Comments Add Comment

चीनलाई भारतको जवाफ- सीमा क्षेत्रमा एकतर्फी परिवर्तन अस्वीकार्य

३१ असार, काठमाडौं । भारतले चीनलाई सीमा क्षेत्रमा एकतर्फी रुपमा गरिने परिवर्तन स्वीकार्य नहुने बताएको छ । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षीसँगको भेटमा यस्तो बताएका हुन् । चीन र भारतबीच गत वर्ष लद्दाखमा तनाव कम गर्ने सहमति भए पनि अझै पनि गतिरोध जारी रहेको जयशंकरले बताएका छन् ।

बुधबार ताजिकिस्तानमा चलिरहेको सांघाई को–अपरेसन अर्गनाइजेसनका सदस्य मुलुकका विदेशमन्त्रीहरुको बीचमा चलेको बैठकको क्रममा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

सन् २०२० को अप्रिल यता चीन र भारत दुवैले हजारौं सेना लद्दाखस्थित सीमा क्षेत्रमा खटाएका छन् । विशेषगरी सीमावर्ती ताल पाङओङ तालमा धेरै सैनिकहरु खटाइएको छ । यससँगै दुई मुलुकको तनाव पुनः बढ्न सक्ने आशंका बढेको छ । गत महिना भारतीय सञ्चारमाध्यमहरुले भारतले सीमा क्षेत्रमा पछिल्लो केही महिनामा थप पाँच हजार सेना परिचालन गरेको बताएका थिए ।

बुधबार भएको बैठकमा भने भारत र चीन दुवै मुलुकका विदेशमन्त्री दुवै पक्षलाई स्वीकार्य हुने किसिमको समाधान खोज्नुपर्नेमा सहमत भएका छन् । एकतर्फी रुपमा सीमा क्षेत्रमा कुनै पनि किसिमको कदम नचालिने वार्तापछि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाल ट्वीटरमा भारतीय विदेशमन्त्री जयशंकरले एक घण्टासम्म चलेको उक्त बैठकमा सीमाविवाद लगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment