Comments Add Comment

खोंचको त्यो कुवा बन्यो कि बनेन होला जीवन ?

उर्लिएको त्यो छाल, अन्ततः आफ्नो गन्तव्यमा पुग्ला कि नपुग्ला ? विशाल त्यसको परकम्प निश्चित समय र स्थानमा पुग्दा त्यसको ओझिलो किन समान बन्न नसक्ला ? त्यो यात्रा निश्चित गन्तव्यमा नपुगी सेलाए झैं सजीवताको त्यो सोच पनि विस्तारै धुमिल हुने रहेछ । समयको दासत्वमा फुलेको फुल ओइलाए झैं केशहरू निरन्तर झर्ने कुरा नै सत्य रहेछ । गर्जिएको त्यो भेलले साँच्चै सबै वित्यास पार्ला झैं लागेतापनि त्यसको दूरी र गन्तव्य र समयसँगै हराउने नियमित कर्म रहेछ । खोंचमा रहेको जलको आफ्नै महत्व हुन्छ भने झैं त्यसको बदलाव उर्लंदो खहरे हुन नसक्ने रहेछ ।

दासत्व मानसिकताको कि समयको ? भीडको अंश बन्नै पर्ने बाध्यतामा संसारका सम्पूर्ण वस्तुहरू निहितार्थ नै हुनुपर्ने छ र ? कल्पनाको त्यो नवीनतामा स्वप्न संसार देख्नेहरू अन्ततः क्षितिजमा विलीन हुनुको विकल्प रहेनछ । सोच नै सुख र सोच नै दुःख भएतापनि त्यो सोचको क्षेत्राधिकार र परिधिभित्र असीमित शंका, उपशंकाहरूको निवारण कसरी होला ? त्यो तेज नयन दृष्टि समयचक्रसँग आज धुमिल भएछ, जीवनको जोश, जाँगर र सपनाहरू घरको आँगनमा नै टाढा भएछ । यही निरन्तरतामा छिप्पिएको जीवन उत्तराद्र्धको पर्खाइमा क्षितिजमा पुगिसकेछ ।

सपना र कल्पनाको मापन गर्ने छडी कस्तो होला ? जसले त्यसको लेखाजोखा गरोस् । अनुकूलतामा नभई यथार्थतामा मूल्यांकन गर्ने सोच र चेतनाको अब्बलता कसको होला ? सफलता मापनको मूल्यांकन कसैले गर्ला वा स्वविवेकले ? हिजो संसारका सबै वस्तु प्राप्त गर्ने ध्येय पनि छालाको चाउरीपन सँगै निचोरिएछ । जोशमा उम्लने रगत बग्ने नसाहरू खुम्चिएछन् । रगत बग्ने प्रवाहमा अवरोध आउँदा त्यो जोशिला स्वरहरू धुमिल भएछन् ।

वहने हावाको गति पनि कहाँ समान हुँदोरहेछ र ? सूर्यको किरण पनि एउटै समयमा समान नहुने रहेछ । यति धेरै असमानता बीचमा रहेको प्रकृतिमा जीवनको अनुकूलता खोज्नु भनेको मूर्खता मात्र रहेछ । धर्तीमा टेकेको दुईपाइलाको ओझ त असमान भएको सन्दर्भमा सोचमा एकरूपता खोज्नु कमजोर मानसिकताको द्योतक रहेछ । सबका मालिक एक भएतापनि त्यसलाई बिटुलो पार्ने प्रयत्नहरू हुँदोरहेछ भने सफलताका सिंढीहरू पनि त्यस्तै हुने रहेछ । जुन यथार्थवादी रहेछन् । ऐनामा आफ्नो प्रतिविम्ब देख्ने कोशिशहरूमा नयनको स्पन्दनको असमानताले छक्याइदिनेरहेछ । वायुमण्डलको त्यो वायुले मानसिकतालाई खलल पार्ने रहेछ । त्यही खललतालाई संयमित बनाउन नसक्दा सोचमा विविधताले बास गर्ने रहेछ, यही बीचको समयले जीवनलाई तरंगित बनाउने रहेछ । त्यही तरंगित भावनामा तैरिने प्रयत्नमा अनुकूलताको हत्कण्डा प्रधान बनिदिनेरहेछ ।

सम्पन्नता भौतिक तथा आर्थिकतामा खोज्ने कि सोचमा ? जीवनको मुख्य साध्य यही रहेछ । दृष्टिकोणको अब्बलता चेतनामा निर्भर रहने रहेछ । न्याय पनि चेतनामा निर्भर रहेतापनि स्वार्थले त्यसलाई छोपेको हुने रहेछ । त्यही छोपिएको स्वार्थले कमाएको सम्पत्ति जोगाउने नाममा विताएको पलले जीवन सधैं तरंगित हुनेरहेछ । विवेकको बन्धक स्वार्थमा केन्द्रित भएतापनि आत्मिक सन्तुलनमा त्यो मिथ्या सावित हुने रहेछ । भोगिने जीवन र आत्मिक जीवनको अन्तर्य गहिरो हुँदोरहेछ । सबैलाई जित्ने र छल्न सक्ने चेतना पनि अन्ततः आत्माको अगाडि निरीह हुनेरहेछ । यही बीचको माथापच्ची नै जीवनको पल रहेछ । जुन भोगाधिकार सजीवताको निरन्तर अभ्यास रहेछ ।

हावाको त्यो कम्पन त प्रकृतिको विविधतामा असमान हुनेरहेछ भने त्यसको प्रभाव आममा नहुने भन्ने सोच नै गलत रहेछ । सोचको विकास समाजले गरायो कि प्रकृतिले भन्ने द्विविधामा अल्झेको मानव जाति त्यही माथापच्चीमा जीवन गुजार्न अभ्यस्त बनिदियौं । जीवनको उत्तराद्र्धमा देखिने अमानवीय व्यवहारको प्रतिफल नै यही हो । मानवता मर्दैन, तर मार्नका लागि गरिने प्रयत्न अन्ततः आफ्नै लागि हानिकारक हुँदोरहेछ । चेतना र सोचको बीचमा तादात्म्यता मिलाउन नसक्नु भनेको स्वार्थका सूचकहरू हावी हुनुरहेछ । त्यो विशाल पहाड ढल्दैछ, परापूर्वकालदेखि अस्तित्वमा रहेको त्यो वर–पीपल आज सबैका लागि बोझ बनेको छ । लाग्दछ, त्यो वर–पीपल भोलि हामी हुनु छैन । सधंै पलुवामा रहने र बलिष्ठतामा जीवन गुज्रिरहनेछ । सोचको त्यो बलिष्ठता उसैको पाउमा घुमिरहनेछ । पलको त्यो मापन उजाडिएको मस्तिष्कले सोच्न सक्यो कि सकेन होला ? आत्मसमीक्षाको कडीमा उभिने प्रयत्न ग¥यो कि गरेन होला ?

सानो कुवाको पानीले तिर्खाएको यात्रुको प्यास मेटे झैं उर्लिएको त्यो छालले कुनै दिन कुनै यात्रुको प्यासमा साधक बन्यो कि बनेन होला ? विशाल हुँदैमा त्यो भेलले जीवनमा कसैको सारथि बन्यो कि बनेन होला ? त्यो महल कुनै दिन कुनै पनि यात्रुको छहारी बन्यो कि बनेन होला ?

रातको त्यो चकमन्नतामा सोचको मूलले अधीनस्थ जनाइरहँदा समयको घटाले किन अवरोध बन्नुप¥यो होला ? अवरोधको पनि तात्विक नियम नै हुन्छ, क्यारे ! एकाग्रतामा भाँजो नै हाल्नुपर्ने ! कल्पिएको त्यो आत्मिक सोचहरू नै फिका हुने गरी । साँच्चै सुन्दर थियो, त्यो पल । जुन पलले बाँच्ने आधारशिला निर्माण गरेको थियो । आत्मिकताको त्यो गहिराइमा जीवन सुन्दर लाग्ने रहेछ । चकमन्न पल नै जीवनको यथार्थ पल हो क्यारे ! दिनको उज्यालो त आत्मिकताको अवरोध मात्र । जसले सोचमा विखण्डन ल्याइदिंदोरहेछ ।

खोंचको त्यो पानीले यात्रुको प्यास मेटाए झैं मेरो जीवन पनि उर्लिएको भेल त बनेन, जसले कसैको पनि प्यास मेटाउन सकेन । आखिर गन्तव्य निश्चित स्थानमा होइन, निश्चित विन्दुमा हुनेरहेछ । तर त्यसको हेक्का हुँदा सोचमा धमिरा लागिसकेछ ।

रातको त्यो प्रहर विताउने ओत, गगनबाट वर्षिएको पानी समेत नओत्ने छानो भएको कुटी हुँदा पनि यति धेरै उकुसमुकुस किन ? साँच्चै भौतिक सम्पत्तिलाई नै जीवनको ध्येय सम्झनेहरूहरूको सम्पत्तिले रातको त्यो चिसो स्पन्दनमा आत्माको त्यो तराजुमा जोखिंदा पोल्यो होला कि नाइँ ? यो साँच्चै सोचको अग्राधिकार होला कि कमजोर मस्तिष्कको द्योतक ? सोचमा देखिएको यो उथलपुथलले समाज र देशप्रति योगदान दिने हिम्मत राख्ला कि नराख्ला ? कि कल्पनाको त्यो क्षितिजमा नै विलिन भएर जाला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment