
कोरोना महामारीको कारण बालबच्चा घरभित्र कैद छन् । उनीहरुको शारीरिक गतिविधि घटेको छ । अर्कोतिर अनलाइन कक्षाका साथै गेमिङ र सामाजिक सञ्जालले उनीहरुको ‘स्क्रिन टाइम’ बढाइदिएको छ । यसले उनीहरुमा मोटोपन र अन्य दीर्घ रोगको समेत जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
डा. सुभाना थापा कार्की महाराजगञ्जस्थित कान्ति अस्पतालकी वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनी पछिल्लो समय बच्चामा हुने मधुमेहको संख्या बढेको र कोरोनाको समयमा त्यो आँकडा झनै बढेको बताउँछिन् । तर यति नै संख्यामा बढ्यो भन्न सक्ने तथ्यांक भने तयार नभइसकेको उनको भनाइ छ । विगतमा मधुमेह बुढापाकाको रोग भन्ने गरिन्थ्यो । अहिले भने युवा मात्र होइन, बालबच्चासमेत यसबाट सताइएका छन् । अझ कोभिड कालमा मधुमेह ग्रस्त बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।
थापाका अनुसार पहिले पहिले बच्चाहरुमा मधुमेहको समस्या थोरैमात्रामा हुने गर्थ्यो। तर अहिले बच्चामा टाइप १ र टाइप २ मधुमेहका बिरामीहरु बढी देखिने गरेका छन् । अनुपातको हिसाबमा हेर्दा पछिल्लो समय बच्चाहरुमा टाइप १ मधुमेहका संख्या ८०-९० प्रतिशत छ भने बाँकीमा टाइप टु मधुमेह देखिन्छ ।
बच्चाहरुमा टाइप टु मधुमेहको समस्या पनि हुन्छ । बच्चामा हुने कुल मधुमेहमा टाइप टुको हिस्सा १० देखि २० प्रतिशतको हाराहारीमा छ । यो समस्या बढीजसो मोटा बच्चाहरुमा देखिन्छ ।
कोरोना महामारीको समयमा किन मधुमेहका बिरामीहरु थपिए त ? डा. कार्की भन्छिन् ‘सामान्यतया कोरोना महामारी र मधुमेहको बीचमा प्रत्यक्ष सम्बन्ध छैन । मधुमेह, दादुरा जस्ता समस्या हुनेहरुलाई भाइरल इन्फेक्सनको बेलामा ती समस्या बढेर जाने गर्छ । तर मधुमेह र कोभिडको सम्बन्धको बारेमा अध्ययन नभए पनि कोभिडले पनि भाइरल इन्फेक्सनमा जस्तै मधुमेह भएका बच्चाहरुमा जोखिम बढाएकोले हुन सक्छ, यसका बिरामीको संख्या बढेको छ ।’
मधुमेहको जोखिम
मधुमेहले एकैपटक ठूलो असर नगरे पनि बिस्तारै बिरामीलाई गम्भीर समस्यातिर धकेल्दै लैजान्छ । त्यसैले कतिपयले यसलाई साइलेन्स किलरको रुपमा पनि मान्ने गर्छन् । थापाका अनुसार टाइप वान डायबिटिज इन्सुलिन हर्माेनको मात्राको कमीले निम्तिने समस्या हो भने टाइप टु डायबिटिज इन्सुलिनले पर्याप्त काम गर्न नसक्दा उत्पन्न हुने समस्या हो । अर्थात् टाइप वान डायबिटिजमा इन्सुलिन कम उत्पादन हुन्छ । तर टाइप टु मधुमेहमा इन्सुलिन उत्पादन हुन्छ तर त्यसले राम्रो काम गर्न सक्दैन ।
धेरै चिनी खाँदा मधुमेह हुन्छ ?
धेरैलाई लाग्न सक्छ चिनी धेरै खाँदा मधुमेह लाग्न सक्छ । मधुमेहका बिरामीले गुलियो खानेकुरा खानु हुँदैन भन्ने मान्यताका कारण चिनी धेरै खाँदा मधुमेहको जोखिम बढी हुन्छ भन्ने आम धारणा देखिन्छ । तर डा. कार्की भने चिनी धेरै खाएर मधुमेह हुन्छ भन्नु भ्रम रहेको बताउँछिन् । यद्यपि मधुमेह लागिसकेपछि भने चिनी र गुलियो खानेकुरा नियन्त्रण गर्नै पर्छ ।
मधुमेह भएपछि गुलियो खानै हुन्न ?
मधुमेहलाई समयमा नियन्त्रण नगर्ने हो भने आँखामा असर देखिने, मृगौलामा, मुटु, नशा आदिमा गम्भीर समस्या समेत सिर्जना हुन सक्छ । तर यस्तो जोखिमयुक्त रोग लागेपछि जीवनभर गुलियो खानै हुँदैन त ? डा. कार्की भन्छिन् ‘मधुमेह भएका बच्चालाई आवश्यक मात्रामा क्यालोरीको सन्तुलन मिलाउनु पर्छ । मधुमेह भएपछि गुलियो खानै हुन्न भन्ने होइन । तर क्यालोरी सन्तुलन मिल्नेगरी थोरैमात्रामा खाँदा समस्या हुँदैन । यसबाहेक टाइप १ मधुमेहमा इन्सुलिनको उत्पादन नै कम हुने भएकोले जीवनशैलीमा ध्यान दिँदैमा मधुमेह कम हुन्छ वा निको हुन्छ भन्न सकिँदैन । तर मोटोपनाको समस्याका कारण सिर्जना हुने टाइप २ मधुमेहमा भने जीवनशैलीमा ध्यान दिँदा धेरै हदसम्म कमी ल्याउन सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4