+
+
Shares

दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १४:५८

२५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।

ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन परेको छ ।

दल दर्ता खारेज सम्बन्धी निर्णय गर्न माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले निर्वाचन आयोगलाई दबाबसमेत दिंदै आएका छन् । शुक्रबार मात्रै टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेर यसबारे आयुक्तहरुसँग छलफल गरेका छन् ।

यो कदमलाई माओवादी केन्द्रले कुनियत भनेको छ । ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ ।’

बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भन्दै आइन्दा त्यस्तो नगर्न माओवादी केन्द्रले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?