+
+

समय फल्चा ब्यूँताउने प्रयासमा अझै अवरोध

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ भदौ ६ गते १९:३३

६ भदौ, काठमाडौं । गत बिहीबार बिहान करिब ८ बजे ललितपुरको पुल्चोकस्थित ‘समय फल्चा’ (पाटी) पुनर्निर्माण शिलान्यासको कार्यक्रम थियो ।

५ दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बन्ने खबरका कारण स्थानीयबासी पनि पुल्चोकको अशोक स्तुप नजिक जम्मा भएका थिए ।

तर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याएको खबरले उनीहरु निराश बने । मेयर महर्जनले फल्चाको शिलान्यास रोक्न जिल्ला अदालतबाट ‘अन्तरकालीन आदेश’ आएको जानकारी दिए । फल्चा नबनाउन माग गर्दै अदालत गएको थियो, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ।

महानगरका अधिकारीहरुका अनुसार समय फल्चा बनाउन कानूनी लडाइँ लड्न थालेको झण्डै दुई दशक हुनलाग्यो । तर, कहिले अदालतको अन्तरिम आदेश त कहिले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको आदेश बाधक बन्यो ।

अदालतदेखि गृह प्रशासन सबैतिरबाट अनुमति पाएपछि महानगरले बिहीबार फल्चा शिलान्यास गर्ने कार्यक्रम राख्यो । तर बुधबार साँझ जिल्ला अदालत, ललितपुरले तत्काल काम अघि नबढाउन अन्तरकालीन आदेश दियो ।

अहिले लालीगुराँस सहकारीले भने अदालतमा मुद्दा दिनुका साथै राजनीतिक लबिङ समेत गरेको छ ।

दुई दशकदेखिको अड्चन

महानगरपालिकाकाअनुसार अशोक स्तुपसँगैको कित्ता नं. ३२७ मा पुनर्निर्माण गर्न खोजिएको समय फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा हो । त्यहाँ रहेको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

‘समय‌ फल्चा पाटी पुनर्निर्माण समिति’ले २०५७ सालमा पुनर्निर्माणको काम शुरु गर्न खोजेको थियो । पुरातत्व विभागको सिफारिस र जिल्ला प्रशासन कार्यलयको सहमतिका आधारमा तत्कालिन ललितपुर उपमहानगरपालिकाले पाटी पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । तर पाटीसँगै जग्गा भएका जग्गाधनी अनिलराज भण्डारीले तत्कालिन पुनरावेदन अदालत, पाटनमा यो निर्णयविरुद्ध मुद्दा दायर गरे । १० भदौ २०६० मा अदालतले भण्डारीको रिट खारेज गर्‍यो ।

भण्डारीले सर्वोच्च अदालत पनि गए । फाल्चा निर्माण गर्नु सार्वजनिक सडक ऐन २०१९, स्थानीय स्वायत्त शासन ऐन, मुलुकी ऐन र काठमाडौं उपत्यका नगर विकास समितिको मापदण्ड २०५० विपरीत भएको उनको जिकिर थियो । तर सर्वोच्चले १९ साउन २०६५ मा उनको दाबी स्वीकार गरेन र साबिकको पाटी पुनर्निर्माण गर्दा आपत्ति गर्ने हक निवेदकलाई नभएको बतायो ।

फैसला नआउँदै यो जग्गा लालीलगुराँस सहकारीले किन्यो । उसले आफ्नो आफ्नो भवनअघि ‘पार्किङ स्थल’ का रुपमा प्रयोग गर्न पाएको भागलाई खाली राख्न कहिले राजनीतिक लबिङ/भनसुन तथा कहिले मुद्दा मामिला गरेर फल्चा ब्युँताउने योजनामाथि अवरोध गरिह्यो ।

प्रमाणलाई फोटो नै पर्याप्त

२०७४ सालको चुनावबाट जनप्रतिनिधिहरु आएपछि फेरि फल्चा पुनर्निर्माणको प्रयास सुरु भयो । ललितपुर महानगरको नगरसभाले पाटी पुनर्निर्माणका लागि आर्थिक वर्ष ०७७/०७६ मा बजेट विनियोजन गर्‍यो ।

तर लालीगुराँस सहकारीका सेयर होल्डर अमृतकुमार अर्यालले फेरि उच्च अदालत, पाटन गए । अदालतले भने अन्य पाटीहरुको सीमा रेखासँग समानान्तर हुने गरी समय फल्चा बन्ने देखिएकाले अन्तिरम आदेश जारी गरिरहनुनपर्ने फैसला गर्‍यो ।

मेयर महर्जनका अनुसार फल्चा पुनर्निर्माण गर्न रोक्न नहुने निष्कर्षमा अदालत पुग्न एउटा पुरानो फोटो सहयोगी बन्यो । ‘हामीले न्यायधीशज्यूलाई इजलासमै अशोक स्तुप वरपरको सबै भाग देखिने पुरानो तस्वीर देखायौं,’ मेयर चिरिबाबु महर्जन भन्छन्, ‘त्यही फोटोको आधारमा हामीले मुद्दा जित्यौं ।’

तर लालीगुराँस सहकारीका स्थानीय कर्मचारीहरु समेत निवेदक भई सर्वोच्च अदालतमा निवेदन पर्‍यो । उनीहरुको उही माग थियो, पाटी पुनर्निर्माण रोक्का गरी पाऊँ । महानगरले पनि त्यही फोटो पेश गर्‍यो । र १७ साउनमा सर्वोच्चले फल्चा बन्ने जग्गा पुल्चोक–जावलाखेल मूल सडकभित्र नपर्ने र पाटी पुनर्निर्माण गर्दा सडक पेटी (पैदल मार्ग) मा असर पर्ने अवस्था नरहेको ठहर गर्‍यो ।

‘मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरी सडक मापदण्ड विपरीत नहुने गरी सत्तल (पाटी) निर्माण गर्न लागेको विषयमा सो कार्य हुन दिनबाट रोक्ने गरी अन्तरिम आदेश जारी गर्न मिलेन, नियमअनुसार गर्नू’ सर्वोच्चले आदेशमा भनेको छ ।

अदालतको एकपछि अर्को फैसलापछि पनि लालीगुराँस सहकारीले फाल्चा पुनर्निर्माणमा अवरोध गर्दै आएको छ । मेयर महर्जनका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार भन्दै जिल्ला प्रशासन कार्यालयले नै फल्चा निर्माण नगर्न निर्देशन दिएको थियो । ‘हामीले गृह सचिवलाई भेटेर फेरि अशोक स्तुप वरपरको पुरानो फोटो देखायौं । त्यसपछि फेरि निर्देशन फुकुवा भयो,’ उनले सुनाए ।

मेयरको प्रतीज्ञा

अदालतदेखि गृह प्रशासन सबैतिरबाट अनुमति पाएपछि महानगरले बिहीबार फल्चा शिलान्यास गर्ने कार्यक्रम राख्यो । तर बुधबार साँझ जिल्ला अदालत, ललितपुरले तत्काल काम अघि नबढाउन अन्तरकालीन आदेश दियो । ‘फेरि पनि हामी अदालतमा गएर त्यही फोटो देखाउँछौं,’ उनी भन्छन्, ‘केही दिन त त्यसले अलमल होला, तर यहाँ जसरी पनि समय फल्चा बन्छ ।’

मूल सडक र पैदलमार्ग यथावत् रहने गरी फल्चा बन्ने उनले बताए । सहकारीले पैसाको भरमा फाल्चा निर्माणमा अवरोध गर्दै आएको भन्दै उनी भन्छन्, ‘हामीसँग प्रमाण छ र सम्पदा जोगाउने भीष्मप्रतीज्ञा छ ।’

लालीगुराँस सहकारी भने सम्पदा संरक्षणको नाममा महानगरपालिकाले दुःख दिएको आरोप लगाएको छ । ‘हामीले यहाँ सम्पत्ति किन्दा कुनै पाटी थिएन, सरकारबाटै स्वीकृति लिएर भवन बनाएका हौं,’ सहकारीका एक अधिकारी भन्छन्, ‘अहिले अगाडि ल्याएर पाटी बनाउने काम गलत हो ।’

कस्तो थियो समय फल्चा ?

लालीगुराँस सहकारीको यस्तो दावीमा स्थानीयबासी सहमत छैनन् । ७५ वर्ष उमेर काटेका पुल्चोकका स्थानीय श्यामकृष्ण महर्जनका अनुसार अशोक स्तुपसँगै सडक किनारमा ‘समय फल्चा’ थियो । यो फल्चा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा विशिष्ट उपयोग गरिन्थ्यो ।

मच्छिन्द्रनाथको रथ तान्न प्रयोग हुने ‘घमा’ राखिने लामोपाटी र अशोक स्तुपसँगैको नमसङ्गाती फल्चाको बीचमा समय फल्चा थियो, जहाँ रथयात्राका बेला ‘समयबजी’ खुवाउने गरिन्थ्यो । विसं २०२९ तिर भत्किएको यो फल्चा फेरि उठेन । बरु वरपर अग्ला घरहरु बने ।मेयर महर्जन अहिले फल्चा बनाउन खोज्दा भएको अवरोधलाई सम्पदामाथिकै अतिक्रमणका रुपमा ब्याख्या गर्छन् । भविश्यमा फल्चा बन्छ भन्ने थाहा पाउँदापाउँदै जग्गा किनेर घर बनाइएको र अहिले अनेक बहानामा झेली गर्न खोजिएको उनले बताए ।

‘म फल्चा बनाउन जहाँ जहाँसम्म जानुपर्ने हो जान्छु, हामीले अदालतको सम्मान गर्न शिलान्यास नगरेका हौं,’ ललितपुरका मेयर महर्जन भन्छन्, ‘केही दिन काम रोकिएर फरक पर्दैन, हामी यो फल्चा नबनाई छाड्दैनौं ।’

महानगरपालिकाले फल्चा बनाउन ३० लाख बजेट छुट्याएको छ । स्थानीयले पनि फल्चा व्यवस्थापनका लागि पैसा उठाएका छन् । आगामी माघे संक्रान्ति अगावै फल्चालाई पुरानै स्वरुपमा फर्काउने योजना छ । तर फेरि पनि अवरोध हुन्छ वा फल्चा बन्छ, त्यो यसै भन्न सकिने अवस्था छैन ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?