+
+

जनताको बहुदलीय जनवाद (जबज) क्रान्तिको कार्यक्रम कि सिद्धान्त

सच्चिदानन्द जोशी सच्चिदानन्द जोशी
२०७८ असोज १४ गते ७:२२

सिद्धान्त के हो ?

जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन ।

सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य हुन र नहुन पनि सक्छन् । कुनै तथ्यहरू सत्य नै रहेछन् भने पनि सान्दर्भिक वा सम्बन्धित नहुन वा अर्को तथ्यको तुलनामा समान प्रभावकारी नहुन पनि सक्छन् । कम वा अप्रभावकारी र असान्दर्भिक तथ्यहरूले सत्य नै भए पनि योगदान दिन सक्दैनन् । तथ्यहरू आफैंले बोल्दैनन् । तिनीहरू सिद्धान्तको आलोकमा हेरिने हुन् । सिद्धान्तको लेन्सले हेरिने हुन् ।

सिद्धान्तको अभावमा सबै तथ्यहरू बराबर महत्वका लाग्न थाल्छन् । कतिपय महत्वपूर्ण र सान्दर्भिक तथ्यहरू पनि बेवास्तामा पर्न सक्छन् भने कतिपय कम महत्वका वा महत्वहीन र असान्दर्भिक वा अप्रभावकारी तथ्य पनि महत्वपूर्ण र सान्दर्भिक मानिन सक्छन् । दुवै अवस्थामा गलत बुझाइ बन्न जान्छ र अन्ततः गलत निष्कर्ष निस्कने हुन्छ । त्यस्तै सत्य हुनु र सिद्धान्त हुनु एउटै होइन । तथ्यहरू सत्य हुन् भन्दैमा हरेक तथ्यले कुनै मानकको आवश्यकता नठानी आफंैलाई सिद्धान्त घोषणा गर्दै हिंड्नु उत्तरआधुनिकता हो । यो यस्तो खेल बन्छ, जहाँ कुनै नियम चाहिंदैन । मार्क्सवादले त्यस्तो अनुमति दिंदैन ।

अदालतका सबै फैसला नजिर हुँदैनन् । नजिर बन्न पनि एउटा सामान्य सार्वभौमिकता आवश्यक पर्दछ । ‘म जहाँ उभिएको छु पंक्ति त्यहींबाट शुरू हुन्छ’ को उद्दण्ड अराजकता अन्ततः ‘म नै राज्य हुँ’ मा पतन भएर टुङ्गिन्छ । त्यसैले तथ्यहरूको सत्यता, सान्दर्भिकता र महत्व सिद्धान्तको कसीमा घोटिएर तय हुन्छ, आफैंलाई सिद्धान्त घोषणा गरेर होइन । परिस्थितिवश कसीको भन्दा सुनको मूल्य बढी भएको हुनसक्छ तर सुनको कसी सुन आफैं हुँदैन । सुनले सुन हुनमा नै गर्व गर्नुपर्छ कसी हुनमा होइन र त्यस्तो गर्व गर्न पनि कसीमा घोटिनै पर्दछ । तथ्यहरूले सिद्धान्तको विकासमा योगदान त पक्कै गर्दछन् तर जाँच्ने कसी सिद्धान्त हो जाँचिने तथ्य सिद्धान्त होइनन् ।

जनवाद के हो ?

सिद्धान्तका बारे यति कुरा गरिसकेपछि अब जाऔं जनवादतिर । मार्क्सवादीहरू दुनियाँमा दुईखाले जनवाद -लोकतन्त्र) को अस्तित्वलाई मान्दछन् । क्रान्तिको नेतृत्व पूँजीपति वर्गले गरेको, क्रान्ति पछि उसैको अधिनायकत्व चलेको र शोषणमा आधारित पूँजीको प्राधान्य रहेको समाज निर्माण हुने जनवाद अर्थात् पुरानो जनवाद र जनताको नेतृत्वमा संयुक्त मोर्चाले क्रान्ति गर्ने, क्रान्ति पछि संयुक्त अधिनायकत्व कायम हुने र शोषण रहित समाजवादी समाज निर्माण हुने जनवाद अर्थात् नयाँ जनवाद ।

जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त होइन । मार्क्सवादको मार्गदर्शनमा वर्तमान क्रान्तिको कार्यक्रम हो, बस् । जे हो त्यसलाई होइन भन्नु पनि झुट हो । जे होइन त्यसलाई हो भन्नु पनि झुट हो । यसले क्रान्ति होइन भ्रान्ति मात्र सिर्जना गर्दछ

पूँजीवाद समाजवादसम्म पुग्ने अनिवार्य बाटो हो । पूँजीवादी युग पार नगरी कुनै पनि समाज समाजवादतर्फ अघि बढ्दैन, बढ्न सक्दैन । हिजो त्यस्तो पूँजीवादी युग पूँजीपति वर्गले आफ्नो नेतृत्वमा ल्याएको थियो । तर आज कैयौं परिस्थितिले पूँजीपति वर्गले आफ्नो क्रान्तिकारी चरित्र गुमाइसकेको हुँदा श्रमिक वर्गले नै आफ्नो नेतृत्वमा पूँजीवादी क्रान्ति सम्पन्न गरेर अघि बढ्नुपर्ने अभिभारा आएको हो । श्रमिक वर्गले आफ्नै हित (समाजवादमा पुग्न) का लागि नै पूँजीपति वर्गलाई समेत मुक्त पार्दछ र संयुक्त जनवादी सत्ताको भरमा समाजवादतर्फ संक्रमणको लागि भौतिक तथा सांस्कृतिक निर्माणतर्फ अघि बढ्छ ।

त्यस प्रकारको जनवादी क्रान्ति यसअघि पूँजीपति वर्गले सम्पन्न गरेका जनवादी क्रान्ति भन्दा रूपमा मात्र होइन सारमा पनि भिन्न हुन्छन्, हुनेछन् । त्यसको लक्ष्य फरक छ, हुनेछ । यो नै अहिलेसम्म विकसित भएको मार्क्सवादी सिद्धान्तको शिक्षा हो । यसै सिद्धान्तको आलोकमा कतिपय मुलुकमा यस्ता क्रान्ति सम्पन्न भएका छन् । कतिपय मुलुकमा जारी छन् । कतै यसलाई नयाँ जनवाद भनियो, कतै जनताको जनवाद वा कतै राष्ट्रिय जनवाद । नेपालको तत्कालीन विशिष्ट परिस्थिति र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा विभिन्न थप विशेषताहरूलाई समेत समेटेर यसलाई जनताको बहुदलीय जनवाद भनियो ।

जनताको बहुदलीय जनवाद के हो ?

क. मदन भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ । अर्थात् यसमा क्रान्ति पछि स्थापना हुने राज्यसत्ता (अधिनायकत्व) जनवादी (लोकतान्त्रिक) हुने र त्यो पुरानो जनवाद जस्तो पूँजीपति वर्गको एकलौटी नभई जनताको समेत संयुक्त राज्यसत्ता हुने भएकोले बहुवर्ग बीच प्रतिस्पर्धालाई यसले स्वीकार गर्दछ । वर्गीय समाजमा दलहरूले वर्गहरूको राजनीतिक प्रतिनिधित्व गर्ने भएकोले त्यस्तो प्रतिस्पर्धा दलीय हुने समेत यसले स्वीकार गरेको छ । यही तथ्यहरू र थप केही विशेषता समेत अंगीकार गरिएको यो (अर्थात् जबज) नयाँ जनवाद नै हो ।

जबज कार्यक्रम कि सिद्धान्त ?

क. भण्डारीले पनि जनवाद पुरानो र नयाँ गरी दुई खालको हुने र अबको क्रान्ति पुरानो खाले नभई नयाँ खाले हुने कुरालाई स्वीकार गर्नुभएको छ । उहाँले केवल त्यस नयाँ जनवादी क्रान्तिपछि संयुक्त सत्ता स्थापना हुने भनिसकेपछि केवल मजदूर वर्गको पार्टीले मात्र शासन संचालन गर्ने व्यवहार गलत सावित हुँदै गएकोले नयाँ जनवादको प्रयोगमा रहेका कमी-कमजोरीहरू हटाई मानव जातिले आर्जन गरेका कतिपय उपलब्धिहरूलाई सम्मान साथ थप गरी शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धा सहितको जनवादको कुरा गर्नुभएको छ ।

त्यस्तो शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दा आइपर्ने थप जटिलताहरूको व्यवस्थापनका लागि मानव जातिले सभ्यता विकासका क्रममा आर्जन गरेका कैयौं उपलब्धि समेत थप गरेर जनताको बहुदलीय जनवाद नामकरण गरिएको हो । यो कुनै नयाँ सिद्धान्त होइन । यो क्रान्तिको कार्यक्रम हो । पाँचौं राष्ट्रिय महाधिवेशनमा पारित दस्तावेज अनुसार पनि यो ‘पार्टीले सार्वजनिक रूपमा फहराएको आफ्ना लक्ष्यहरू सहितको झण्डा’ हो । सिद्धान्त त मार्क्सवाद-लेनिनवाद नै हो ।

उहाँले क्रान्ति पछिको शासन प्रणाली एकदलीय हुने वा बहुदलीय हुने कुरालाई समाजको क्रान्तिकालीन र क्रान्ति पछिको विशिष्ट अवस्थाले निर्धारण गर्ने विषय भएकोले त्यो सिद्धान्तको विषय होइन भन्दै प्रष्ट रूपमा ‘जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको कार्यक्रम हो’ भन्नुभएको छ । यति प्रष्टसँग भन्दाभन्दै पनि कतिपय मानिस जबजलाई सिद्धान्त घोषणा गर्ने, ‘यो सिद्धान्त नै हो’ भन्ने ढिपी गर्ने अनि त्यसैको मार्गनिर्देशनमा क्रान्ति सम्पन्न गर्ने कुरा गर्दछन्, जुन सही कुरा होइन ।

सिद्धान्त र कार्यक्रमको अन्तरसम्बन्ध

जे हो त्यही भन्नु यथार्थ हो । यथार्थ के हो भने जनताको बहुदलीय जनवाद सिद्धान्त होइन कार्यक्रम हो । जनताको जनवादी क्रान्तिको सुदृढीकरणको चरणमा लागू गरिने क्रान्तिको कार्यक्रम । यो कार्यक्रम सिद्धान्त अनुसार ठीक छ कि छैन ? यसले क्रान्तिको विज्ञान (मार्क्सवाद-लेनिनवाद) को उचित दिशानिर्देश लिएको छ कि छैन ? यो क्रान्तिका सिद्धान्तहरूसँग कति संगत, कति असंगत छ ? संगत पक्ष के, असंगत पक्ष के हुन् ? यसलाई थप संगत बनाउन के-के गर्नुपर्छ ? यसले सही परिणाम ल्याउँछ कि ल्याउँदैन ? यसको परिणाम अन्ततः जनताको पक्षमा हुन्छ कि प्रतिक्रियावादीहरूको पक्षमा ? जस्ता प्रश्नहरूको जवाफ यसका हरेक भनाइ, मान्यताहरूलाई मार्क्सवाद (मार्क्सवाद-लेनिनवाद) को कसीमा घोटेर हेर्ने हो ।

मार्क्सवादको आलोकमा यसको सत्यता जाँच्ने हो । जहाँ जहाँ यसले मार्क्सवादको परीक्षा पास गर्न सक्दैन, त्यहाँ त्यहाँ यसलाई निर्मम उपचार गर्ने हो । त्यसो गर्नुको सट्टा यसलाई नै सिद्धान्त हो भन्नु भ्रमपूर्ण र अल्छी कुरा हो ।

जनताको बहुदलीय जनवाद स्वयंलाई सिद्धान्त घोषणा गरिदिएर आफ्नो मानक आफैं हुने घोषणा गर्ने, आफ्नो सिद्धान्त आफैं हुने घोषणा गर्ने र आफ्नो निर्णय आफैं गर्ने जस्ता मनोगत कामले जानाजान वा अन्जानमा झन् ठूलो भ्रमको सिर्जना गर्दछ । आफैं सिद्धान्त भएपछि आफ्नो ठहरलाई कुनै कसीमा जाँच-पडताल गर्नै परेन । ठीक वा बेठीक घोषणा गर्ने प्राधिकार स्वयं आफू नै हुनेभयो ।

यो आफू स्वयं र क्रान्तिलाई पनि दिग्भ्रमित गर्ने काम हो । जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त होइन । मार्क्सवादको मार्गदर्शनमा वर्तमान क्रान्तिको कार्यक्रम हो, बस् । जे हो त्यसलाई होइन भन्नु पनि झुट हो । जे होइन त्यसलाई हो भन्नु पनि झुट हो । यसले क्रान्ति होइन भ्रान्ति मात्र सिर्जना गर्दछ ।

(जोशी नेकपा एमालेसँग आवद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment