ । ९० रुपैयाँको इन्जेक्सनमा स्टिकर परिवर्तन गरी गिरोहले ८ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको थियो । यो औषधि बिरामीका आफन्त र एजेन्टमार्फत पनि बिक्री हुँदै आएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार सोनुले एजेन्टलाई ८ हजार रुपैयाँ लिएर नक्कली रेमडिसिभिर दिन्थे । एजेन्टले भने २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए ।
भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा रेमडिसिभिर पाइन्छ । नेपालमा भने १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
प्रतिक्रिया 4