
कोरोनाको महामारीले सवैभन्दा धेरै असर परेको क्षेत्र हो, चलचित्र । यो क्षेत्र विगत डेढ बर्षदेखि सुनसान जस्तै छ । गतबर्षको पौषदेखि चैत्रसम्म केही चलमलाएको यो क्षेत्र अहिले फेरि सुनसान अवस्थामा छ । विगत डेढ बर्षदेखि सुनसान अवस्थामा रहँदा चलचित्र क्षेत्रबाट धेरै मानिसहरु पलायन हुने अवस्था आएको छ । कतिपयले वैकल्पिक पेशा समेत अपनाउन थालिसकेका छन् ।
कोरोनाको मारमा चलचित्र प्रदर्शकहरु सबै भन्दा बढी परेका छन् । डेढ बर्षदेखि हल ठप्प रहँदा देशभरका २ दर्जन हल बन्द भैसकेका छन् । अझै, दर्जनौ हल बन्द हुने क्रममा रहेको चलचित्र संघले बताएको छ ।
नेपाली चलचित्रलाई राम्रो शेयर दिदै आएका काठमाडौका जय नेपाल, कुमारी जस्ता हल सधैका लागि बन्द भएका छन् । यस्तै, सिंगल स्टेशनमा पुग्ने दर्शकका लागि राम्रो मानिएको गंगा हल पनि सधैका लागि बन्द भयो । गोपिकृष्ण हलका ३ पर्दा भत्काइएको छ । तर, अब यसका संचालकले निर्माण हुन लागेको नयाँ भवनमा हल संचालन गर्छन् या गर्दैनन् त्यो भोलीको कुरा हो । हल संचालनमा आएको खण्डमा पनि गोपिकृष्णमा पहिले जस्तै व्यापार होला या नहोला, भन्न सकिदैन ।
उसो त, काठमाडौंमा केही नयाँ हलहरु पनि खुलेका छन् । तर, आफूलाई सहज लाग्ने र पायक पर्ने हलमा चलचित्र हेर्ने बानी परेका दर्शक अरु हलमा जान्छन् या जाँदैनन् त्यो मुख्य कुरा हो ।
चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, कुमारी, जय नेपाल लगायतका हलले निर्मातालाई राम्रो शेयर दिने गरेका थिए । कुमारीबाट निर्माताले चलचित्र ब्लकबस्टर भएको अवस्थामा २० देखि २२ लाख, औषत चलेको अवस्थामा ८ देखि १० लाखसम्मको शेयर लैजाने गरेको अशोक बताउँछन् । गोपिकृष्णबाट त ब्लकबस्टर चलचित्रका निर्माताले ५० लाखसम्म शेयर वुझेका छन् । चलचित्र औषत चल्दा पनि निर्माताले गोपिबाट ८ देखि १२ लाखसम्म शेयर वुझेका छन् ।
जय नेपालमा पनि औषतमा निर्माताले ५ देखि ७ लाखसम्म शेयर वुझ्ने गरेका थिए । तर, अब यी हलहरु बन्द हुँदा केही प्रतिशत दर्शक सिफ्ट भएपनि अधिकांश दर्शक हल जान नै छाड्ने वुझाई अशोक शर्माको छ ।
अशोक भन्छन्–‘चलचित्रप्रति एकदमै क्रेजी मानिस मात्र अन्य हलमा सिफ्ट हुन्छन् । तर, सहजताको कारण, वातावरण मन परेर कुनै एउटा हलमा पुग्ने दर्शक अर्को हलसम्म पुग्न गाह्रो हुन्छ । १० देखि २० प्रतिशत मानिसहरु मात्र अन्यत्र सिफ्ट हुन सक्छन् । बाँकी ८० प्रतिशतले त कुनै विशेष चलचित्र आएको खण्डमा मात्र हलसम्म पुग्ने नत्र हल नै नजाने हुन्छ ।’
नयाँ हल थपिए पनि ती हलसम्म दर्शकलाई तान्न सजिलो छैन । लामो समयदेखि हल जान छाडेका दर्शकलाई नयाँ हलसम्म लैजान संचालकलाई सहज नभएको अशोक बताउँछन् । उनले भने–‘नयाँ हल खुल्दा ती हलमा दर्शक बढेका थिए । तर, त्यसले अन्य हलको व्यापारमा असर गरेको थिएन । यसैले, दर्शकले आफूले हेरिरहेको हलमा चलचित्र हेर्न पाएनन् भने नयाँ हलसम्म जाने मुड सहजै बनाउँदैनन् ।’
यी बाहेक काठमाडौका केही हलहरु पनि बन्द हुने अवस्थामा रहेको अशोकले बताए । उनले भने–‘हामीले सरकारलाई बारम्बार यो बिषयमा अवगत गराएका छौं । तर, सरकारले यो कुरामा वास्ता नै गरेको छैन । यसको प्रत्यक्ष असर प्रदर्शकलाई मात्र नभएर निर्माता, वितरक, प्राविधिक, कलाकार सबैलाई पर्छ ।’
प्रतिक्रिया 4