Comments Add Comment

हरित बिजुली बन्न सक्छ पेट्रोल डिजेलको विकल्प ?

काठमाडौं । सन् २०१९ को सेप्टेम्बर महिना थियो । अमेरिकाको मेरिल्याण्डस्थित टकोमा पार्कमा रहेको एक ग्यास स्टेसनलाई विद्युतीय गाडी चार्ज गर्ने केन्द्रमा परिणत गरियो ।

अमेरिकामा यो यसप्रकारको पहिलो चार्जिङ स्टेशन थियो । त्यहाँ एउटा गाडीलाई पूर्णरुपमा चार्ज गर्नका लागि आधा घण्टाको समय लाग्न सक्दछ, तर त्यसको मूल्य १० डलर मात्र पर्छ ।

जुन समयमा हरीतगृह ग्यासको उत्सर्जन कम गर्नका लागि पूरै विश्व कोइला तथा तेल जस्ता जिवाश्म इन्धनको विकल्पको खोजी गरिरहेको छ, त्यस समयमा त्यो स्टेशनले एक नयाँ मार्गप्रसस्त गरेको छ । तर संसारका कैयन् देशमा बिजुली प्राप्त गर्नु पनि ठूलो चुनौतिको विषय हो ।

चुनौतिहरु

कार्डिफ विश्वविद्यालयका प्राध्यापक निक जेन्किन्स नविकरणीय ऊर्जा विषयका विशेषज्ञ हुन् । उनले पछिल्लो ४५ वर्षदेखि इलेक्ट्रिकल इन्जिनियरको रुपमा काम गरिरहेका छन् ।

विद्युतीय कार खरीद गर्नेको मनमा एउटा चिन्ता हुन्छ कि एकपटक गरेको चार्जले आफ्नो यात्रा पूरा हुन्छ कि हुँदैन होला ? कहिं बीच बाटोमै फसिने त होइन ? मानिसहरु यो प्रविधि प्रयोगमा अभ्यस्त भएर सोंचमा परिवर्तन भएपछि चाहिं यस दिशामा सुधार आउने छ ।

प्राध्यापक निक जेन्किन्सको उमेर जब २० वर्षको थियो उनले त्यस समय पाकिस्तानबाट टुक्रिएर बनेको नयाँ देश बंगलादेशमा केही दिन काम गरेका थिए । आफ्नो उक्त अनुभवका आधारमा निक भन्छन्– बिजुलीको मामिलामा संसारका विभिन्न ठाउँहरु एक अर्काबाट निकै फरक छन् ।

उनी भन्छन्–  बंगलादेश जानुभन्दा अगाडि म उत्तरपूर्वी इंगल्याण्डको एक रसायन कारखानामा बिजुली आपूर्ति सम्बन्धी काम गर्दथें । त्यो कारखाना निकै ठूलो थियो । त्यो कारखाना जुन क्षमताको साथ तयार भैरहेको थियो त्यसको क्षमता पूरै बंगलादेशको बिजुली क्षमता भन्दा पनि धेरै थियो ।

तथ्यांक अनुसार बेलायतमा हाल हरेक वर्ष ३२६ टेरावाट घण्टा बिजुलीको खपत हुन्छ । उता बेलायतभन्दा साढे २ गुणा धेरै जनसंख्या भएको बंगलादेशको विद्युत खपत चाहिं ७५ टेरावाट घण्टा प्रतिवर्ष छ  । एक टेरावाट घण्टामा १ ट्रिलियन वाट हुन्छ । प्राध्यापक निकका अनुसार बेलायतमा हाल ऊर्जाको कुल खपतमा बिजुलीको हिस्सा केवल २० प्रतिशत मात्रै छ ।

जिवाश्म इन्धनमा निर्भरता घटाउनका लागि हरित बिजुलीको उत्पादन बढाउने विषयमा चर्चा हुन्छ । तर यो मार्गमा कैयन् बाधाहरु छन् ।

निक जेन्किन्स भन्छन्– पहिलो चुनौति त यसको निर्माण नै हो । यसको नविकरणीय ऊर्जाबाट बिजुली निकाल्नका लागि ठूलो संख्यामा उपकरणहरु जडान गर्नुपर्ने हुन्छ । विद्युत प्रणालीलाई नियन्त्रण गर्न पनि कठीन हुन्छ । बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने वा वितरण गर्ने काम पनि चुनौतिपूर्ण छ । हामीले ४० भन्दा धेरै वर्षमा जुन कुरा निर्माण गर्यौं त्यसलाई नयाँ रुप दिनु पर्दछ र विस्तार गर्नुपर्दछ । त्यो सबैभन्दा ठूलो चुनौति हो ।

उनका अनुसार आवश्यकता अनुसार क्षमता बढाउनका लागि धेरै मोटो तार आवश्यकता पर्नेछ । त्यसलाई जमिनमुनि गाड्नु पनि सजिलो काम होइन । सबैकुरा बिजुलीबाट चल्ने भयो भने पिक टाइममा बिजुली खपत उच्च हुनेछ । फेरि बिजुली भण्डारण गर्नुपनि ठूलो चुनौतिको काम हो । माग बढेसँगै आपूर्ति पनि बढाउनु पर्ने हुन्छ । सिस्टममा सन्तुलन नहुँदा सबै कुरा असफल हुन्छ ।

निक भन्छन्– आम रुपमा यस्तो समस्याको समाधान गर्नका लागि जिवाश्म इन्धनको आवश्यकता अनुसार कम वा बढी प्रयोग गरेर गर्ने गरिन्छ । कोइला तथा तेल ऊर्जाको ठूलो भण्डार हो र यो प्रयोगका लागि पनि सहज हुन्छ । चाहेको बेला यसको प्रयोग गरी ऊर्जा प्राप्त गर्न सकिन्छ । तर नविकरणीय ऊर्जाको यसरी चाहेको बेला मात्रै उत्पादन तथा प्रयोग गर्न सकिँदैन । साथै नविकरणीय ऊर्जाको उत्पादन मौसममा पनि भर पर्दछ, जस्तै हावा र सूर्यको प्रकाश ।

यद्यपि यस्तो अवस्थामा ब्याट्री उपयोग गर्न सकिन्छ । तथापि यसमा पनि ठूलो चुनौति रहेको उनी बताउँछन् । उनका अनुसार बेलायतमा सबैभन्दा ठूलो ब्याट्री कारखाना १ सय मेगावाटको छ । जबकि जिवाश्म इन्धनबाट चल्ने एक औसत पावर स्टेशनको क्षमता दुई हजार मेगावाट छ ।

अफ्रिकाको समस्या

अफ्रिकामा क्रियाशील क्लिन टेक हबका सहसंस्थापक इफोमा मालोले सन् २०२० मा पावर लिडरसीप अवार्ड जितिन् । नाइजेरियामा बस्ने मालो अफ्रिकी देशहरुको विद्युतसँग सम्बन्धित चुनौतिहरुसँग परिचित छिन् । उनका अनुसार नाइजेरियामा केवल ५५ प्रतिशत मानिसमा मात्र विद्युतको पहुँच छ ।

विश्वव्यापी एक आँकडा अनुसार अहिलेपनि विश्वका ७७ करोड मानिस विद्युत पहुँच भन्दा बाहिर छन् । त्यसमध्ये ५८ करोड अफ्रिकामा बस्दछन् । अफ्रिकामा बिजुलीको पहुँच भएका मानिसहरु मध्ये अधिकांशले जिवाश्म इन्धनबाट उत्पादित बिजुली उपयोग गर्दछन् ।

मालोका अनुसार नाइजेरिया विश्वमा सबैभन्दा धेरै जेनेरेटर आयात गर्ने देश हो । त्यसले पनि आफ्नो मुलुकको विद्युतको अवस्था कति खराब छ भन्ने देखाउने उनी बताउँछिन् ।

तथ्यांक अनुसार नाइजेरियामा जेनेरेटरमा उपयोग हुने तेलका लागि हरेक वर्ष १२ अर्ब डलर खर्च हुने गरेको छ ।

इफोमाका अनुसार आधारभूत संरचनाहरु, स्वास्थ्य सेवा, शिक्षा लगायतका क्षेत्रहरुमा विद्युतको आपूर्तिले ठूलो प्रभाव पार्दछ । विद्युत अभावकै कारण नाइजेरियामा कोभिड १९ विरुद्धको भ्याक्सिनेसनमा पनि समस्या उत्पन्न भयो । खोपलाई राख्न चाहिने कोल्ड चेक तयार पार्न बिजुली अभाव भयो ।

बिजुली कम खपत हुने गाउँ तथा स–साना बस्तीहरुसम्म विद्युत आपूर्ति गर्ने आफ्नो कोसिस रहेको उनी बताउँछिन् । यसका लागि सौर्य ऊर्जाको माइक्रो तथा मिनीग्रिडको प्रयोग भैरहेको छ । यसबाट कुनै ठाउँको करीब २ सय घरसम्म बिजुली पुर्याउन सकिन्छ र फोन तथा ल्यापटप समेत चार्ज गर्न सकिन्छ । घरमा बिजुली बल्दछ र स–सानो व्यापार व्यवसाय पनि चल्दछ ।

इन्टरनेसनल इनर्जी एजेन्सीको हालैको एक रिपोर्ट अनुसार विकासशील देशहरुले यो दशकको अन्त्यसम्ममा स्वच्छ ऊर्जामा बर्सेनि ७ गुणा खर्च बढाउनु पर्नेछ । इफोमाका अनुसार यदि धेरैभन्दा धेरै मानिसमा बिजुलीको पहुँच पुग्यो भने व्यवसाय पनि धेरै सुरु हुन्छन् र सरकारलाई कर तिर्नेको संख्या पनि बढ्नेछ । यसले देशको विकास पनि तीव्र गतिमा हुन्छ ।

यातायात क्षेत्रको चुनौति

अमेरिकाको कोलोराडोस्थित नेशनल रिन्युएबेल इनर्जी ल्याबका वरिष्ठ शोधकर्ता मात्तेओ मरातोरीका अनुसार ऊर्जा विविधताको मामिलामा परिवहन क्षेत्रमा सबैभन्दा कम काम भएको छ । यो क्षेत्र धेरै हदसम्म पेट्रोलियम ऊर्जामा निर्भर छ । संसारमा परिवहन क्षेत्रमा खपत हुने कूल ऊर्जाको ९० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थबाटै प्राप्त हुन्छ । अमेरिकामा त यसको हिस्सा ९५ प्रतिशत छ ।

उनका अनुसार अमेरिकामा कार्वनडाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो श्रोत नै परिवहन हो ।

विद्युतीय कार तथा विद्युतबाट चल्ने अन्य सवारी साधनहरुले यो दिशामा परिवर्तनको मार्गदर्शन गर्न सक्दछन् । तर अमेरिकामा अहिलेपनि कूल कारमध्ये केवल २ प्रतिशत मात्रै विद्युतीय कार छन् । संसारमा अहिले जतिपनि विद्युतीय कारहरु प्रयोगमा छन् त्यसको आधा त चीनमा मात्रै छन् । विद्युतीय कार कम हुनुको कारण हो यसको खरीदको बाटोमा रहेको एक मनोवैज्ञानिक अड्चन ।

विद्युतीय कार खरीद गर्नेको मनमा एउटा चिन्ता हुन्छ कि एकपटक गरेको चार्जले आफ्नो यात्रा पूरा हुन्छ कि हुँदैन होला ? कहिं बीच बाटोमै फसिने त होइन ?

मानिसहरु यो प्रविधि प्रयोगमा अभ्यस्त भएर सोंचमा परिवर्तन भएपछि चाहिं यस दिशामा सुधार आउने मात्तेओको भनाइ छ । उनका अनुसार यदि चार्जिङसँग सम्बन्धित चिन्ताको समाधान भयो भनेपनि स्थितिमा परिवर्तन आउन सक्दछ ।

कार र बसहरु विद्युतबाट चल्ने भैसक्दा के ठूला ट्रक तथा कार्गो जहाजहरु पनि बिजुलीबाट चल्न सक्दछन् ?

मुरातोरीका अनुसार भविष्यमा परिवहनका लागि अनेक खालका प्रविधि तथा उपायहरु अपनाइनेछ । उदाहरणका लागि हाइड्रोजन तथा बायो फ्यूल विकल्प बन्न सक्दछ ।

बायो फ्युल तथा ग्रिन हाइड्रोजन तयार गर्नका लागि पनि बिजुली आवश्यक पर्दछ । प्रश्न विमानहरुको विषयमा पनि छ । हवाई इन्धनबाट हुने कार्वन प्रदूषणका लागि दिगो उड्ययन इन्धनको एक विकल्प हुन सक्दछ ।

उनका अनुसार हाइड्रोजन वा बायो फ्यूलको माध्यमबाट हरित बिजुली तयार गरेर अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । पूरै परिवहन क्षेत्रमा पेट्रोलियमको साटो स्वच्छ ऊर्जाको विकल्प खोजी गर्न सकिन्छ ।

भरोसायोग्य विकल्प

कोलम्बिया विश्वविद्यालयको सेन्टर अन ग्लोबल इनर्जी पोलिसीका अनुसन्धान सहायक क्रिस्टन स्मिथले ऊर्जा प्रणालीलाई कार्वनमुक्त बनाउने विषयमा अनुसन्धान गरिरहेका छन् ।

विश्वले कार्वन उत्सर्जन घटाउने प्रयासको रुपमा बिजुलीमा ध्यान दिइरहेको छ । अहिलेसम्म हरित बिजुली उत्पादनका लागि वायु टर्बाइन, सोलार प्यानल, जियोथर्मल तथा आणविक ऊर्जा प्रविधि उपलब्ध छन् । यी विकल्पहरुबाट कोइला तथा तेलको प्रयोगलाई चरणबद्ध रुपमा हटाएर उत्सर्जन घटाउन सहयोग मिलेको छ । तर प्रविधिसँगै भौगोलिक स्थितिमा पनि ध्यान दिनु आवश्यक छ ।

स्मिथ भन्छन्– कुनै ठाउँमा पानीको स्रोत हुन्छन् भने कुनै ठाउँमा हुँदैनन् । पानी तथा सूर्यको प्रकाशबाट चल्ने संयन्त्रहरुको कामयावी पनि उक्त भौगोलिक क्षेत्रको अवस्थामा निर्भर गर्दछ कि त्यहाँको मौसम तथा प्राकृतिक स्रोतको अवस्था कस्तो छ । त्यसबाटै तय हुन्छ कि तपाईं कार्वन उत्सर्जनलाई कुन हदसम्म रोक्न सक्नुहुन्छ ।

यसको अर्थ एसिया, अमेरिका तथा युरोपमा समाधान अलग–अलग हुन सक्दछ । एक देशको अलग–अलग ठाउँमा पनि भौगोलिक अवस्था फरक हुन सक्दछ । एउटै प्रविधिले सबै ठाउँमा काम नगर्न सक्दछ । ठूलो सोलार फार्म तयार गर्नका लागि धेरै खाली जमिन चाहिन्छ । घना वस्ती भएको ठाउँमा ठूलो सोलार प्यानल राख्न सम्भव हुँदैन ।

त्यस्तै औद्योगिक क्षेत्रको आवश्यकता फरक हुन्छ । कुनै उद्योगमा अति उच्च तापक्रमको आवश्यकता पर्दछ । उदाहरणका लागि स्टिल बनाउनका लागि ११ सय डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । सिमेन्ट क्षेत्रका लागि १४ सय सेल्सियस आवश्यक हुन्छ । यतिधेरै तापक्रम प्राप्त गर्नका लागि बिजुलीको व्यवस्था गर्नु निकै महँगो हुनसक्दछ ।

संसारलाई विजुलीको सहयोगमा अगाडि बढाउन तथा हरितगृह ग्यासको उत्सजर्न पूर्णरुपमा रोक्नका लागि केही आवश्यक प्रविधिहरु पहिलेदेखि नै उपलब्ध छन् । तर मुख्य आवश्यकता भनेको सही ठाउँमा सही विधिको अबलम्बन गर्नु र सिस्टमलाई सन्तुलनमा ल्याउनु हो । यसका लागि लगानी, सही राजनीतिक सोंच र पर्याप्त स्रोत साधनको आवश्यकता पर्दछ ।

सायद यति हुँदा पनि हरेक ठाउँमा प्रयोगयोग्य तथा सस्तो बिजुली प्राप्त नहुन सक्दछ । यस्तोमा क्लिन हाइड्रोजन तथा बायो फ्युलले केही हदसम्म आवश्यकता पूर्ति गर्न सक्दछ । हामी सबैले बुझ्नैपर्ने कुरा के छ भने अहिलेपनि संसारका करोडौं मानिसहरु प्रदूषणरहित स्रोतबाट सस्तो बिजुली प्राप्त गर्नका लागि प्रतिक्षा गरिरहेका छन् ।

–बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment