+
+

शास्त्र, संस्कृति र पहिचानसँग जोडिएको जनैपूर्णिमा र रक्षाबन्धन

जी.एस. भण्डारी  जी.एस. भण्डारी 
२०७८ भदौ ६ गते १३:०८

आज ऋषितर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदैछन् । प्रत्येक वर्षको श्रावण शुक्लपूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदैछ ।

विशेषगरी तागाधारीहरूबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी समेत भन्ने गरिन्छ ।

खासगरी हिन्दूका सोह्र संस्कारमध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा वैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। आजको दिन पुरानो जनै फेरी ब्राह्मणद्वारा मन्त्रले शुद्ध  गरेको जनै धारण गर्ने चलन रहेको छ । तागाधारीहरूले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् ।

हिन्दू धर्मशास्त्र अनुसार जनैलाई ब्रम्हसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु  र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । पूर्णिमाको दिन जनै तथा राखी बाध्नाले देव ऋण, ऋषि ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ ।

आफ्नो कर्तव्य पालना गरौं । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ, राष्ट्र हराए हामी कहाँ रहन्छौं । त्यसैले आफ्नो जरो र किलो चिनौं, सभ्यता संस्कृतिको रक्षा गरौं ।

वैदिककालदेखि नै जनै लगाउने संस्कार भएकाहरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रुपमा लिइन्छ । अज्ञान वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्‍याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन बिहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरू गरिन्छ ।

यस पर्वमा नौ प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा ताप सञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने यस पर्व अर्थात् जनैपूर्णिमामा गुन्हु पुन्ही मनाउने प्रचलन छ ।

रक्षाबन्धन

हिन्दू धर्म अन्तर्गत मनाइने महत्त्वपूर्ण धार्मिक संस्कार  मध्ये  रक्षाबन्धन पनि एक हो। रक्षाबन्धन एउटा यस्तो पावन बन्धन हो जसले हाम्रो जीवनलाई ज्ञान, सत्य र कर्तव्यमा बाँध्छ जसले गर्दा हाम्रो जीवन सही र सुरक्षित हुन्छ साथै हामीलाई हाम्रो कर्तव्य, मर्यादाहरूको बोध गराउँछ । नेपाल यस्तो देश हो, जहाँ विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बी मिलेर बसेका छन्। भौगोलिक रुपमा पनि विविधता छ। हरेक भौगोलिक क्षेत्रमा आ–आफ्नो किसिमका चाडपर्व, सामाजिक परम्परा तथा संस्कृति नेपालको विशिष्टता हो। नेपालको पहिचान भनेकै बहु आयामिक ढंगबाट विभिन्न संस्कृति मानिनु हो ।

हाम्रा हरेक चाडपर्वहरूको उत्तिकै महत्व छ हामीले मनाइरहेका चाडवाडहरूको धार्मिक पक्ष, सांस्कृतिक पक्ष, मनोवैज्ञानिक पक्षसँग सम्बन्ध रहेको छ । चाडवाडले उत्साह उमङ्ग थपिदिएको हुन्छ भने आफन्तजनबीचको सुमधुर सम्बन्ध, भेटघाटको अवसर जुटाइदिएको हुन्छ । आफ्ना आफ्ना समयानुकूलका चाडपर्वहरूको उत्तिकै महत्व रहेको छ । यस दिन हामीले पुरोहितबाट पनि पावन धागो बाँध्छौं यो पावन धागो बाँध्नुको अर्थ हामीलाई हाम्रो जिम्मेवारीहरू प्रतिको बोध गराइएको हो– ज्ञान प्रतिको जिम्मेवारी, परिवारप्रतिको जिम्मेवारी विशेष गरेर बुबा–आमाप्रतिको जिम्मेवारी र समाज र देशप्रतिको जिम्मेवारी ।

रक्षा भनेको कवच हो भने बन्धन भनेको सूत्र । आफ्नो देह रक्षाको लागि शरीरका पाखुरा, नाडी, घाँटी, कटी आदि स्थानमा धारण गरिने अत्यन्त पवित्र, शुद्ध र वैदिक मन्त्रद्वारा पुजिएको धागो वा डोरो नै रक्षाबन्धन हो ।

वास्तवमा रक्षाबन्धनको चलन कुनै अन्य अभिप्रायबाट शुरु भएको थियो । रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु हो भने बन्धन अर्थात् कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रतालाई जोगाएर राख्न वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु, संकल्पवद्ध हुनु रक्षाबन्धनको सन्देश हो ।

जी.एस. भण्डारी 

पौराणिक कथाहरूको कुरा गर्नु पर्दा भविष्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बलिको कथा छ । ती दुई कथाहरूमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरू बीचमा जब युद्ध शुरु भयो दैत्य देवताहरूमाथि भारी पर्न थाले ।

देवताहरू युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिंदै गुरु बृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूर्णिमाको दिन थियो। मन्त्रिएको धागोका कारण देवताहरू युद्धमा विजयी भए । भनिन्छ- त्यही समयदेखि श्रीमतीहरू श्रीमान् युद्धमा जाँदा जीतको कामनासहित उनीहरूको हातमा राखी बाँध्ने चलन चल्यो । त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरूमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलिले देवताहरूसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचूर बनाउनका लागि भगवान विष्णुले अदितीको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बलि कहाँ भिक्षा मागे ।

राजा बलि महान दानवीर थिए । उनले ब्राह्मणलाई ‘जे माग्छौ दिनेछु’ भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान विष्णुले बलिसँग भिक्षामा तीन पाइला भूमिको माग गरे । बलिले ब्राह्मणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान विष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पूर्ण आकाश, पाताल र धरती नापे । बाँकी एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शिर देखाउँदै तेस्रो पाइला राख्न अनुरोध गरे ।

बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर  हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफूसँगै बस्नुपर्ने वाचा पनि लिए ।

भगवान विष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफूले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नुपर्ने बाध्यता भयो । उता लक्ष्मी पनि भगवान विष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।

नारदले बताएअनुरुप लक्ष्मीले राजा बलिलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफूसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महीनाको पूर्णिमा तिथि थियो । त्यस समयदेखि नै रक्षाबन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरूमा पढ्न पाइन्छ ।

बाल्यकालमा फर्कन मन लाग्यो । रक्षाबन्धन जस्ता चाडपर्वका दिनमा घरमा पुरेत आउने भनेर मेरो बुवाआमाहरू बिहानै उठेर नुहाईधुवाई गरेर पुरोहितलाई दिने सिदाको तयारीका साथ पुरोहितको प्रतीक्षा गर्नुहुन्थ्यो हामी पनि गर्थ्यौं । त्यसो त पुरोहितको प्रतीक्षा हाम्रो घरमा मात्र हैन हाम्रो गाउँमा नै हुन्थ्यो । पुरोहित आएर टीका लागाएर उहाँबाट पाउने आशीर्वादले उज्यालो हुन्थ्यो हाम्रो अनुहार । अझ पुरोहितले बाँधिदिएको त्यो डोरीले त सम्पूर्ण समस्याबाट रक्षा गर्छ भन्ने विश्वास थियो हामीलाई किनभने यो रक्षाबन्धन हो जसमा पण्डितले भाती पुर्याएर पढेको मन्त्रको साथ हुन्थ्यो ।

यो सबै रुढिवादी भने पक्कै हैन यो चलिआएको संस्कृति हो परम्परा हो जसले हाम्रो समाजलाई एकतामा बाँध्नुका साथै सकारात्मक ऊर्जा दिने गर्दछ । तर आज त्यो सबै सम्झनामा मात्र सीमित छ अहिले पण्डित कुरेर बस्ने भन्दा पनि मन्दिरमा पण्डितले डोरा बाँध्न आउने मानिसको प्रतीक्षा गरिरहेका हुन्छन् । अझ त्यहाँको माहोल नै यस्तो हुन्छ कि पुरोहित हैन त्यहाँ व्यापारी र ग्राहकको भीड छ जहाँ एउटा ग्राहक उम्कियो भने वा भनौं एक जनालाई धेरै समय लगायो भने अर्को छुट्ने हतारले मन्त्र उच्चारण गरेको सुन्न त परको कुरा डोरी पनि पूरा बाँध्न भ्याउँदैनन् उनीहरू । हामी आधुनिकताका नाममा कता जाँदैछौं हामीले अलिकति पनि हेक्का राखेका हुँदैनौं । जसले गर्दा आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति मासिंदै गइरहेको छ।

आधुनिकतामा बदलिंदै  गरेको रक्षाबन्धन

भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सु-स्वास्थ्यको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ । नेपाली समुदायमा रक्षाबन्धन भनेको दिदीबहिनीहरूले दाजुभाइको नाडीमा बजारमा किन्न मिल्ने अनेक थरीका रक्षा धागोहरू बाँध्ने प्रचलन बढेको पाइन्छ जसको कारण आपसमा भावनात्मक सम्बन्ध त हुन्छ तर  धार्मिक महत्त्व घट्दै छायाँमा परेको देखिन्छ । अहिले आएर रक्षा धागो बाँध्ने चलन देखासिकीको आधार राखीमा रुपान्तर हुँदैछ । हेर्दा आकर्षक राखी हाम्रो मौलिकता त पक्कै होइन तर यसमा समाजलाई आकर्षण गरेर आफ्नो व्यापार बढाउने छिमेकी मुलुकको रणनीतिले आफ्नै देशको उत्पादनशीलता, मौलिकता र संस्कृति लोप हुने स्थितिमा पुर्‍याउन नजानिंदो तवरले म र हामी आफैं जिम्मेवार छौं।

तर अर्को सबल पक्ष के छ भने वर्षमा एक चोटि आउने यो पावन पर्वलाई भाइबहिनीको अटुट सम्बन्ध, प्रेम, शुद्धता र सुरक्षाको प्रतीकको रूपमा पनि मनाइन्छ । हाम्रो परम्पराको यो यस्तो एउटा पावन पर्व हो, जो भाइ–बहिनीको स्नेहको साथसाथै हरेक सामाजिक सम्बन्धलाई मजबूत पार्दछ, त्यही भएर यो पर्वले भाइ–बहिनीलाई स्नेहको बन्धनमा जोड्ने सँग–सँगै हाम्रो सांस्कृतिक, सामाजिक सद्भावनाको महत्व पनि राख्दछ।

यस पर्वले हामीलाई महत्वपूर्ण नैतिक सन्देश दिन्छ, वास्तवमा यो पर्व निःस्वार्थ प्रेम र पवित्रताको प्रतीक हो । रक्षाबन्धनको दिन बहिनीले भाइलाई तिलक लगाउँछिन् जसको प्रतीक हो समाजको हरेकलाई मानवतासँग हेर्ने र हरेकप्रति भ्रातृत्वको भावनालाई सधैं जागृत राख्ने । त्यसपछि बहिनीले भाइलाई हातमा राखी बाँध्छिन् जसको सार हो प्रेम र पवित्रताको बन्धन साथै हरेक बहिनीले यो विश्वास लिन्छिन् कि उनको भाइले सधैं सद्गुण र सबैप्रति सहयोग गर्ने भावना राखिरहन्छन् ।

रक्षाबन्धनको अर्थ सामाजिक स्तरमा हाम्रो सबैप्रतिको मर्यादा, सोच, विचार, व्यवहारहरूको रक्षा गर्नु हो । रक्षाबन्धन भन्नाले स्वयंको रक्षा अर्थात् आफ्नो रक्षा गर्ने, हरेक प्रकारको मन र संस्कारमा जुन नकारात्मक विचार छन् त्यो विचारबाट मुक्त हुनुको साथै परिवार, समाजको सही रूपमा हाम्रो सकारात्मक सोच, विचार र व्यवहारबाट रक्षा गर्नु र स्वतन्त्रताको साथ मर्यादाको रक्षा गर्नु हो ।

आज हाम्रो वर्तमान समाजमा हामी सबैको सामु जुन खालको सामाजिक कुरीति, विकृतिहरू छन्, जस्तै हाम्रो समाजमा अहिले पनि अधिकांश रूपमा महिला दिदी–बहिनीहरू असुरक्षित छन् । जसले गर्दा हाम्रो समाजमा विभिन्न घटनाहरू घटिरहेको, महिलाहरूमाथिको हिंसा, महिला भएकै कारणले दुर्व्यवहार गरेको पाइन्छ । तर यो पर्वले हामीलाई यो बोध गराउँछ कि हामीले एकअर्कालाई सम्मानसाथ व्यवहार गर्नुपर्छ भन्ने हामीबीच जागरुकता पैदा गर्न महत्वपूर्ण छ र हाम्रो सम्बन्ध, सोच, विचार, व्यवहार, जिम्मेवारी या कर्तव्य आफू र आफ्नो परिवारसँग मात्र सीमित नभएर समाजसँग पनि गर्नुपर्छ भन्ने यो पर्वको उद्देश्य पनि हो ।

चाहे त्यो पुरुषले महिलाप्रति गर्ने सोच, व्यवहार होस् या महिलाले पुरुषप्रति गर्ने सोच, व्यवहार होस् या फेरि एउटा सन्तानले आफ्नो बुवाआमालाई गर्ने व्यवहार होस् या प्रकृतिप्रति मानिसले गर्ने जिम्मेवारी होस् । जसले गर्दा हामीले यो पावन पर्वलाई एउटा भाइ–बाहिनीको या पावन धागोको रूपमा मात्र नभएर, हामीले हाम्रो सोच, विचार, व्यवहार, भावना, एकअर्कालाई गर्ने आदर, सद्भावना, संकल्प, कर्महरूलाई सन्तुलित रूपमा राख्नुको साथै राम्रो सोच, सकारात्मक विचारहरूबाट आफू, परिवार र समाजलाई बाँध्नु हो भने नकारात्मक विचारबाट आफू, परिवार र समाजलाई सुरक्षित राख्नु पनि हो ।

व्यक्तिले व्यक्तिसँग सन्तुलित व्यवहार गरे, त्यो परिवार, समाज, राष्ट्र स्वतः नै सन्तुलित हुन्छ । यसले गर्दा सुरक्षित, समृद्ध र सुखी परिवार, समाज, राष्ट्र बन्न पुग्छ । यो व्यवहारलाई हामीले आत्मसात् गर्‍यौं भने वास्तवमा नै हामीले सही रूपमा रक्षाबन्धन मनाउने छौं । जब हामी रक्षाबन्धन, जनैपूर्णिमालाई आज हरेक धर्म वा जाति वर्गमा समान रीतिले यसभित्र लुकेको पवित्रता एवं स्नेह भावनाले प्रेरित भई सबैको रक्षा गर्दछौं र अरुबाट समेत गराउँछौं, तब यो सृष्टिमा सुख शान्ति अनि समृद्धिको हरियाली देख्न सकिनेछ । यस धरतीलाई पुनः रामराज्य अर्थात् स्वर्ग बनाउने महान् योजनामा हामी सबै सहभागी बन्न सक्नेछौं ।

आफ्नो कर्तव्य पालना गरौं । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ, राष्ट्र हराए हामी कहाँ रहन्छौं । त्यसैले आफ्नो जरो र किलो चिनौं, सभ्यता संस्कृतिको रक्षा गरौं ।

रक्षाबन्धन र जनैपूर्णिमाको पावन अवसरमा समस्त मानव आत्माहरूमा भौतिक, आध्यात्मिक, सामाजिक तथा सर्वपक्षीय उन्नति प्रगति हुँदै जाओस् । परिवारमा एकता, सद्भाव एवं बसुधैव कुटुम्बकमको भावना विकसित गर्ने प्रेरणा जागोस् । सबैको कल्याण होस् । वर्तमान महामारी (कोभिड-१९) विरुद्ध मानसिक रूपमा लड्ने क्षमता जागोस् ।

(पौराणिक कथाको स्रोतः– विभिन्न धार्मिक ग्रन्थ)

(लेखक भण्डारी सामाजिक संस्था हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?