Comments Add Comment
अग्रपथ :

सियान, साइकल र साम्यवाद

चीनको चर्चा र वाहवाही चुलिएको छ संसारभरि जस्तै नेपालमा पनि अहिले । भर्खरै (जुलाई १) चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी स्थापनाको शतवार्षिकी भव्य रूपमा मनायो । राजधानी बेइजिङको तेनमियान चोकमा आयोजित शतवार्षिकी समारोहका रोमाञ्चक दृश्य विश्वले आँखा तानेर हेर्‍यो, आश्चर्यचकित हुँदै । चीनका उपलब्धि, योजना र महत्वाकांक्षाबारे विश्वव्यापी चर्चा भए । हजारौं आलेख र टिप्पणी लेखिए, लेखिंदैछन् ।

पार्टी महासचिव तथा राष्ट्रपति सी जिन पिङले नेपाल लगायत विश्वका सयौं देशका राजनीतिक दलका नेतालाई भर्चुअल सम्बोधन गर्दै समकालीन विश्वका लागि चीनको सन्देश प्रष्ट गरे । कतिपय टिप्पणीकारले ‘चीनका कम्युनिष्ट’ र ‘नेपालका कम्युनिष्ट’ को तुुलनात्मक चर्चा गर्दै ‘त्यहाँका त्यस्ता, यहाँका यस्ता’ भन्दै ‘चीनका कम्युनिष्ट असल, नेपालका कम्युनिष्ट खराब’ भन्ने निष्कर्ष दिए ।

अझ गम्भीर कुरा, चिनियाँ प्रणालीको सफलताले ‘पश्चिमा उदार लोकतन्त्रको विकल्प’ खडा भएको जस्ता टिप्पणी भयो । ‘बहुदलीय लोकतन्त्र’ भन्दा चिनियाँ मोडेलको ‘एकदलीय प्रणाली’ बढी सफल, सार्थक र उपयोगी हुने त हैन ? मानिसका मनमा यस्ता प्रश्नले पर्याप्त ठाउँ पाए । चिनियाँ सफलताको मोडेल समकालीन विश्वका लागि एक ‘वैकल्पिक ढाँचा’ हुनसक्ने विश्लेषण गरियो ।

यी चर्चाले मलाई भने सन् २०१९ जुलाई ४–८ को पाँचदिने छोटो चीन भ्रमणको स्मरण गरायो । सान्सी प्रादेशिक सरकारको आमन्त्रणमा समाजवादी पार्टीको एक प्रतिनिधिमण्डल सियान गएका थियौं । पाँच दिनमा कति नै बुझिन्छ र ? तथापि आफूले देखे, भोगेका अनुभव लेख्न मन लाग्योे । सियान अर्थात् बेइजिङ अघि चीनको प्राचीन राजधानी शहर । यो शहर ११८० वर्ष चीनको राजधानी थियो । सियानको यो रेकर्ड कायमै छ । बेइजिङ चीनको राजधानी भएको करीब ४५० वर्ष मात्र हुँदैछ । एकीकृत चीन बन्नुअघि चीनका चार राजधानीमध्ये एक सियान मानिन्थ्यो ।

विश्व चर्चित ‘सिल्क रोड’ को प्रारम्भ विन्दु सियान नै हो । नेपालको इतिहासमा बारम्बार चर्चा हुने चिनियाँ यात्री हुवान शाङ यहींबाट तिब्बतको बाटो हुँदै नेपाल आएका थिए । कपिलवस्तु र लुम्बिनी पुगेका थिए । दक्षिणएशियाका थुप्रै तीर्थस्थल तथा शैक्षिक संस्थाको भ्रमण गरेका थिए । नालन्दामा केही समय बसेर बुद्धिज्मको अध्ययन र ग्रन्थहरूको चिनियाँ अनुवाद गरेका थिए । उनी दक्षिणएशियाबाट १७ वर्षपछि सियान फर्किएका थिए । जन्मले उनी हुनानका थिए । फर्किएर सियानमा बसे । यहींबाट उनले चीनभरि बुद्धिज्मको प्रचार गरे ।

हुवान शाङको ठूलो सालिक छ, सियानमा । चिनियाँ गाइडले हामीलाई ‘द ग्रेट ट्राभलर एन्ड ट्रान्सलेटर’ भन्दै त्यो सालिक देखाएका थिए । ‘गुज प्यागोडा’ को मैदानमा छ त्यो सालिक । भित्र भित्तामा लुम्बिनीका चित्र छन् । नेपालको मिथिला आर्ट जस्तो लाग्ने चित्रमा तिलौराकोट दरबार, लुम्बिनी, मायावती मन्दिर, देवदह क्षेत्रको चित्रण गरिएको छ ।

यो मन्दिर परिसर घुमाउने एक होची–होची चिनियाँ युवती थिइन् । उनी बुद्धिज्म, लुम्बिनी, बौद्धग्रन्थ र हुवान शाङको सम्बन्धबारे बताउँदै थिइन् । बीचैमा हाम्रो टोलीको कसैले भन्यो– ‘हामी नेपालबाट आएको, बुद्ध नेपालमै जन्मिएको त हो ।’ चिनियाँ युवतीले उल्टै हामीलाई व्यङ्ग्य गरेकी थिइन्– ‘हो, थाहा छ । तर, मलाई यो पनि थाहा छ कि तिमी नेपालीहरू अधिकांश बुद्धिज्म मान्दैनौ, तिम्रो देशमा बुद्ध जन्मेर के पो त, चीनमा १३ करोड बढीले बुद्धिज्मको अभ्यास गर्छन् ।’ उनको उत्तरपछि सबै चुप भएका थियौं ।

जुलाई ४ तारिखको साँझ तिब्बत एयरको उडानबाट सियानका लागि उडेका थियौं । करीब साढे ३ घण्टाको उडान । उडान अवधिमा कुनै नयाँ वा फरकपनको अनुभूति भएन । जहाज खालीखाली जस्तो थियो । हाम्रो १० जनाको प्रतिनिधिमण्डल र मुश्किलले थप १० जना जति चिनियाँ यात्रु थिए । मनमनै सोचें, शायद उताबाट चिनियाँ पर्यटक भरिएर आएका थिए होलान् । यस्तै खालीखाली हुने हो भने जहाज कम्पनीले कति दिन घाटामा उडान भर्ला ? कोभिड शुरू हुनुभन्दा केही महीना अघिको कुरा हो यो । डिसेम्बरबाट कोभिड–१९ चीनमा देखियो ।

आफ्नै खर्चमा चीन डुल्ने क्षमता कति नेपालीसँग होला र ? नेरु १ लाख सटही गर्ने हो भने मुश्किलले ६ हजार चिनियाँ युवान हुने रहेछ । त्यति पैसाले पर्यटकको रूपमा चिनियाँ बजारमा मुश्किलले दुई दिन मात्र टिक्न सकिन्छ । ७ दिनको प्याकेज बनाउने हो भने कम्तीमा नेरु ५ लाख सटही गर्नुपर्ने रहेछ । सम्भवतः केही व्यापारी, प्रशासक, एनजिओकर्मी र यस्तै निःशुल्क प्रतिनिधिमण्डलको निमन्त्रणा पाएकाहरू चीन डुल्न सक्दा हुन् । अनि जहाज खालीखाली किन नहोस् ? ७ दिन चीन डुल्ने पैसाले त ३ महीना लगाएर पूरै दक्षिण एशिया डुल्न सकिने रहेछ ।

तर, यसको विपरीत प्रभाव भने हुँदो हो । चिनियाँ पर्यटकका लागि नेपाल निकै सस्तो र सहज गन्तव्य बन्दो हो । थोरै युआन खर्च गरेर चिनियाँ मस्तले नेपाल घुम्न सक्दा हुन् ।

सियान विमानस्थलमा उत्रिंदा स्थानीय समयअनुसार रातको साढे १० बजेको थियो । विमानस्थल बाहिर हामीलाई पर्खिरहेका २५–३० वर्षको जस्तो देखिने मिस्टर सी निकै फूर्तिला र भद्र युवा थिए ।

होटलतिर जाँदै गर्दा मेरो पहिलो ध्यान साइकलमा पर्‍यो । फराकिला सडकको दुवैतिर उत्तिकै फराकिला पेटी थिए । पेटीमा जताततै साइकल उभिएका देखिन्थे । मध्यरातमा यतिका धेरै साइकल किन र कस्का होलान् ? मलाई दुहबीको अरिहन्त जुट मिल अगाडि देखेका साइकलको ताँती याद आयो ।

म साइकल अत्यधिक प्रयोग हुने क्षेत्रको बासिन्दा हुँ । नेपालको तराई–मधेशमा साइकलको महत्व अझै घटेको छैन । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेभित्र झुम्काबजारबाट इटहरी नगरतिर करीब १० हजार साइकल जान्छन् । ती धरान–इटहरी–दुहबी–विराटनगर करिडोरमा रोजगार गर्न जाने ग्रामीण बसोबासी मजदूर हुन्छन् । साँझ ५–७ बजे उसरी नै ताँती लागेर घर फर्किन्छन् ।

एक प्रसिद्ध चिनियाँ भनाइ छ– ‘सत्तामा पुग्नका लागि जतिसुकै कठोर भए पनि हुन्छ तर शक्तिमा टिकिरहन भने जनतासँग नम्र र दयालु हुनै पर्छ । युद्धले सत्ता जित्न सकिन्छ, तर जनताको मन नजितिकन सत्तामा टिक्न सकिंदैन ।’ वर्तमान चिनियाँ सत्ताको सफलताको रहस्य यही भनाइको वरिपरि छ ।

मध्यरातमा सियानको सडक पेटीमा ठिङ्ग उभिइरहेका हजारौं साइकलले बडो ठूलो जिज्ञासा र कौतूहल जगायो । मन थाम्न नसकेर गाइडलाई सोधें । उनले भने कि यो साइकल ‘म्युनिसिपल फ्रि सर्भिस’ हो । यो सेवा प्रयोग गर्न नगरपालिकामा आफूलाई दर्ता गर्नुपर्दछ । मोबाइलमा कोड नम्बर आउँछ । त्यो कोड प्रयोग गरेर मात्र साइकलको ताला खोल्न सकिन्छ । यस्ता साइकल सामान्यतः निजी सवारी साधन नभएका र ट्याक्सी प्रयोग गर्न आर्थिक क्षमता नभएकाहरूको लागि हो । शहरको जुनसुकै चोकमा घर, डेरा, अफिस वा अपार्टमेन्टबाट सडक पेटीमा आउने बित्तिकै साइकल यसरी नै उभिएका भेटिन्छन् । आफूलाई जहाँसम्म जानु छ त्यहाँसम्म चढेर जान सकिन्छ । जहाँ पुगिन्छ, त्यहींनेरको सडक पेटीमा छोडिदिने हो ।

सियानको सडक पेटीमा साइकलको ताँती देखेर मलाई लाग्यो कि नजिक कतै ठूलो कारखाना छ र त्यहाँ ‘नाइट सिफ्ट’ काम चल्दै होला । फेरि मनमा आयो, के यी साइकल चोरी हुँदैनन् ? नेपालको पूर्वी तराईमा साइकल चोरी हुनु एक आम समस्या हो । म आफैं कैयौं पटक यो समस्याबाट पीडित भएको छु । सियानमा साइकल चोर हुँदैनन् ?

चोरी हुने कुनै सम्भावना हुँदैैन । एक त साइकल चोरेर कहाँ बेच्ने ? कसले किन्ने ? दोस्रो– साइकलको नेटवर्क र ई–निगरानी हुन्छ । कोड नम्बर नलिइकन ताला खुल्दैन । कुन साइकल कहाँनेर पुग्यो नगरपालिकाको नियन्त्रण कक्षमा सबै अभिलेख आउँछ ।

मलाई यो सिस्टम गज्जब लाग्यो । लाग्यो– साइकल प्रयोगमा यहाँ ‘साम्यवाद’ रहेछ । होटलमा पुग्ने बित्तिकै अर्को रोचक चिनियाँ प्रचलन ज्ञान भयो । चिनियाँ संस्कृतिमा खाना साँझ छिटो खाने प्रचलन हुँदोरहेछ । रेस्टुराँहरू साँझ ५ देखि ८ बजेसम्म मात्र खुल्दा रहेछन् । होटल पुग्दा सुत्ने ठाउँ देखाइयो, खाने कुरोकन्थो छैन । काठमाडौंमा खाएर निस्केको करीब ८ घण्टा भइसकेको थियो । पेट भोकले कुइँकुइँ गरिरहेको थियो । खान दिने कुरै कसैले उठाएन । जब हामीले नै सोध्यौं– भनियो कि सियानमा ८ बजेपछि खाना पाइने कुनै सम्भावना हुँदैन । भोकै सुत्नुको कुनै विकल्प छैन ।

औसत सियानवासीले साँझ ६ बजे नै खाइसकेका हुँदा रहेछन् । खानपिन सकेर चोक, बगैंचा र खुला ठाउँमा निस्केर मस्त सामूहिक नाचगान र कसरत गर्दा रहेछन् । भोलिपल्ट साँझ शहरको चोक, बगैंचा र मैदानमा सामूहिक नाचगान र कसरत हेर्न गएका थियौं । साँझ ६ बजे खानपिन सिध्याए पनि राति १० बजेतिर सुत्दा रहेछन् । त्यो रात दुई लिटर पानी पिएर सुतियो । भोको पेट राति राम्रो निद्रा परेन ।

जुलाई ५ तारिख बिहान रेस्टुराँ खुला थियो । ब्रेकफास्टका लागि भोकले हतारिंदै पुग्दा थाहा भयो कि चिनियाँ खानाका परिकार नेपालका भन्दा बिल्कुलै फरक हुने रहेछन् । रेस्टुराँमा सयौं परिकार थिए । तर हामीलाई विचित्रका, अनौठा र बेस्वादिला लाग्ने । अधिकांश परिकारमा या त सुँगुरको मासुको पातला टुक्रा या त कुनै न कुनै ‘सि फुड’ मिसाइएको हुने रहेछ ।

‘सि फुड’ अर्थात् सामुद्रिक खाना । भ्यागुता, गँगटा, कछुवा, सर्प, लेउ, आदित्यादि । जुन कुनै परिकारमा नून असाध्यै कम । मसला नहालेका, उसिनेका मात्र । हामीसँग मिल्ने भनेको त्यही पाउरोटी, केक र फलफूल वा जुस हुने रहेछ । चिनियाँ खानाको न भेराइटी सम्झेर साध्य, न नाम ।

सियानका सडक फराकिला, सफा र हरियालीपूर्ण थिए । सडकका सबै सम्भव भागलाई फूलले सजाइएको थियो । अनेक प्रकारका फूलहरू फुलिरहेका थिए । बगैंचा र ग्रिनबेल्टको जीवन्त व्यवस्थापन, प्रत्येक दिन बिहान पानीको ठूलो फोहोराले सडक धुने नियम, ओभरब्रिज एकदमै कम, ठूला फराकिला अन्डरब्रिज र क्रसिङहरू जताततै । शहरको बीच भागबाट नीलो पानीको नहर बगिरहेको थियो । यथार्थमा यो कुनै नहर थिएन । करीब तीन हजार वर्ष अघि शहरको रक्षा गर्न सिटीवालको बाहिरपट्टि खनिएको ड्रेन थियो । त्यति पुरानो ‘सिटीवाल’, त्यसका किल्ला, किल्लामा सेन्ट्री पोष्ट र तोपहरू यद्यपि छँदैथिए ।

क्रेनले सिङ्गै रूख तथा शृङ्गारिक वृक्ष उखेलेर ल्याउने र शहरको हरियाली बेल्टमा रातारात रोप्ने प्रविधिले मलाई असाध्यै आकर्षण गर्‍यो । हामी शहरको पेटी वा ग्रिनबेल्टमा कुनै बिरुवा रोप्छौं, त्यो या त सुकेर मर्छ या त ठूलो भएर शहरलाई शोभा दिन १०–२० वर्ष लाग्दछ । रूख उखाल्ने क्रेन, बोकेर शहरसम्म ल्याउने ठूला लरी र ठूला खाल्डो खन्ने मेसिन भए कुनै पनि शहरलाई ६ महीनादेखि एक वर्षभित्र जंगलको बीचमा बनाउन सकिने रहेछ । ठूल्ठूला खाल्डोमा सिङ्गै रोपेका रूखहरू जराले राम्ररी पक्रिन नपाउँदै हावाले नलडाओस् भनेर चारैतिरबाट डोरी र साङ्लाले बाँधिएका दृश्य चोकैपिच्छे जस्तो देखिन्थे ।

सियानवासी तम्बाकु र खुर्सानीका सौखिन रहेछन् । सन्सी प्रादेशिक पार्टी विदेश विभागका उपसचिवले भेटघाटपछिको खानपिनमा भनेका थिए– ‘माओ असाध्यै धेरै पिरो खानुहुन्थ्यो । चुरोट पिउनुहुन्थ्यो । पिरो धेरै खानेको दिमाग तेज हुन्छ, चिन्तनशील मान्छेले चुरोट पिउँछ भन्ने आमधारणा जस्तो बनेको छ ।’ तर, चुरोट खाने र ठुटो फाल्ने सिष्टम भने एकदमै व्यवस्थित । सडक पेटीको छेउमा प्रति सय मिटरमा ठूला एस्ट्रे र प्रति सय मिटरमा एक स्वीपर देखिन्थे । चुरोट मान्छे भीडभाडबाट पन्छिएर चोक, बगैंचाका एकान्त कुनामा खान्थे । स्वीपर सडक र पेटी निरन्तर सफा गरिरहेका देखिन्थे ।

सियान पार्टी स्कूल विभागको प्रणाली मलाई अर्को रोचक पक्ष लाग्यो । पार्टी स्कूल नगर पार्टी र केन्द्रीय पार्टी स्कूल विभागको समन्वयमा चल्दा रहेछन् । पार्टी स्कूल एक स्थिर प्रतिष्ठान जस्तो हुँदो रहेछ । सियानको पार्टीको स्कूल सन् १९५६ तिर स्थापित भएको रे ! माओ, लि साओची, चाउएनलाई, देङ सियाओ पिङजस्ता नेताहरू बारम्बार आएका थिए रे यहाँ । ५०० जति मानिसलाई पाँचतारे होटलको जस्तो खाना, आवास र सुविधा दिन १० तले भवन । पार्टी स्कूलका प्राध्यापकहरूसँग करीब दुई घण्टा अन्तरक्रिया गरेका थियौं ।

प्रदेशभरिका विभिन्न पार्टी कमिटीले प्रशिक्षण दिनुपर्ने सदस्यलाई छनोट गरेर यहाँ पठाउँदा रहेछन् । उनीहरूको खर्च सम्बन्धित कमिटीले सँगसँगै पठाउँदो रहेछ । पार्टी प्रशिक्षण कार्यक्रमलाई १५ दिने, तीन महिने, ६ महिने र तीनवर्षे डिजाइन गरिएको हुँदोरहेछ । पार्टीका विभिन्न कमिटीबाट निर्धारित आवासीय कोर्स गर्न कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पार्टी स्कूलमा आउँदा रहेछन् । पार्टी स्कूलमा नेताले कार्यकर्तालाई प्रशिक्षण दिने हैन, पार्टी प्राध्यापकहरूले नेता, कार्यकर्ता दुवैलाई एउटै क्लासमा राखेर विद्यार्थी जसरी प्रशिक्षण दिंदा रहेछन् । विषयगत आधारमा क्लास बन्दो रहेछ । नेता, कार्यकर्ताको हैसियतको आधारमा हैन । पार्टी कक्षा सैद्धान्तिक र प्रयोगात्मक दुवै हुँदारहेछन् ।

नेपालका पार्टीहरूले पनि चाहने हो भने यस्तो गर्न नसकिने हैन । पाँचतारे होटलकै जस्तो भवन र सुविधा दिन नसकिएला तर प्रतिष्ठानले जस्तो आवासीय र नियमित पार्टी स्कूल व्यवस्थापन गर्न सकिन्छ । हतारमा दिइने एक–दुई दिने प्रशिक्षण र प्रशिक्षणका नाममा नेताहरूको एकोहोरो भाषणले पार्टी कार्यकर्ताहरूको ज्ञान कमजोर र विषय विज्ञताको अभाव हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी नेता र कार्यकर्ताको शिक्षा, तालिम र प्रशिक्षणमा एकदमै धेरै लगानी र मिहिनेत गर्दोरहेछ । पार्टीभित्रको गुणस्तर र योग्यतातन्त्र कायम गर्न यसले धेरै मद्दत गर्दोरहेछ ।

हामीलाई डुलाउन लगिएको स्थानमध्ये ‘टेराकोटा सैन्य म्युजियम’ आश्चर्यजनक लाग्यो । त्यहाँ पुग्नुअघि मैले सोचेको थिएँ कि यो चिनियाँ जनमुक्ति सेनाको संगठन, सैन्य सामग्री, हतियार र वीरता प्रदर्शन गर्ने म्युजियम होला । तर, यो त विल्कुलै फरक कुरा रहेछ । इसापूर्व २१० तिर बनाइएको सम्राट छिन् सि ह्वाङको चिहान रहेछ । ‘चिहान काल’ को यो विचित्र सम्पदा देख्दा सहजै अनुमान गर्न सकिन्छ कि चिनियाँहरू प्राचीनकालदेखि नै ठूलो सोच राख्ने जाति हुन् । ग्रेटवाल जस्तै टेराकोटा म्युजियम एक अर्को आश्चर्य हो ।

यो म्युजियम सन् १९७४ मा एक किसानले खेतमा भूमिगत सिंचाइका लागि पम्पिङ सेट गाड्दा फेला पारेका रहेछन् । ८ हजार सैनिक, ५२० घोडाले तानेका १३० रथ र १५० घोडचढी सैनिकको टेराकोटाले बनेका मूर्ति अगाडि सम्राटको शव राखिएको रहेछ । यति सैनिक, रथ र घोडचढी लिएर स्वर्ग गए आफ्ना सम्राटले स्वर्गका राजालाई पनि जित्ने छन्, चिनियाँ जातिले धर्तीका कुनै राजासँग मात्र हैन, स्वर्गको राजासँग पनि हार्नुपर्ने छैन भन्ने अवधारणाबाट यो बनेको रहेछ । यसबाट प्रष्ट हुन्छ कि श्रेष्ठता र जितको चाहना चिनियाँहरूको आजको मात्र सपना हैन ।

सी जिन पिङले मात्र ‘चाइना ड्रिम’ को कुरा गरेका हैनन् । ग्रेटवाल इसापूर्वको सातौं शताब्दीमै बन्न शुरुआत भएको थियो । चीनको पहिलो सम्राट मानिने यिनै टेराकोटा महाराज छिन् सि ह्वाङले टुक्राटुक्रा खण्ड जोडेर ग्रेटवाल पूरा गर्न लगाएका थिए । सी जिन पिङको ‘बीआरआई’ हान वंशकै पालामा शुरुआत भएको ‘सिल्क रोड’ को आधुनिक रूप मात्र हो ।

माओले ‘राजनीतिक सत्ताको जन्म बन्दूकको नालबाट हुन्छ’ भन्नु र ‘जननीति’ हरू तय गर्नु पनि प्राचीन अवधारणाकै नवीकरण थियो । एक प्रसिद्ध चिनियाँ भनाइ छ– ‘सत्तामा पुग्नका लागि जतिसुकै कठोर भए पनि हुन्छ तर शक्तिमा टिकिरहन भने जनतासँग नम्र र दयालु हुनै पर्छ । युद्धले सत्ता जित्न सकिन्छ, तर जनताको मन नजितिकन सत्तामा टिक्न सकिंदैन ।’ वर्तमान चिनियाँ सत्ताको सफलताको रहस्य यही भनाइको वरिपरि छ ।

यथार्थमा चिनियाँ सफलता र उपलब्धि के हो ?

पहिलो कुरा– राजनीतिक सत्ताको स्थिरता हो । चीनमा ‘जनता’, ‘पार्टी’ र ‘राज्य’ शक्तिका तीन अंग मानिन्छन् । यी तीनको संरक्षक भने जनमुक्ति सेनालाई मानिन्छ । जनमुक्ति सेनाले चिनियाँ जनताको रक्षा गर्छ, जनमुक्ति सेनाले चिनियाँ कम्युनिष्ट पार्टीको रक्षा गर्दछ, जनमुक्ति सेनाले चीन राष्ट्रको रक्षा गर्दछ भन्ने भावना व्याप्त हुन्छ । कम्युनिष्ट पार्टी विनाको चीन औसत चिनियाँले कल्पना गर्दैनन् । सन् १९८९ ताका तेनमियान विद्रोहको बेला उनीहरूको विश्वास थोरै धर्मराएको थियो । फेरि त्यो विस्मृतिमा गयो । सत्ताको रक्षा गर्न आइपरे जे पनि गर्नुपर्दछ, तर सत्ता सञ्चालन गर्दा चाहिं जनताप्रति जिम्मेवार र नरम हुनुपर्दछ भने सोच छ ।

दोस्रो भनेको विशाल र अजङका भौतिक पूर्वाधार हुन् । ठूलाठूला सडक र राजमार्ग, आश्चर्यजनक आकार र प्रविधिका पुल, एयरपोर्ट, रेलवे, सुरुङमार्ग, शहरीकरण, अपार्टमेन्ट प्रणालीमा आधारित सस्तो आवास, वातावरणीय रक्षा र सम्पूर्ण देश नै बगैंचाजस्तो गरी सजाउने सोच, अन्तरिक्ष अभियान आदि चिनियाँ राज्य, पार्टी र जनतामा व्याप्त छ । सियानबाट बुलेट रेल चढेर चार घण्टामा बेइजिङ पुग्न सकिन्छ । एलो रिभरमाथि फ्लाइओभरको बुझिनसक्नु जालो देखिन्छ । सडक सकेसम्म सीधा हुन्छन् । पहाड आए सुरुङ हानिन्छन्, नदीमा पुल र खोचमा अग्लाअग्ला ‘फ्लाइओभर’हरू हुन्छन् । सियानबाट गाउँतिर जाँदा हामी २६ किमी सुरुङ मार्गबाट हिंडेका थियौं । अनौठा पुल र फ्लाइओभरहरू देखेका थियौं ।

जोहन रोयल्सका अनुसार न्यायको अर्थ ‘स्वतन्त्रता’ र ‘समानता’ को उपस्थिति हो । चीनमा राजनीतिक स्वतन्त्रता छैन भन्ने कुरा सबैलाई थाहा भएकै हो । तर, तथ्यांकले भन्छन् कि आर्थिक समानता पनि छैन । चिनियाँ मोडेलले विश्व लोकतन्त्रको भावनालाई प्रतिस्थापन गर्छ भन्ने मलाई किञ्चित विश्वास लागेन । अझै लाग्दैन ।

तेस्रो– राज्यको ‘रेस्पोन्स’ र ‘कार्यसम्पादन क्षमता’ हो । कुनै घटना भयो, सरकारले थाहै पाएन वा थाहा पाएर पनि चुप बस्यो वा कुनै कारबाही गर्नुपर्ने ठाउँमा कारबाही गरेन वा गर्न सकेन यस्तो कुरा चिनियाँहरूको सोचमै छैन । राज्य चिनियाँ सोचमा ‘सुपर पावर’ हो, राज्यले चाहेपछि गर्न नसक्ने कुनै काम नै हुँदैन भन्ने सोच छ । विभिन्न ठूला घटनामा राज्यले व्यवहारबाट त्यो पुष्टि गर्दछ । जस्तो कि भर्खरै कोभिड–१९ मा गर्‍यो । कार्यसम्पादन र सेवाप्रदायन कार्यमा राज्यको आधारभूत निष्पक्षता र प्रभावकारिता जनआशंकाको घेराभन्दा बाहिर हुन्छ । कर्मचारी तेहरो निगरानीमा हुन्छन् । कर्मचारीतन्त्रको हाकिम, जनमुक्ति सेना र खुफिया एजेन्सीको निगरानी, तत्तत् तहको पार्टी कमिटीले गर्ने प्रतिवेदन ।

चौथो– प्राविधिक शिक्षामा विशेष जोड । चीनलाई त्यसै अमेरिकाले प्रविधि चोरीको आरोप लगाएको हैन । उनीहरू संसारभरिका सबै वस्तुहरू कसरी बन्छन् भनेर अध्ययन गर्दछन् । त्यसलाई कसरी आम उत्पादन गर्ने भनेर प्रविधिमा ढाल्दछन् । प्रविधिको नक्कल र विकास दुवै गर्छन् चिनियाँहरू ।

पाँचौं– गरीबी निवारण र गतिशील अर्थतन्त्र । हामीले गरीबी निवारण कार्यक्रमका एक अधिकृतसँग अन्तरक्रिया र तीन वटा पाइलट कार्यक्रम हेरेका थियौं । ती कर्मचारीले भनेका थिए– ‘गरीबी निवारणको पहिलो शर्त मानिसको आत्मविश्वास बढाउनु हो । म धनी हुन सक्छु भन्ने विश्वास नहुन्जेल राज्यले जतिसुकै सहयोग गरे पनि केही हुन्न ।’

ती गाउँको नाम बिर्सें, एउटा च्याउ गाउँ थियो, अर्को पर्यटकीय गाउँ थियो र अर्को कृषि गाउँ । च्याउ गाउँ जाने बाटो सानो पहाडी नदी हुँदै जान्थ्यो । नदी जताजता बग्थ्यो, गाउँ पनि त्यतैत्यतै हुन्थ्यो । नदीको दुवै किनार एक÷एक सडक, पहाड नभत्काई काखमा लाइनै दुई÷तीनवटा मात्र घर । पहाड जस्ताको त्यस्तै, नदी जस्ताको त्यस्तै । मुश्किलले १० बिघा क्षेत्रफलको थियो होला, पहाडको अलिक भिरालो भाग खारेर बनाइएको च्याउ उत्पादन केन्द्र ।

केन्द्रका प्रबन्धकले भनेका थिए– ‘चीनमा यस्ता ८ वटा मात्र च्याउ उत्पादन केन्द्र छन्, जसले पूरै चीनको च्याउको माग पूरा गर्दछ, बेइजिङमा च्याउ दैनिक यहींबाट जान्छ ।’ जबकि त्यो गाउँ बेइजिङबाट करीब ११०० किमी टाढा थियो ।

यस्ता च्याउ केन्द्र नेपालले चाहने हो भने सयौं बनाउन सक्दछ । पर्यटकीय गाउँलाई परम्परागत काष्ठकलाले सजाएका थिए । गाउँको पार्किङमा हामी पुग्दा एक हजार बढी कार थिए । गाइड सिले भनेका थिए– ‘यो गाउँमा प्रतिदिन न्यूनतम १० हजार पर्यटक आउँछन् ।’ कृषि गाउँ टनेल खेतीका लागि प्रसिद्ध थियो । गाउँमा बस्ती कमै देखिन्थे । खेतमा जताततै प्लास्टिकका टनेल बनाइएका थिए ।

मेरो विचारमा चीनले जेजे गरेको छ, ठूला पूर्वाधार छिटै नहोला तर अरू कुनै काम नेपालमा गर्न असम्भव छैन । नगरेको मात्र हो । १० बिघाको सघन च्याउ उत्पादन केन्द्र के गाह्रो कुरा हो ? टनेल खेती के गाह्रो कुरा हो ? काष्ठकलाले सिंगो गाउँ सजाएर सबै घर नै साना होटल, रेस्टुराँ वा लजजस्तो बनाउनु के असम्भव हो ? नदीको बहाव अनुरूप पर्यावरणीय जोखिम नहुने गरी नदी आकारका गाउँ बसाउनु के असम्भव कुरा हो ? वनजंगल चोकहरू सजाउनु के असम्भव कुरा हो ? पब्लिक हाउजिङ प्राधिकार गठन गरेर अव्यवस्थित बसोबासी, आफ्नै घर नभएका निम्न आयका वर्ग र सुकुम्बासीलाई सस्तो शुल्कमा अपार्टमेन्टहरू दिनु के असम्भव कुरा हो ? बिल्कुलै हैन । केवल सोच र इच्छाशक्ति नभएको मात्र हो ।

सियान र साइकलपछि अब अलिकति कुरा गरौं– साम्यवादको । चिनियाँ विकासको मोडेल साम्यवादको शास्त्रीय मोडेलसँग कहींकतै मेल खाँदैन । यो सोभियत संघ र पूर्वी युरोपको मोडेल हुँदै हैन । नेपालमा हामीले किताबमा पढेको साम्यवाद वा माओवाद जस्तो चीन मैले देखिनँ । शास्त्रीय मोडेल सन् १९७८ सम्म थियो । त्यो फेल भयो । त्यसपछि चिनियाँहरूले मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा जस्ता दर्शनलाई बेलाबेला पूजा गर्ने ‘खोपीको देउता’ जस्तो बनाए, काम अर्कै ढंगले गरे ।

गाइड बारम्बार हामीलाई ‘आफ्टर रिफर्म’ र ‘बिफोर रिफर्म’ भन्थे । त्यसको अर्थ हुन्थ्यो– चीनको तरक्की देङपछिको हो, त्यसअघिको चीन कहाँ यस्तो थियो र ? उनीहरू माओवादी, कट्टर साम्यवादी वा शास्त्रीय कम्युनिष्टहरूलाई ‘र्‍याडिकल्स’ भन्दा रहेछन् । र्‍याडिकल्सहरूलाई विकास र उन्नतिको दुश्मनको रूपमा चित्रण गर्दा रहेछन् । ‘र्‍याडिकल्स’ अर्थात् माओपछि ‘ग्याङ अफ फोर’ को हातमा सत्ता गएको भए चीन बर्बाद हुन्थ्यो भन्ने धारणा राख्दा रहेछन् ।

गुज प्यागोडा डुलाउने गाइडले ‘रेडिकल्स’ हरूको तीव्र निन्दा गर्दै भनेकी थिइन्– ‘चिनियाँहरूलाई एकपटक भूत सवार भएको थियो, बुद्धको साटो माओको फोटो राखेर पूजा गर्ने भूत, उनीहरू सफल भएका हुन्थे भने तिमीले आज यो प्यागोडा देख्न पाउने थिएनौ । यो उहिल्यै भत्किसकेको हुन्थ्यो ।’ र त्यो दिनको कथा सुनाएकी थिइन् कि सांस्कृतिक क्रान्ति पक्षधर रेडगार्डहरू प्यागोडा भत्काउन आउँदा यहाँका पुजारीले कसरी जोगाएका थिए ।

चीनको आर्थिक विकास हामीले साम्यवादको किताबमा पढेको जस्तो सामूहिक तथा राजकीय स्वामित्वमा हैन, ‘बजार समाजवाद’ को सिद्धान्तमा आधारित छ । सियानको एक गल्लीमा सोकेसमा जिउँदा भ्यागुता र सर्प राखेर ‘सि फुड’ को रेस्टुराँ चलाउने एक चिनियाँ त्यहाँनेर पुग्दा हामीलाई पाखुरा समातेर तानुँला जस्तो गर्दै थिए, जस्तो कि कलंकीका बस कन्डक्टर गर्दछन् । गाइड मिष्टर सिका अनुसार चीनको न्यूनतम ज्याला ५ हजार युवान मात्र छ जबकि राम्रा कम्पनीका सीईओहरूले मासिक १६० हजारसम्म तलब लिन्छन् । अर्थात् ज्यालाबाट हुने आय असमानता ३२ गुणा फराकिलो छ ।

गिनी कोफिसियन्टको वर्ल्ड इन्डेक्स अनुसार पछिल्लो दशकमा ०.४२ देखि ०.५२ सम्मको धनी र गरीबबीचको खाडल छ । चीन अमेरिकापछि सबैभन्दा बढी खर्बपति भएको देश हो, फोर्ब्स अनुसार विश्वका ४०० बढी खर्बपति चीनमा छन् ।

सियानको सडकपेटीमा प्रहरीसँग डराउँदै ठेलागाडामा स्याउ बेचिरहेकी एक महिलाको अनुहार मैले धेरै बेर नियालेर पढ्न खोजेको थिएँ । भाषा बुझ्ने भए केही सोध्ने थिएँ, सोधिनँ । सियानवासी विरलै अंग्रेजी बुझ्ने भेटिंदा रहेछन् । यहाँसम्म कि पार्टी स्कूलका अध्यापकहरू पनि कसैले एक शब्द अंग्रेजी चुहाएन । ती महिलाको अनुहारमा चिन्ताका रेसाहरू बाक्लै देखिन्थे । चिनियाँ विकासको चकाचौधभित्र शायद उनी कतै हराएकी थिइन् । ठूल्ठूला शपिङ मलको नजिक स–साना पसल गर्ने अधिकांश चिनियाँको अनुहार निन्याउरो नै देखिन्थ्यो । उनीहरू सडक पेटीमा हिंड्ने प्रत्येक मानिसलाई यसरी हेर्थे कि ऊ सम्भाव्य ग्राहक हो । पैदल यात्रु सपिङ मल नगएर उनको पसलमा पसी दिए ठूलो उद्धार हुनेवाला थियो ।

जति रिमोट दाबे पनि होटल रुमको टिभीमा बीबीसी बाहेक अरू कुनै बुझिने च्यानल आउँदैनथ्यो । फेस बुक र ट्वीटर चल्दैनथ्यो । मान्छेहरू राजनीति र प्रशासनबारे कुरा गर्न डराउँथे । करीब डेढ करोड जनसंख्या भएको सियान शहरमा चिनियाँ कम्युनिष्ट पार्टीका ५६० पार्टी सदस्य थिए, उनीहरूले मात्र राजनीति गर्न पाउँथे ।

जोहन रोयल्सका अनुसार न्यायको अर्थ ‘स्वतन्त्रता’ र ‘समानता’ को उपस्थिति हो । चीनमा राजनीतिक स्वतन्त्रता छैन भन्ने कुरा सबैलाई थाहा भएकै हो । तर, तथ्यांकले भन्छन् कि आर्थिक समानता पनि छैन । गरीबी निवारणको सफल अभिलेख पछिल्लो सात वर्षको हो, जबकि त्यहाँ साम्यवादी सत्ता स्थापना भएको ७२ वर्ष पुगिसक्यो । विशालकाय भौतिक पूर्वाधारहरू पछिल्लो दुई दशकका उपलब्धि हुन् ।

चिनियाँ मोडेलले विश्व लोकतन्त्रको भावनालाई प्रतिस्थापन गर्छ भन्ने मलाई किञ्चित विश्वास लागेन । अझै लाग्दैन । लोकतन्त्र कुनै पश्चिमा मोडेल हैन, एक विश्व भावना हो । तर, भौतिक पूर्वाधार र आर्थिक विकासको एक अनौठो मोडेल जुन चीनले विश्वसामु प्रस्तुत गरेको छ, त्यो भने निश्चय नै चात्मकारिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

ट्रेन्डिङ

Advertisment