
२२ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले स्थानीय तहमा बिमाबारे बुझाउनका लागि भन्दै बिमा सचेतना कार्यक्रमलाई अघि बढाएको छ । विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर समितिको टोलिले बिमाबारे बुझाउने क्रममा बुधबार महोत्तरीको मटियानी नगरपालिकामा कार्यक्रम सम्पन्न गरेको छ ।
बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमा के हो ? बिमा किन गर्नुपर्छ भन्ने विषयमा बुझाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा निर्देशक लालले बिमा दाबी भुक्तानी प्रक्रिया, कृषि बिमा, लघु तथा पशु बिमाबारे प्रकाश पारेका थिए ।
नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले स्थानीय तहबाट प्रवाह हुने सेवालाई बिमासँग जोड्ने बताए । बिमा चेतना अत्यन्तै कम रहेको भन्दै उनले कृषि तथा पशु बिमाबारे ५ देखि १० प्रतिशत नागरिकमा मात्रै चेतना रहेको बताए ।
मेयर मण्डलले भारतीय बिमा कम्पनीहरुमा धेरैले बिमा गर्ने गरेको समेत जानकारी दिए । धेरैमा चेतना नै रहेको र बिमा गरेकाहरुले पनि एक/दुई किस्ता तिरेपछि ‘सरेण्डर’ गर्ने गरेको उनले सुनाए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, सबै वडाका वडाध्यक्षहरु, बिमा कम्पनीका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4