Comments Add Comment

कालीगण्डकी संरक्षणमाथि तीन कविता

अहिले कालीगण्डकीमाथि अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड-मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ‘कालीगण्डकी नदी सप्तक श्रृङखल’ (आन्दोलन कविता) सुरु गरिएको छ । यस अन्तर्गत यहाँ तीनजना चर्चित कविहरूले नदी सभ्यतामाथि लेखेका कविता प्रकाशित गरिएको छ:

१. बग्नदेऊ आफ्नै बाटो / हाङयुग अज्ञात

जीवनका लाखौं धुकधुकी
उनी लहरलहरमा
गुन्गुनाउँदै सृष्टिको परम धुन
धर्तीभरि बग्दोछ कालीगण्डकी

नाइल होस् या मिसिसिपि
या होस् गङ्गा, जमुना, सरस्वती
हेर शालिग्राममा कुँदिएको
अमर तस्विर जलधाराको

एकएक तारा जो खसे
शालिग्राम भई यहाँ बसे
आकाशगंगा बगर उसको
उभिनु तिमी चन्द्रजस्तो

नचिथोर छाती उसको
जहाँ फुले सभ्यता हाम्रो
नबिथोल यात्रा उसको
बग्नदेऊ आफ्नै बाटो

जीवनका लाखौं धुक्धुकी
उनी लहरलहरमा
गुन्गुनाउँदै सृष्टिको परम धुन
धर्तीभरि बग्दोछ कालीगण्डकी ।
०००

२. अर्थात् नदीहरू / निमेष निखिल

फेरि तिम्रा ओठहरूमा गीत बनी टाँसिएर
म अक्षम राजनीतिज्ञको बेसुरो प्रशंसा चाहन्नँ

उप्काएर संवेदनाका पत्रहरू
रगताम्मे भइसकेकी छु

बिर्सिसकेकी छु दुख्न
आफन्ती पीडाहरूमा- पराईको के कुरा !

तिमीले रोपिगएको आशाको लहरामा
अहँ फलेनन् आँत शान्त पार्ने पानीका घोगाहरू

बदलामा सलहको सुनामी पसेको छ
मेरो जीवनदायी बहावमा

तिमीले माग्न नपाउँदै
आफै रित्तिने गरी दिएँ सबैथोक

खेतबाट सुनौला बाला बनेर
चाहारेँ तिम्रा नसा-नसामा

भन, कहाँबाट आयो
तिम्रा लालाबालाको ओठमा फुलेको मुस्कान ?

बिर्सेर, बग्ने मेरो प्रकृतिलाई
तिमीले पटकपटक उभ्याएपछि अहंकारको पर्खाल
म क्रमशः आगोमा रूपान्तर भइरहेछु

तिम्रो दम्भको परिणति खरानीबाहेक केही होइन
नबिर्स
त्यो खरानी बगाई लैजाने पनि मै हुँ

अर्थात् म नदी
म द्रोणाचर्यको गुरूदक्षिणाले श्रापित
एकलव्यको आलो घाउ हुँ ।
०००

३. नदीहरू मान्छेजस्ता हुँदैनन् / भूपिन

नदीहरू
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरू
मान्छेले झैं कूटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरू भत्काएर
कुरूप हातहरू उचाल्दै नदीहरू
हिलो छ्यापाछ्याप गर्दैनन्
पानी बाराबार गर्दैनन्

रङ विभाजन गर्दैनन्
नदीहरू
जात विभाजन गर्दैनन्
नदीहरूको संविधानमा सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन नदीहरू
पहाड फाँड्न सक्छन् नदीहरू

नदीहरू
मन लागे सुक्न जान्दछन्
मन लागे फुक्न जान्दछन्
तर कदाचित् नदीहरू
मान्छेजस्तै झुक्न जान्दैनन्
मान्छेजस्तै दुख्न जान्दैनन्

नदीहरू मान्छेले झैं
अह्ममा चोट लाग्ने भयले
सृष्टिले ठगेका गरिब र पुड्का खोलाहरू देखेर
टाढैबाट तर्किएर हिँड्दैनन्
नदीहरू मान्छेले झैं
रङ नमिल्ने भयले
छुट्टै बाटो ताकेर हिँड्दैनन्
नदीको कालो पानी
नदीको सेतो पानीसँग मिल्न सक्छ
नदीको सेतो पानी
नदीको कालो पानीसँग मिल्न सक्छ
नदीहरू जन्मजात निग्रा हुँदैनन्
नदीहरू जन्मजात गोरा हुँदैनन्
नदीहरू आर्य मंगोलियन हुँदैनन्
हिन्दु, मुस्लिम हुँदैनन् नदीहरू
बुद्धिष्ट क्रिस्चियन हुँदैनन् नदीहरू

नदीहरू
नदीहरूजस्तै हुन्छन्
मान्छेजस्ता हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment