Comments Add Comment

सत्तारुढ एमालेको प्रदर्शन : सडकबाट सर्वोच्चलाई ‘खबरदारी’

२७ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने पूर्वसंध्यामा सत्तारुढ नेकपा एमाले सडकमा आएको छ ।

भ्रातृ संगठन नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा सडकमा आएका एमालेका कार्यकर्ताले विपक्षी गठबन्धनको विरोध तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा नारा लगाए । जेठ ७ को मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ एमालेका कार्यकर्ता पहिलो पटक सडकमा आएका हुन् ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा गएको विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरुले पुत्ला जलाउने, प्लेकार्ड देखाउन जस्ता विरोध कार्यक्रम गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले भने त्यसलाई ‘कोरोना महामारी फैलाउने प्रयास’को संज्ञा दिएका थिए । तर संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चले फैसला सनाउने अपेक्षा गरिएको २८ असारको अघिल्लो दिन प्रधानमन्त्री ओलीकै समर्थनमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

यो पनि पढ्नुहोस विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

ओलीको ठूलो तस्वीर र नेपालको नक्सा झण्डासहित सडकमा आएका उनीहरुले विपक्षी गठबन्धनविरुद्ध चर्को नारा लगाए । ‘आई लभ यू केपी बा’, ‘हामी निर्वाचन चाहन्छौं’, ‘स्वतन्त्र न्यायपालिकाको रक्षा गर’ जस्ता नारा लगाए । ‘जहाँ ओली त्यहाँ एमाले’, ‘सै पनि एमाले, मै पनि एमाले’ गीत गाएर नाचगान गरे ।

आइतबार नै विपक्षी गठबन्धन र बृहत नागरिक आन्दोलन पनि सडकमा आएका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामा शंख फुकेर इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेको छ भने बृहत नागरिक आन्दोलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न माग गर्दै सिंहदरबार घेराउ गर्न पुगेको थियो ।

तर प्रधानमन्त्री ओलीले गरेको दोस्रो पटकको संसद विघटनको फैसला आउने समय नजिकिँदै गर्दा सत्तारुढ दलले सडकमा शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

जबकी एमालेमा एकताका लागि छलफलमा जुटेको कार्यदलले प्रदर्शन नगर्न निर्देशन दिएको थियो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कार्यदलको निर्देशनका कारण शनिबारका लागि तोकिएको प्रदर्शन स्थगित भएको थियो ।

तर एमालेमा सहमति जुट्न नसकिरहेका बेला भएको प्रदर्शनलाई कतिपयले यसलाई सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान गर्ने आफ्नो प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीले चालेको प्रतिक्रियात्मक कदमको संज्ञा दिएका छन् ।

एमाले कार्यलय सचिव तामाङ भन्छन्, ‘पार्टीका जुझारु कार्यकर्ताले स्वतर्सफुर्त प्रदर्शन गरेका हुन् । सबैले आफ्नो भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर खबरदारी गर्नुभएको होला । पार्टीले निर्देशन वा आदेशमा भएको होइन ।’ अर्थात पार्टीको निर्देशनमा नभएपनि अदालतलाई खबरदारी गरिएको चाहिँ हो ।

‘यस्तो नेपालमा मात्र हुन्छ’

कोरोना महामारीको बेला सडकमा आउनु प्रतिपक्षीका लागि पनि शोभनीय विषय होइन । राज्यको नियम कानून सबैले मान्नुपर्छ । तर सामान्यतः प्रतिपक्षको लागि सडक बाहेक केही हुँदैन भनिन्छ र आफ्नो असन्तुष्टि उसले सडकमा पोख्ने हो ।

एमाले सत्तापक्षीय शक्ति हो । सरकारले २५ जनाभन्दा बढी भेला हुन, सभा जुलुस जस्ता गतिविधि गर्न नपाउने गरी उपत्यकामा निषेधाज्ञा लगाएको छ । यस्तो बेला सत्तामा रहेर सडक प्रदर्शन गर्नू राजनीतिक रुपमा अनैतिक मानिन्छ । किनकी सरकार त नागरिक र सबै पक्षको असन्तुष्टि सम्बोधन गर्ने भूमिकामा हुन्छ ।

तर दुबै संसद विघटनको बेला सत्तारुढ दल सडकमा आएको छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, मान्छेहरु सडकमा आउने भनेको लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको काम हो ।’

उनका अनुसार भोलि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्नसक्छ किनकी अर्को बाटो छैन । तर सत्तारुढ दलको प्रयत्न जे फैसला आएपनि राजीनामा नदिने र आफ्नो सरकारलाई निरन्तरता दिने देखिन्छ । के–के गर्दा सरकार निरन्तर हुन्छ, त्यो सबै गर्न उहाँहरु लाग्नु भएको छ’ राजनीतिक विश्लेषक श्रेष्ठ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment