Comments Add Comment
प्रचण्डलाई पत्र :

अध्यक्ष प्रचण्ड ! तपाईं किन यस्ता कुरा गरिरहनुभएको छ ?

श्रद्धेय अध्यक्ष क. प्रचण्ड, अभिवादन

कुशल रही कुशलताको कामना गर्दछु ।

प्रत्यक्ष भेटेर छलफल, कुराकानी नभएका हैनन् । पत्र नै किन लेख्न परेको होला भनेर तपाईंको मनमा प्रश्न उब्जेला । भेट हुँदा मेरो प्रस्तुतिले विषयको गम्भीरता प्रष्ट्याउन नसक्ला या तपाईंको व्यस्तताले मेरा विषय प्राथमिकतामा नपर्न सक्छ । त्यसैले पत्राचारको माध्यम रोजेको हुँ ।

आमालाई क्यान्सर रोग देखिएपछि उपचारको सिलसिलामा पाँच महीनादेखि काठमाडौंमै बस्दै आएको छु । आमाको हेरचाह बाहेक प्रशस्तै फुर्सद हुने हुँदा सामाजिक सञ्जालमा अलि बढी अपडेट भएको छु ।

माओवादी आन्दोलनको विगत, वर्तमान र भविष्यका विषयमा केही छलफल गर्ने प्रयास गर्दैछु । तपाईंलाई उपयुक्त समयमा पढ्न र विषयवस्तुको गाम्भीर्य बुझ्न सहज होस् भनेर पत्राचारको विधि अपनाएको हुँ ।

नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व सफलतापूर्वक निर्वाह गर्दै राज्यको महत्वपूर्ण परिवर्तन गर्न सफल नेता तपाईं नै हो । वर्तमान व्यवस्थाको स्वामित्व तपाईं र तपाईंले नेतृत्व गरेको पार्टी, शहीद, बेपत्ता, घाइते, अपाङ्ग, जेलनेल खाने सयौं योद्धा, प्रत्यक्ष युद्धमा सहभागी हजारौं योद्धा अनि परिवर्तनगामी लाखौं जनसमुदाय नै हुन् ।
विश्वमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला तपाईंको नेतृत्वमा मौलिक विचारको विकास र प्रयोग गर्दै पार्टीभित्रको अन्तरसंघर्ष र सामन्तवादसँगको वर्ग-संघर्षलाई सफलतामा पुर्‍याउनु हामी सबैको गर्वको विषय हो ।

विषयवस्तुको प्रस्तुति, समस्याको पहिचान, प्रष्ट र सिलसिलेवार वक्तृत्वकला, वैचारिक विश्लेषण सुन्दा प्रशंसायोग्य छ । आज हामी कार्यकर्ता हाम्रो नेतालाई अरुले गाली गर्दा रिस उठ्ने तर आफूले प्रशंसा गर्न नसक्ने खालको अन्तरविरोधी मनोविज्ञानबाट ग्रसित छौं । यो कार्यकर्ताको समस्या हो कि नेताको ? हामी कार्यकर्ताको कति समस्या तपाईंहरु नेताको कति ?

विगत केही महीनादेखि तपाईंको सम्बोधन सुन्दै जाँदा हामी कार्यकर्ताको मनमा केही प्रतिक्रिया पैदा हुन थालेका छन् । ठीक हो- समस्या पहिचान हुनु पनि एउटा समाधानको शुरूआत बन्न सक्छ । तर दिमागका अविश्वासका झिल्काहरू प्रश्न बनेर बल्छन्- साँच्चै पार्टीले त्यो निर्णय गर्न सक्ला ? नेतृत्वले त्यति आँट गर्ला ? जनताको त्यो अपेक्षा हाम्रै पालामा तपाईंकै नेतृत्वमा पूरा होला ? नेतृत्वको भनाइ र गराइमा एकरुपता आउला भनेर बारम्बार प्रश्न उठिरहन्छ । यो हाम्रो दिमाग र मनको समस्या कति हो र तपाईंहरु नेतृत्वको समस्या कति ?

पहिलो कमजोरी तपाईंको मन र दिमागबीच तादाम्यता मिलेन । मैले यहाँनेर भन्नै पर्छ- पहिलो संविधानसभाको चुनावबाटै हामी कार्यकर्ताले यो कुरा भनिरहेका छौं कि दिमागमा विद्रोह मुखमा चुनाव । तपाईं के बाध्यतामा हुनुहुन्थ्यो त्यो मलाई थाहा छैन तर हामी कार्यकर्तालाई यहींबाट तपाईंको दिमाग र मुखमा भिन्नता आएको आभास भएको हो

नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धार निर्माण गर्न तपाईंको आँट, साहस र योगदान अत्यन्तै महत्वपूर्ण छ । पाँचौं महाधिवेशनदेखि एकता महाधिवेशनको तेस्रो विस्तारित बैठकसम्मको इतिहास नियाल्दा क्रान्तिकारी आन्दोलनको दिशा निर्माण गर्न तपाईंले लडेको वैचारिक लडाईं र लिएका पहलहरू हाम्रा निम्ति प्रेरणा बनेका छन् । जनयुद्धको घोषणा र शुरुआत पछाडि बाह्य संघर्ष प्रधान बनेर जानु स्वाभाविकै थियो ।

ऐतिहासिक जनयुद्धको पहिलो योजनादेखि फुन्टिबाङ बैठकसम्मको भीषण वर्गसंघर्षको राजनैतिक, वैचारिक, सांगठनिक, फौजी योजना हेर्दा विलक्षण प्रतिभायुक्त नेतृत्व भन्न र मान्न सगर्व तयार भएर आयौं । नेता र कार्यकर्ताबीच विचार, भावना र मनोविज्ञानले बलियो सम्बन्ध थियो । मन र दिमाग दुवै नेतृत्वप्रति समर्पित थिए । तपाईंलाई आत्मविश्वास थियो । हामीलाई नेतृत्वप्रति पूर्ण विश्वास थियो ।

पार्टी केन्द्रको विशेष बैठकदेखि वर्गसंघर्षको स्वरूप बदलियो । संघर्षको एक प्रकारको तीव्र गतिलाई दिशा परिवर्तन गर्नुपर्ने हाम्रो बाध्यता थियो । घुम्ती मोड निर्माण नगरी चुचुरा )गन्तव्य( सम्म यात्रा सम्भव हुँदैनथ्यो । तपाईंले जे आँट गरेर गन्तव्यसम्म पुर्‍याउने क्रान्तिकारी बाटोको नक्शा कोर्नुभयो, त्यसमा हामी सबै पूर्ण सहमत भयौं । सकुशल गन्तव्यमा पुग्नलाई ठाडो उकालो )जनयुद्ध( भन्दा अलि तेस्रो घुमाउरो बाटो निर्माण गर्ने प्रस्ताव चुनवाङ बैठकपछि तपाईंले स्वीकार गर्नुभयो र त्यो बाटोमा हिंड्न हामी एकमतले सहमत भयौं । उकालो हिंड्न गाह्रो भएर कदापि हैन । नेतृत्वप्रतिको विश्वासले नै हो ।

नयाँ बाटो खन्दै जाँदा कमजोरी भए । तपाईंले पनि स्वीकारेको हुनाले मलाई भन्न अलि सजिलो भयो । पहिलो कमजोरी तपाईंको मन र दिमागबीच तादाम्यता मिलेन । मैले यहाँनेर भन्नै पर्छ- पहिलो संविधानसभाको चुनावबाटै हामी कार्यकर्ताले यो कुरा भनिरहेका छौं कि दिमागमा विद्रोह मुखमा चुनाव । तपाईं के बाध्यतामा हुनुहुन्थ्यो त्यो मलाई थाहा छैन तर हामी कार्यकर्तालाई यहींबाट तपाईंको दिमाग र मुखमा भिन्नता आएको आभास भएको हो । पालुङटार प्लेनमको निर्णयदेखि असफल विद्रोहको प्रयासलाई यही कडीमा जोडेर नहेरी बुझ्न सकिन्नँ । पार्टी केन्द्रमा कति बेला अन्तरविरोध शुरु भयो ? के विषयले भयो ? त्यो तपाईंलाई बढी जानकारी छ ।

हामी सैद्धान्तिक रूपमै पार्टीले कमजोरी गर्दैछ भनेर त्यतिबेलै भनेका थियौं । हाम्रो कमिटीका माइन्युटमा सुरक्षित नै छन् शायद । यसो भनेर हामी जिम्मेवारीबाट पन्छिएनौं । हाम्रो चेतनाको नृशंस हत्या बेहोर्‍यौं । हत्याराको सामना गर्‍यौं र पराजित गर्‍यौं ।

पहिलो संविधानसभाको चुनावमा शहीदको रगतले भिजेर दुश्मनको सामना गर्‍यौं । पछि नेताको स्वार्थ नमिल्दा पार्टी फुटे । हामी फुट हैन, संघर्ष र रुपान्तरण नै सही क्रान्तिकारी निर्णय हो भनेर विभाजनमा लागेनौं ।

आलोचना नराम्रो हो भनेर हामीले गल्ती गर्‍यौं । आलोचना नसुन्ने, प्रशंसा मात्र खोज्ने बानी विकास गरेर नेतृत्वले गलत गर्न थाल्यो । आज तपाईंकै भनाइमा नेतालाई नेतैसँग भर विश्वास नहुने अवस्था आउनुको मुख्य कारण यही हो ।

म खरो आलोचक भए पनि अलि बढी आशावादी मान्छे हुँ । मैले तपाईंलाई पनि मभन्दा बढी आशावादी नेताको रूपमा बुझेको र पढेको छु । आशावादी शब्दलाई जसरी व्याख्या गर्दा पनि हुन्छ । यसो भैदिए हुने, यसरी बुझिदिए हुने, यति पनि किन नगरेका होलान् भनेर गरिने आशा पनि आशा नै हो ।

हिजोआज तपाईंको अभिव्यक्तिमा यो प्रकारको आशावादिता अलि बढी झल्कन्छ । यो आशा मनोगत आशा हो । क्रान्तिकारी आशावादिता हैन । यही आशा हामी कार्यकर्ताले नेतृत्वसँग गर्नु बरु स्वाभाविक हुने गर्दछ । हिजोआज तपाईंलाई समस्या के परेको छ ? तपाईं कुन वैचारिक विकृतिसँग लड्दै हुनुहुन्छ ? श्रमजीवी वर्गको मुक्ति आन्दोलनको बाधक पार्टी भित्र कुन प्रवृत्ति हो ? बाहिर कुन प्रवृत्ति र वर्गसँगको संघर्ष मुख्य हो । हामी अन्योलमा छौं ।

तपाईंको उद्घोषले ऊर्जा थपिने हाम्रो मानसपटल हिजोआज निष्प्रभावी भएका छन् । यसलाई बदल्न हामी कार्यकर्ता र नेताले पहिलो व्यावहारिक पहल आवश्यक छ । कार्यकर्ता र नेताको, जनता र कार्यकर्ताको भावना र मनोविज्ञान मिलाउन हामी जुट्न आवश्यक छ । जनताको मन जित्ने कुरासँग नै अहिले हाम्रो भविष्य जोडिएको छ । जोड्न सक्छु भन्ने आत्मविश्वास तपाईंमा पैदा हुन्छ भन्ने आशा हामीले लिएका छौं ।

समस्या पहिचानमा हामी भन्दा तपाईं नै अगाडि हुनुहुन्छ । समस्याको पहिचान पछि त्यसविरुद्धको संघर्षको ठोस पहल हुनसकेको छैन । भावमा व्यक्त विचारभित्र निराशा, मनोगत आशा, अमूर्त व्यङ्ग्य, कताकता धम्कीको आभास हुन थालेको छ । जसले तपाईंप्रतिको प्रेमिलता कम पो हुने हो कि ?

हिजोआज व्यक्त पार्टी विघटन गरेर दर्शन पढ्ने-लेख्ने कुराले हाम्रो प्रचण्ड कमजोर भएको महसूस भएको छ । क्रमभङ्गले जन्मिएको त्यो प्रचण्ड आज विघटनको कुरा सोच्ने किन हुनुभयो ? तपाईंले गरेको एतिहासिक कामको व्याख्या तपाईंले नै गर्नुपर्ने अवस्था किन आयो ?

एक्लो छु कि भन्ने या हुन्छु कि भन्ने त्रास किन आयो ? नेतृत्वमा क. प्रचण्डको अपरिहार्य आवश्यकताको व्याख्या तपाईंले आफैं गर्नुपर्ने दिन किन आयो ? कि त तपाईंको सोचमा समस्या छ, या तपाईंको वरपरको वातावरण दूषित छ । तपाईंको सहयोद्धामा समस्या छ या सबै कुरा एकैसाथ भएका छन् ।

यो अभिव्यक्तिले हामीलाई अलि बढी गम्भीर बनाएको छ । कतै पुस्तान्तरको समस्या त हुन थालेन भनेर चिन्ता लाग्दैछ । पार्टी, संगठन, क्रान्ति तपाईंको वरपर भएकाहरू मात्र हुन् त ? त्यो बने सबै बन्ने बन्न नसके सबै सकिने ? क्रमभंग गर्दै छलाङ हान्ने पार्टी, त्यो पार्टीको अध्यक्ष क. प्रचण्डबाट हामी कार्यकर्ताले धेरै आशा गरेका छौं । पुस्ता सकिएर क्रान्तिको युग सकिने हैन र सकिंदैन ।

वर्ग संघर्ष नै हाम्रो पार्टीको मेरुदण्ड हो । अहिलेसम्म हाम्रो जीवन अन्याय अत्याचार विरुद्धको संघर्षमा बित्यो । वर्गीय पक्षधरता नै हाम्रो इज्जत त प्रतिष्ठा आर्जनको स्रोत हो । यात्राको संक्रमण अवस्थामा बाध्यताले सम्बन्ध बनाउनुपर्नेसँगको सम्बन्ध अलि बढी नियमित, औपचारिकतामा सीमित राख्नुपर्ने सम्बन्ध अलि बढी अनौपचारिक बन्ने र नियमित र अनौपचारिक सम्बन्ध बनाउनुपर्ने वर्गसँगको सम्बन्ध औपचारिकमा सीमित हुँदै जाँदा सिद्धान्त र व्यवहारमा अन्तर आउनु स्वाभाविकै थियो । त्यो प्रभाव थोरै धेरै सबैमा पर्‍यो । भरपर्ने वर्ग टाढा हुने, नजिक भएका वर्ग स्वार्थी र अवसरवादी हुने कुराले तपाईंको दिमागमा तनाव सिर्जना भएको छ । स्वार्थी र अवसरवादीको दलदल धेरै ठूलो छैन । सानो दलदल हटाउन ठूलो पंक्तिको साथ लिने नीति अवलम्बन गरौं । सानो पङ्क्तिलाई तर्साउन ठूलो पंक्तिलाई निराश बनाउँदा दुश्मनलाई फाइदा हुन्छ । वर्गीय पक्षधरताले दलाल वर्गसित हुने स्वाभाविक हो । उनीसँग हामी डराउनुपर्ने करण छैन ।

देश आत्मनिर्भरताको दिशामा अगाडि बढ्दैछ । स्वाधीनताको आन्दोलनमा जनसहभागिता र जनसमर्थन उत्साहजनक छ । नाकाबन्दीको समयमा केपीको उटपट्याङ राष्ट्रवादले स्थानीय निर्वाचनमा पाएको समर्थनले पनि त्यो कुरा पुष्टि हुन्छ । वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय मुक्ति युद्धको नेतृत्व गर्ने सौभाग्य कमैले पाउँछन् ।

यही विषयमा तपाईंप्रति अलि सन्देह गरेको पाइन्छ । व्यक्तित्व चेतना विचार निर्दिष्ट छ तर व्यवहार जीवन विलासी वस्तु उपभोगले पैदा गर्ने चेतनाबाट प्रभावित छ भन्ने भनाइ पूँजीवादी बुद्धिजीवीकै मुखबाट सुनिन्छ । हामीलाई पनि प्रशिक्षण अनुसारको कार्यक्रम र कार्यान्वयन नपाउँदा हो कि त भन्ने भ्रम पर्न खोज्दैछ ।

तपाईंको नेतृत्वमा देश स्वतन्त्र, आत्मनिर्भर र समृद्ध बन्ने हाम्रो आशा हो । नयाँ युवा शक्तिको विवेक, जोश, जाँगर र ऊर्जालाई तपाईंको लडाईंमा पुनः प्रत्यक्ष सहभागी बनाउनुहोस् । वर्गीय लडाईंले कहिल्यै एक्लो हुने छैनौं । मुक्ति आन्दोलनको नेतृत्वले कहिले एक्लो महसूस गर्नुपर्ने छैन ।

सार्वजनिक पत्रमा यत्ति लेखें । कहिले तपाईंको अनुकूलता मिलेछ भने यदि म अध्यक्ष भएको भए के गर्थे भन्ने समग्र १० वर्षको योजना पस्कनेछु । जो तपाईंको विस्थापन र मेरो स्वार्थको लागि हैन सहयोगकै लागि हुनेछ । वर्गीय मुक्ति बाहेक आजसम्म मेरो व्यक्तिगत अरु कुनै माग, महत्वाकांक्षा छैन र म बाँच्दासम्म रहने छैन ।

क्रान्तिकारी अभिनादन सहित !

क. विश्व, दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment