Comments Add Comment
सिंगापुर र ताइवान :

कोरोना नियन्त्रणमा सफल मुलुकमा कसरी फैलियो कोरोना ?

८ जेठ, काठमाडौं । सिंगापुर र ताइवान कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणमा उदाहरणको रूपमा लिइने मुलुक हुन् । यस वर्षको सुरुवातदेखि नै यी मुलुकमा शून्यको हाराहारीमा नयाँ संक्रमित देखिए ।

यद्यपि मे महिना लागेसँगै यी मुलुकको अवस्था फेरियो ।  दुवै मुलुकमा अचानक तीव्र गतिमा संक्रमण बढ्न थाल्यो । सिंगापुरमा पछिल्लो साता २४८ नयाँ संक्रमित फेला परे भने ताइवानमा यो संख्या १२ सय पुग्यो ।

दुवै मुलुकमा कोरोना संक्रमण बढेसँगै सामाजिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । धेरै मानिसको भेलामा रोक लगाइएको छ र विद्यालयहरू बन्द गरिएको छ ।

नेशनल ताइवान युनिभर्सिटीका एसोसिएट प्राध्यापक लिन सिएन् भन्छन्– ताइवानको कडा सीमा कोरोनाले नाघ्दैन भन्ने विश्वास गरियो । मानिसहरू बन्द कोठामा गीत गाउने, मदिरा पिउनेजस्ता कार्यहरू गर्दै एकअर्काको सम्पर्कमा आइरहेका थिए । एकै गल्लीमा यस्तो धेरै ठाउँ थियो । यसबाट निकै तीव्र गतिमा संक्रमण फैलियो ।

नेपालको तुलनामा अहिले यी मुलुकमा देखिएको कोरोनाका नयाँ संक्रमितको संख्या निकै कम छ । र पनि यी मुलुकको कुरा गर्ने हो भने केही महिना अघिसम्म पनि यस्तो अवस्था आउन सक्छ भनेर कल्पना गरिएको थिएन । त्यसो भए किन बिग्रियो त सिंगापुर र ताइवानको अवस्था ?

ताइवान : आत्मसन्तुष्टिको परिणाम

ताइवानले चीनमा सबैभन्दा पहिला कोरोना फैलिंदा नै विदेशबाट आउने मानिसहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अहिले पनि जारी छ । त्यहाँका मानिसहरूलाई भने अब कुनै समस्या नरहेको लाग्न थाल्यो ।

नेशनल ताइवान युनिभर्सिटीका एसोसिएट प्राध्यापक लिन सिएन–होका अनुसार पहिलाको जस्तो गम्भीरतापूर्वक कोरोना परीक्षणको काम बन्द भयो, यहाँसम्म कि ज्वरो आएका मानिसहरूलाई पनि कोरोना परीक्षण गर्न वास्ता गरिएन ।

आवर वल्र्ड इन डेटा वेबसाइटका अनुसार ताइवानमा फेब्रुअरीको मध्यमा प्रति एक हजारमा केवल ०.५७ मानिसमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यतिबेला यो दर सिंगापुरमा ६.२१ र बेलायतमा ८.६८ थियो । डाक्टर लिनले भने, ‘डाक्टरले यसलाई गम्भीरतापूर्वक लिएका थिएनन्, अस्पताल सतर्क थिएनन्, उनीहरूले कन्ट्रयाक्ट ट्रेसिङलाई पनि गम्भीरतापूर्वक लिएका थिएनन् । निश्चित रूपमा उनीहरू विश्वस्त भएको देखिन थालेको थियो ।’

उनका अनुसार ताइवानको कडा किसिमको सीमा कोरोना भाइरसले पार गर्न नसक्ने विश्वास मानिसहरूमा हुन थालेको थियो ।

यसको संकेत विशेषगरी खोप नलिएका पाइलटहरूको क्वारेन्टिनमा बस्ने अवधि पनि १४ दिनबाट घटाएर पाँच दिन र पुनः त्यसलाई तीन दिनमा झारेसँगै देखिएको थियो ।

यसको केही समयपछि एक समूहमा संक्रमण देखियो । जसको सम्पर्कमा ताओयुआन एयरपोर्ट नजिकैको नोभोटेल होटलमा बसेका चाइना एयरलाइन्सका केही पाइलटसँग थियो । उनीहरूमध्ये केही मानिसमा भाइरसको बेलायती भेरियन्ट बी.१.१.७ देखिएको थियो । त्यसपछि भाइरस बाहिर फैलिन थाल्यो । यसको सम्बन्ध चिया पसल र समाज केन्द्रसम्म पनि देखिएको थियो, जहाँ मानिसहरू मनोरञ्जनका लागि जाने गरेका थिए ।

डाक्टर लिन भन्छन्, ‘मानिसहरू बन्द कोठामा गीत गाउने, मदिरा पिउनेजस्ता कार्यहरू गर्दै एकअर्काको सम्पर्कमा आइरहेका थिए । एकै गल्लीमा यस्तो धेरै ठाउँ थियो । यसबाट निकै तीव्र गतिमा संक्रमण फैलियो ।’

ताइवानका पूर्वराष्ट्रपति तथा महामारीविद् प्रोफेसर चेन चिन–जेनका अनुसार कोरोना संक्रमण पुष्टि भएका केही मानिसहरू मनोरञ्जनका लागि कहाँ गएका थिए भनेर बताउन पनि चाहँदैनथे । जसका कारण कन्ट्याक्ट ट्रेसिङ निकै कठिन भएको थियो ।

उनी भन्छन्, ‘यसले के कुरा बुझाउँछ भने जनसंख्याको सानो हिस्साले नियम मानेनन् भने यसको असर ठूलो संख्यामा देखिन्छ ।’

ताइवानले जापानमा वयस्क मानिसहरूको मनोरञ्जन स्थलबाट कोरोना संक्रमण फैलिएको कारण त्यसलाई बन्द गर्नुपर्ने अवस्था आएको घटनाबाट नसिकेको उनले बताए ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका एसोसिएट प्रोफेसर एलेक्स कुकका अनुसार ताइवानको अवस्था ‘यो रणनीतिको खतरालाई देखाउँछ कि यहाँ बाहिरबाट भाइरस आउनबाट रोक्न धेरै प्रयास भएको छ तर मुलुकभित्र भने यसलाई नियन्त्रण गर्न उचित प्रयास गरिएको छैन ।’

सिंगापुर : कडा व्यवस्थाभित्रको कमजोरी

सिंगापुरको कहानी ताइवानको भन्दा फरक छ । सिंगापुरमा नयाँ कोरोना संक्रमितको संख्यामा कमी आउँदा पनि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धमा गरिएको कडाइ भने कायमै थियो ।

क्लबहरू बन्द थिए र अहिले पनि विवाहजस्ता सामारोहमा सीमित संख्यामा मात्र मानिसहरू भेला हुन पाउँछन् । यद्यपि यहाँ खोप अभियानको व्यवस्थामा भने कमी देखियो ।

सिंगापुरको चांगी एयरपोर्ट मुलुकको सबैभन्दा ठूलो सपिङ सेन्टर पनि हो । यसवर्ष सिंगापुरमा कोरोना संक्रमण फैलाउन यो एयरपोर्ट सबैभन्दा ठूलो कारण बन्यो । पछि एयरपोर्टका सबै कर्मचारीहरू यस्तो क्षेत्रमा काम गरिरहेका थिए, जहाँ कोरोना संक्रमण सबैभन्दा धेरै फैलिएको मुलुकबाट यात्रीहरू आउँथे । यीमध्ये धेरै कर्मचारी एयरपोर्टको फूड कोर्टमा खाना खान जान्थे, जहाँ आम मानिसहरू पनि जान्थे । जसको कारण कोरोना भाइरसले फैलिने मौका पायो ।

सिंगापुरको चांगी एयरपोर्ट मुलुकको सबैभन्दा ठूलो सपिङ सेन्टर पनि हो । यस वर्ष सिंगापुरमा कोरोना संक्रमण फैलाउन यो एयरपोर्ट सबैभन्दा ठूलो कारण बन्यो ।

पछि सिंगापुरमा भेटिएका संक्रमितमा भारतीय भेरियन्ट बी.१.६१७ पाइएको थियो । सिंगापुरले आम मानिसहरूलाई एयरपोर्टको यात्रुहरूको टर्मिनलमा आउन रोक्यो । साथै, धेरै जोखिम भएका मुलुकबाट आउने उडानलाई अलग गर्ने निर्णय गर्‍यो ।

जबकि एक महिनाअघि नै मुलुकमा यस्तो जोखिम देखिन सुरु भएको थियो । सरकारको यो निर्णयबारे मानिसहरूले आक्रोश व्यक्त गरिरहेका छन् ।

एनयूएस स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर तियो यिक यिङका अनुसार अधिकांश मानिसहरूले कोरोना नियन्त्रणको मापदण्ड पालना गरेका थिए । तर पनि कोरोना संक्रमण फैलिएको कारण मानिसहरूमा आक्रोश देखिएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘हामी चीनजस्तो होइनौं जसले आफ्नो सीमा पूर्ण रूपमा बन्द गर्न सक्छ । हाम्रो देशको छवि, हाम्रो अर्थतन्त्र, सबैको सम्बन्ध यससँग सम्बन्धित छ कि हामी एक व्यापारिक केन्द्र हौं । साथै, यदि तपाईंले गतवर्ष अमेरिकामा फैलिएको संक्रमणलाई हेर्नुहुन्छ भने सबैभन्दा गम्भीर संक्रमण चीनबाट नभई युरोपबाट यात्रा गर्ने मानिसहरूबाट फैलिएको थियो । यस्तोमा सिंगापुरले कति देशसँगको सीमा बन्द गर्न सक्छ ?’

यद्यपि प्रोफेसर कुकका अनुसार सिंगापुर अहिले पनि महामारीलाई नियन्त्रणमा लिने मामिलामा राम्रो अवस्थामा छ ।

सुस्त खोप अभियान दुवैको चुनौती

सिंगापुर र ताइवान दुवै मुलुकमा कोरोना विरुद्धको खोप अभियान निकै सुस्त गतिमा अघि बढिरहेको छ । ताइवानमा सबै कुरा ठीक हुँदा धेरै मानिसहरू खोप लिन चाहँदैनथे । त्यस्तै यहाँ अनुमति पाएको एस्ट्राजेनेकाको खोपबारे पनि धेरै आशंका थियो ।

यद्यपि अहिले कोरोनाको संक्रमण बढेसँगै खोप लिने मानिसहरू बढिरहेका छन् । तर, समस्या एउटै छ कि खोपको कमी भइरहेको छ । ताइवानको जनसंख्या २४ लाख छ र ऊसँग खोप केवल तीन लाख छ । डाक्टर चेन भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय कम्पनीसँग खोप किन्ने प्रयास भरसक गरिरहेका छौं । तर अब हामीसँग आफैं खोप बनाउने एक मात्र विकल्प बाँकी छ ।

ताइवानले अहिले दुई खोप विकासको काम गरिरहेको उक्त खोप आगामी जुलाईको अन्तिमसम्ममा बजारमा आउन सक्ने अपेक्षा छ ।

सिंगापुरको अवस्था पनि भिन्न छैन । देशको करिब ३० प्रतिशत जनसंख्यालाई खोप लगाइसकिएको छ । यो दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै हो । यद्यपि अब भने सिंगापुरमा थप मानिसहरूलाई लगाउन खोपको अभाव देखिएको छ ।

सिंगापुर सरकारले यस वर्षको अन्तिमसम्मा आफ्नो समग्र जनसंख्यालाई खोप दिने विश्वास लिएको छ । प्रोफेसर तियोका अनुसार खोप अभावको समस्या लामो समयसम्म रहनसक्छ । त्यसैले सिंगापुरले पनि आफ्नै मुलुकमा खोप विकास गर्ने प्रयास गरिरहेको तियोको भनाइ छ । ताइवान र सिंगापुरको अवस्थालाई हेरेर समग्र विश्वले पाठ सिक्नु जरुरी रहेको तियोको भनाइ छ ।

उनले भने, ‘हामीले अहिले युरोप वा अमेरिकामा प्रतिबन्धहरू हटाइँदै गरेको देखेका छौं, यस्तोमा मलाई के लाग्छ भने उनीहरू सतर्क हुनु जरुरी छ र उनीहरूले आगामी दिनमा के हुन्छ भनेर हेर्न जरुरी हुन्छ ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment