Comments Add Comment

फेरि संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास

फाइल तस्वीर

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘…फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उनले थपे, ‘यसलाई नेपाली जनताले सहने छैनन् । स्थानीय तहदेखि संसद विघटनको विरोधमा प्रतिवाद सुरु हुनेछ र अदालतमा पनि सशक्त बहस हुनेछ ।’

शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी रुपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यराति संसद विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ ।

उनले घोषित चुनाव देखाउनका लागि भएको दाबी गरे । ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रुपमा गरिएको चुनावको अर्थ छैन,’ उनले भने ।

विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

त्यसका लागि आइतबार १ बजे सांसदहरुलाई नागरिकतासहित बानेश्वरस्थित संसद भवन बोलाइएको छ । ‘भोलि सांसदहरुको हस्ताक्षर संकलन हुन्छ । रिटको ड्राफ्ट तयार हुँदैछ । भ्याए भोलि नै, नभ्याए अर्को दिन अदालत जाने निर्णय छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment