Comments Add Comment

रुकुम पश्चिममा दुई समूहबीच झडप, दुई जना घाइते

१९ असार, सुर्खेत । ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्‍पन्‍न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शुक्रबार साँझ ट्याक्टरले सामान बोकेर ल्याइएको घोडालाई छोएको विषयमा विवाद हुँदा झडप भएको हो ।

‘दुई समूहबीच पुरानै विवाद रहेछ, ट्याक्‍टरले घोडालाई छोएपछि उत्‍पन्‍न विवाद झडपमा परिणत भयो,’ डीएसपी श्रेष्ठले भने, ‘ट्याक्‍टर पक्षका दुईजना घाइते छन्, एकजनाको अवस्था गम्भीर छ ।’

गम्भीर घाइतेलाई उपचारका लागि राडीबजारतर्फ लगिएको छ । ‘धारिलो हतियार प्रहार भएको रहेछ, गम्भीर गाइतेलाई हेलिकप्टरमार्फत ल्याउन खोजिएको छ’ उनले भने ।

प्रहरी टोली घटनास्‍थल पुगिसकेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गर्ने घोडा व्यवसायी फरार रहेको र खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment