Comments Add Comment

‘फास्ट ट्र्याक’बाट रातो मत्स्येन्द्रनाथको रथयात्रा, के–के प्रक्रिया भएन पूरा ?

४ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष पनि उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्रै गरिएको छ । रथ निर्माणको काम विधिवत् रुपमा पूरा गर्दैगर्दा कोरोना महामारीको दोस्रो लहरले संकट निम्त्याउन थालेपछि यसका सरोकारवाला निकायहरु यसलाई सांकेतिक रुपमा मात्रै प्रक्रिया पूरा गर्न सहमत भएका थिए । जसले गर्दा सयौं मान्छे उपस्थित भएर मनाउने रातो मत्स्येन्द्रनाथको रथ शनिबार सांकेतिक रुपमा २५ मिटरमात्रै तानेर छाडियो ।

बुधबार रातो मत्स्येन्द्रनाथलाई बुंगमती स्थित मत्स्येन्द्रनाथको मन्दिरमा लैजाने तय भएको छ । जुन जावलाखेलमा भोटो देखाएपछि मात्रै लैजाने गरिन्थ्यो । सबै विधि पूरा गर्ने हो यो प्रक्रिया पूरा गर्न नै एक महिनाभन्दा धेरै समय लाग्ने गथ्र्याे । तर पछिल्ला २ वर्ष यी कुनै पनि प्रक्रिया भएनन् । अघिल्ला वर्ष लामो समयसम्म पुल्चोकमा राखिएको रथलाई विना योजना स्थानीय युवाहरुले तान्न सुरु गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । यो वर्ष सौहार्दपूर्ण रुपमा सांकेतिक रथयात्रा गरिएपनि ऐतिहासिक रुपमा चलिआएको केही परम्पराहरु भने पूरा हुन सकेनन् ।

रातो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका सदस्य सञ्जय राजोपाध्यायका अनुसार रथ निर्माण र सांकेतिक रुपमा २५ मिटर रथ तान्ने प्रक्रियासम्म सबै कामहरु विधिसम्मत रुपमा गरिएको छ । त्यसपछिका कामहरु सबै स्थगित गरिएका हुन् ।

राजोपाध्यायका अनुसार रथलाई पुल्चोकमा पु¥याएपछि रातो मत्स्येन्द्रनाथको धोती वा पटुका फेर्ने चलन थियो । त्यो चलन यसवर्ष स्थगित भएको छ । त्यहाँबाट अघिबढेपछि गाबहालमा पुगेर परम्परागत रुपले वैष्णवीदेवीको पूजा गर्ने चलन थियो । त्यहाँ स्थानीयहरुले छुट्टै जात्रा मनाउने गर्दथे । गाबहालमा एक दिन राखेपछि अर्काेदिन रथलाई मंगलबजार लगिन्थ्यो । मंगलबजारमा लगेर दरबार पूजा गर्ने गरिएको राजोपाध्याय बताउँछन् ।

त्यसपछि रथलाई सुन्धारा लगेर त्यहाँ अर्काे जात्रा मनाउने गरिन्थ्यो । रातो मत्स्येन्द्रनाथको जात्राको साइत हेर्ने ज्योतिष कीर्तिमर्दन जोशीका अनुसार सुन्धारामा पुगेपछि बाराहीहरुले पूजा र होम गर्ने गर्छन् । राजोपाध्यायका अनुसार सुन्धारामा नै बन्धुदत्त आचार्यका सन्ततिहरुले गर्ने गुरुपूजा र वसुन्धरा देवीको पूजा पनि गर्ने चलन थियो । यो वर्ष यी सबै प्रक्रियाहरु स्थगित गरिएका छन् ।

सुन्धाराबाट रथलाई लगनखेल पुर्‍याइन्छ । लगनखेलको बीचमा राखेपछि त्यसलाई ३ चक्का घुमाएर भोलिपल्ट महिलाहरुलाई रथ तान्न दिइन्छ । राजोपाध्यायका अनुसार पहिलेपहिले श्रीमान् मरेका महिलाहरुलाई मात्रै सो दिन रथ तान्न दिइन्थ्यो । तर अहिले सबै महिलाहरु रथ तान्न पुग्ने गर्छन् । रातो मत्स्येन्द्रनाथको रथयात्रामा यी एकदिन बाहेक अरु सबै दिन रथ तान्ने काम पुरुषहरुले मात्रै गर्ने गर्छन् ।

लगनखेलमा रथ पुर्‍याएको भोलिपल्ट रथलाई चारदोबाटोसम्म पुर्‍याइन्छ । त्यसपछि त्यहाँबाट जावलाखेल लैजाने साइत हेर्ने गरिन्छ । राजोपाध्याय भन्छन् ‘साइत बिहिबार मात्रै जुराइन्छ, अर्थात् जुन बिहिबार साइत जुर्छ त्यही दिन रथलाई जावलाखेल लगिन्छ ।’ जानकारहरु यही साइत नजुर्दा कहिलेकाहीँ यो रथयात्रा ५ महिनासम्म धकेलिने गरेको बताउँछन् । जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाएपछि यसको प्रक्रिया पूरा हुन्छ र धार्मिक विधि पूरा गरी रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने गरिन्छ ।

यसरी फास्ट ट्रयाकबाट मत्स्येन्द्रनाथको रथयात्रा गर्दा पुल्चोकदेखि, गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्मका सबै विधिहरु यो वर्ष पूरा गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment