+
+

राष्ट्रिय जनगणना : मेरा अनुभव र अनुत्तरित प्रश्न

विमला दुवाडी विमला दुवाडी
२०७८ असोज १७ गते १४:०२

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरण सञ्चालन भएको छ । यसअन्तर्गत पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य संख्या र परिवारको कृषि सम्बन्धी विवरण संकलन कार्य अहिले जारी छ ।

यसपछि दोस्रो चरणमा कात्तिक २५ देखि मंसीर ९ गतेसम्म गणकहरूद्वारा प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली फारम मार्फत घरपरिवार तथा व्यक्तिको घरपरिवार तथा व्यक्तिको लिङ्ग, उमेर, जाति, भाषा, धर्म, वैवाहिक स्थिति, बसाइँसराइ, शिक्षा, आर्थिक क्रियाकलाप लगायत विवरण संकलन गरिन्छ ।

दोस्रो चरण अन्तर्गत सुपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडामा वडास्तरीय सामुदायिक प्रश्नावली मार्फत आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधार सम्बन्धी विवरण पनि लिइन्छ । यस पटकको जनगणनामा गणकहरूले हरेक घरमा पुगेर करीब ८० वटा प्रश्नको उत्तर भर्नेछन् ।

नेपालको जनगणनाले ११० वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचनाको यो पहिलो जनगणना हो । तसर्थ, यसपटकको जनगणनाले विशेष महत्व बोकेको छ ।

नेपालको संविधान, २०७२ अनुसार निर्वाचन क्षेत्र निर्धारण, अल्पसंख्यक समूहको पहिचान, नीति तथा योजना निर्माणका लागि जनसंख्यालाई प्रत्यक्ष रूपमा आधार मानेको छ भने मौलिक हकको कार्यान्वयन, तीनवटै तहका सरकारको कार्यक्रम सञ्चालन गर्न जनगणनाबाट प्राप्त हुने तथ्याङ्कलाई प्रमुख सूचकका रूपमा लिइन्छ ।

जनगणनाबाट संकलन भएका तथ्याङ्कले देशको सामाजिक, आर्थिक विकास, योजना तर्जुमा, अध्ययन, अनुसन्धान कार्य र देश विकासका लागि मार्गप्रशस्त गर्दछ । तसर्थ, देश विकासको योजना तयार गर्ने प्रमुख आधार निर्माण गर्ने जनगणनाको महाअभियानले प्रत्येक व्यक्तिको सहभागिता र स्वामित्वलाई आह्वान गरेको छ ।

राष्ट्रिय जनगणनाकै सन्दर्भमा रहेर एक सुपरीवेक्षकका हैसियतले मैले १५ दिनसम्म फिल्डमा खटिएर भोगेका तीता–मीठा अनुभवलाई यहाँ उठान र विश्लेषण गर्ने प्रयास गरेकी छु ।

जनगणना र मेरो अनुभव

भनिन्छ– जनगणना देशका लागि एउटा महा उत्सव हो । प्रत्येक १० वर्षमा आयोजना हुने भएकाले पनि यसको सान्दर्भिकता उत्तिकै छ । सामान्यतया, अक्सर बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरू संकलन, प्रशोधन, सारिणीकरण एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । जनगणनाले एक निश्चित समयमा देशभित्र रहेका घर, घरपरिवार तथा व्यक्तिहरूको बारेमा महत्वपूर्ण विवरण उपलब्ध गराउँछ ।

देश संघीय संरचनामा प्रवेश पश्चात् नागरिकको जीवनस्तर उकास्न संघीय, प्रदेश र स्थानीयस्तरमा लैङ्गिक समानता र समावेशिताका खण्डीकृत तथ्याङ्कको ठूलो आवश्यकता छ । त्यसैगरी, संविधानमा व्यवस्था भएको मौलिक हकहरू जस्तै-महिलाको हक, दलितको हक, सामाजिक न्यायको हक, आवासको हक, बालबालिकाको हक लगायतको कार्यान्वयन गर्न र त्यसको मूल्यांकन गर्न, आम नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, तीनै तहको सरकारलाई वित्तीय स्रोत बाँडफाँड लगायतका लागि आवश्यक तथ्याङ्क जनगणनाबाट उपलब्ध हुन्छ ।

संघीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन आम प्रयोगकर्ताहरू जस्तै– बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, प्राज्ञिक वर्ग, योजनाकार, अर्थविज्ञ, शिक्षक, विद्यार्थी लगायत आम नागरिकलाई जनगणनाबाट प्राप्त तथ्याङ्क आवश्यक पर्दछ । तसर्थ, देश विकासको योजना तयार गर्ने प्रमुख आधार निर्माण गर्ने जनगणनाको महाअभियानले प्रत्येक व्यक्तिको सहभागिता र स्वामित्वलाई आह्वान गरेको छ ।

जनगणनाको यही महाअभियानलाई आत्मसात् गर्दै समाजका लागि केही योगदान गर्ने पवित्र मनसायले मैले पनि सुपरीवेक्षकको लागि अनलाइन प्रक्रिया मार्फत भरिएको निवेदनका आधारमा छनोट भई भदौ ३० गते करारमा नियुक्ति लिएर फिल्डमा खटिंदै आएकी छु । सुरीवेक्षकका रूपमा म अहिले तनहुँको व्यास नगरपालिका वडा नं १२ को ब्लक नम्बर ३, ४, ५, र ६ का विकट ग्रामीण बस्तीहरूमा खटिएकी छु ।

यस गणना क्षेत्रभित्रका बेलघारी, गोबन्दी, देउराली, कटुसे भञ्ज्याङ, खानीगैरा, पालिङ, माथिल्लोटार, कर्लुङ, सुमलटारी, कुमलटारी, छाब्दी, लामीडाँडा, फुर्लङे लगायतका गाउँहरूमा पुगेर त्यहाँका घरपरिवारको सूचीकरण गर्ने मेरो दैनिकी नै बनेको छ ।

आमा नभएका एक ६ वर्षीय बालकले ‘आन्टी हाम्रो त ममी पोइल जानुभयो नि, अनि बुवा विदेशमा हुनुहुन्छ’ भनेपछि मैले बालकलाई काखमा लिएर मुसारें अनि सलले मुख छोपेर रोएँ।

१५ दिनको अवधिमा म ती विकट बस्तीहरूका घरदैलोमा पुग्दा जीवन भोगाइका कैयौं अनुत्तरित प्रश्नहरूले मलाई झस्क्याइरहेको छ । ग्रामीण जीवनमा नागरिकका दुःख, पीडा, हाँसो र आँसुले म नोस्टाल्जिक बन्ने गरेकी छु आजकल । कुनाकन्दरा र दूरदराजका गाउँहरूमा छाएको सन्नाटा र निर्दोष बालबालिका, महिला, वृद्धवृद्धाहरूको अनुहार र उनीहरूले व्यक्त गरेका वेदनाले मेरो मुटुमा गाँठो परेको छु ।

हुनत म पनि ग्रामीण परिवेश र रहनसहन भोगेर हुर्केकी हुँ तर पनि विगत २० वर्षदेखि मेरो बसाइ सुगम शहरमा भएकाले गाउँले जीवनका कतिपय अनुभवहरू मेरा लागि पनि नौला र परिवर्तित भएका छन् । जंगल र झाडीहरूका बीचमा भएका घरहरू पुग्न मैले कम्ती कठिनाइ भोगेकी छैन । विकासको आधारभूत पक्ष मानिने बाटोघाटोको अवस्था निकै दयनीय छ ।

वर्षौं अघि गाउँका डाँडापाखामा डोजर लगाएर खनिएका अधिकांश बाटोहरू अहिले काँडा, झाडी र पातपतिंगरले ढाकिएका छन् । वर्षौंदेखि बाटोहरूको मर्मतसम्भार नहुँदा तिनीहरूको अस्तित्व लगभग नामेट भएको छ । बाटो ढाकेका झाडीहरूमा सर्प, न्याउरी मुसा, स्याल र बाँदरहरू लुकेका देखिन्छन् । ती जंगली जनावरहरूसँगै तर्केर, भागेर भए पनि घरपरिवारको सूचीकरणका लागि पुग्नै पर्ने बाध्यता छ ।

त्यसमा पनि घरघरमा पालिने कुकुरहरूको भुकाइ र घुराइले घरसम्म पुग्नै कठिन छ । जंगल र झाडीहरूका बस्तीमा बाघ, भालु, स्याल र बाँदरको डर हुने भएकाले पनि गाउँघरमा आजकल कुकुर पाल्नु अनिवार्य जस्तै बनेको रहेछ । घर नजिकैका गोठहरू गाईभैंसी र बाख्रा विहीन देखिन्छन्, तर कुकुर भने बाँच्नकै लागि भए पनि अपरिहार्य भएको छ । कतिपय घरमा तीनवटा कुकुरहरूसम्म पालेका छन् ।

त्यसमा पनि घरपरिवारको सूचीकरण र अवस्था बुझ्न घरमूलीलाई सोधिने प्रश्न र उनीहरूले दिएको भावनात्मक उत्तरले कतिपटक म भक्कानिएकी छु । नसोधिएका कतिपय प्रश्नहरूको उत्तर उनीहरूबाटै आउने गरेको छ । वर्षौंदेखि मनमा भएका उकुसमुकुस र पीडा उनीहरूले हामीलाई पोख्ने गरेका छन् । घरमा विरलै मानिसहरू भेटिन्छन् ।

घाँसपात, दाउरा, पानीका लागि गएका घरमूलीलाई पछ्याउँदै उनीहरू भएकै ठाउँमा जानुपर्ने बाध्यता पनि छ । केही वर्ष पहिले रमाइलो लाग्ने गाउँघरमा अहिले सन्नाटा छाएको छ । घरमा पुरुषहरूको बसोबास छैन, छन् त केवल बालबालिका, महिला र वृद्धवृद्धा । घरपरिवार पाल्नकै लागि परदेशिएका पुरुषहरू घरमा नआउँदा उनीहरूका श्रीमती र बुवाआमाको आँसु देख्दा मन सम्हालिन गाह्रो हुन्छ ।

त्यसमा पनि परदेशिएका पुरुषहरू घरमा नआउँदा उनीहरूको घरबार उठिबास भएको र टुहुरा बनेका बालबालिकाको दयनीय अवस्थाले मेरो मुटु कैयौंपटक छियाछिया भएको छ । आफ्ना श्रीमती र लालाबालाहरू पाल्नकै लागि वैदेशिक रोजगारीमा गएका कैयौं पुरुषको घरमा झन् बेहालको अवस्था बनेको छ ।

कतिपय घरमा महिलाहरू नै छैनन् । विदेशिएका श्रीमान् र आफ्ना बालबालिकालाई सदाका लागि छाडेर उनीहरू अर्कैसँग घरजम गरेका यथार्थ घटना कम्ती पीडादायक छैनन् । बालबालिका र वृद्धवृद्धाको टिठलाग्दो अनुहार देखेर कतिपय ठाउँमा मैले सकेको जति सहयोग पनि गरेकी छु । आमा नभएका एक ६ वर्षीय बालकले ‘आन्टी हाम्रो त ममी पोइल जानुभयो नि, अनि बुवा विदेशमा हुनुहुन्छ’ भनेपछि मैले बालकलाई काखमा लिएर मुसारें अनि सलले मुख छोपेर रोएँ ।

त्यस बालकलाई राम्रोसँग पढ है, अनि बिस्कुट किनेर खाऊ भनेर केही पैसा दिएर गह्रुँगो मन लिएर म त्यहाँबाट विदा भएँ । कतिपय झुप्रा घरका पिंढीमा बसेका वृद्धवृद्धाहरू आफ्नै हजुरबुवा र हजुरआमा जस्ता लाग्छन् । कोही नौलो मानिस आफ्नो घरमा आएको देखेर उनीहरूको मिश्रित प्रतिक्रिया देखिन्छ ।

कतिलाई आफ्नै नातागोता आयो कि भन्ने हुँदो हो त, कतिपयलाई आफ्नो घरमा किन नौलो मानिस आयो भन्ने । एकैदिनमा धेरै घरपरिवारको सूचीकरण गर्नुपर्ने बाध्यता र कर्तव्यले पनि उनीहरूसँग बसेर भलाकुसारी गर्ने कमै फुर्सद हुन्छ । तर १०–१५ मिनेटको सोधपुछमा पनि उनीहरूको जीवनभोगाइ र कथा प्रष्ट हुन्छ ।

अझै पनि कतिपय नागरिकले जनगणनाको वास्तविक अर्थ र महत्वका बारेमा बुझ्ने अवसर पाएका छैनन् । हामीहरू घरमा पुग्दा केका लागि हो ? किन हो ? के महत्व छ यसको ? भन्ने प्रश्नहरू सोधिन्छन् जसको उत्तर दिन हामीलाई पनि हम्मेहम्मे परेको छ । नागरिकमा जनगणनाको बारेमा अझै चेतना छैन र त्यसका बारेमा राज्य निकाय पनि मौनप्रायः छ ।

कतिपयले मोबाइलको रिङटोन मार्फत जानकारी पाएको पनि बताउनुहुन्छ । बैंक खाताहरूका बारेमा प्रश्न सोध्दा उहाँहरूमा एक प्रकारको आशा जागेको देखिन्छ । किन र ? पैसा आउँछ, राखिदिनुहुन्छ ? गरीबले केही पाइन्छ कि ? भन्ने प्रश्नहरूले मुटुमा च्वास्स घोच्छ । हुन पनि किन नहोस् !

भूकम्पले भत्काएको घर अझै बनेका छैनन् । शहरमा हुनेखाने र धनीहरूले भूकम्पको अनुदानमा घर, महल ठड्याए पनि गाउँघरका गरीब र निमुखा बस्तीहरूमा अनुदानको ‘अ’ पनि पुग्न सकेको छैन । जसोतसो बाँस र झिगटीको छानो र भित्तो हालेर बनाएको झुप्रोमा उनीहरू झरी, हुरी र रात काट्न बाध्य छन् । कतिपय घरमा ढोका र झ्यालै पनि छैनन् ।

बोरा र पछ्यौराको पर्दा हालेर उनीहरूको दिनरात कसरी कट्दो हो, शायद महलका वातानुकूलित कोठामा शयन गर्ने भीआईपीहरूलाई पत्तो नहोला । नागरिकका दुःख कस्ता छन् र उनीहरूको दिनरात कसरी कटेको छ ? पाँच वर्षमा चुनावमा भोट माग्न जाने नेताज्यूहरू र जनताका सेवक भनिएका कर्मचारीहरूलाई जानकारी नभएकै हुनुपर्छ नत्र नागरिकले यति धेरै दुःख पाउनुपर्ने थिएन ।

सिंहदरबारको अधिकार गाउँमा पुगेको भनिएको छ । शायद, गाउँनगरका कार्यालय दरबारमा परिणत भयो अनि त्यहाँ सिंहहरूको रजाइँ पो भएर हो कि ? गाउँगाउँमा सिंहदरबारको अधिकार पुगेको आभास कतै पनि देखिंदैन । यस्ता धेरै जिज्ञासा र अनुत्तरित प्रश्नहरू मनमा उब्जिरहन्छन् ।

अनुत्तरित प्रश्नहरू

वास्तवमा, म एउटा प्रतिनिधिमूलक पात्र मात्र हो । राष्ट्रिय जनगणनाका सन्दर्भमा म जस्ता देशका ७५३ वटा पालिकाहरूमा खटिएका ८ हजार सुपरीवेक्षकहरूले यस्तै तीता अनुभवहरू भोगेको हुनुपर्छ । देशमा गणतान्त्रिक शासन प्रणाली र संघीयता शुरू भएको पनि करीब पाँच वर्ष पुग्न थाल्यो तर पनि नागरिकका समस्या जस्ताको तस्तै छन् ।

के संघीयता निश्चित व्यक्तिका लागि रमाइलो अवसर हो वा दरबाररूपी कार्यालयमा बसेर सिंहले जस्तै हुकुमी शासन गर्नका लागि हो ?
नत्र स्थानीय निर्वाचन सम्पन्न भएर गाउँनगर र वडाहरूमा चुनिएका जनप्रतिनिधिहरू यति विघ्न गैरजिम्मेवार हुनुहुँदैनथ्यो ।

तिनै नागरिकका मतले पद र सत्तामा पुगेका माननीय र महोदयहरूले नागरिक र उनीहरूका समस्यालाई यति बेवास्ता गर्नुहुँदैनथ्यो । नागरिकका समस्या ज्यूँका त्यूँ छन्, मात्र फेरिए गाउँमा सिंह र छोटे राजाहरू । यसो भन्दा अतिशयोक्ति नहोस् ।

यो नै तीतो यथार्थ हो । एक सुपरीवेक्षकको हैसियतले गाउँघरमा पुग्दा त्यहाँ देखिने विरक्त र कहालीलाग्दो अवस्थाले राष्ट्रिय जनगणनाका बारेमा कैयौं अनुत्तरित प्रश्नहरू मेरो मनमा उब्जाएको छ । नागरिकका प्रश्नहरू सयौं छन् । जसको उत्तर दिन करारमा नियुक्त एक कर्मचारीलाई अधिकार र जानकारी पनि हुँदैन ।

हुनत, मलाई दिइएको जिम्मेवारी मैले पूर्ण रूपमा पालना गरेकी छु । जसको फेहरिस्त अगाडि नै प्रस्तुत गरिसकें । तथापि नागरिकका जस्तै मेरा मनमा पनि कैयौं अनुत्तरित प्रश्नहरू सल्बलाइरहेका छन् । आखिर, प्रत्येक १० वर्षमा गरिने जनगणनाले नागरिकलाई के दिन्छ ? उनीहरूको गणना र घर परिवारको सूचीकरण केका लागि ? के यसले नागरिकका समस्यालाई पहिचान गरेर निदानको लागि मार्गप्रशस्त गर्छ ?

के विकासका लहरहरू दूरदराजसम्म पुर्‍याउँछ ? नागरिकका पीडामा मल्हमपट्टी लगाउन सक्छ ? गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र विकासको ग्यारेन्टी गर्छ ? समग्रमा, जनगणना केका लागि ? तथ्याङ्क र यसका सूचकहरूले ती मानिसहरूको जीवनमा कस्तो प्रभाव पार्छ ? के उनीहरूको जीवनमा परिवर्तन ल्याउन जनगणनाले केही भूमिका खेल्छ ? कि जनगणना केवल तथ्याङ्कको पुलिन्दा मात्रै हो ?

एक सुपरीवेक्षकको हैसियतले मेरो सम्बन्धित निकायसँग अनुरोध छ– जनगणना केवल व्यक्तिको टाउको र परिवारको संख्यामा सीमित नबनोस् । नत्र यसको अर्थ रहँदैन । जनगणनाले नागरिकका पीर, मर्का र समस्याहरूमा राहत दिन सकोस् । जनगणना देश विकासको लागि वास्तविक सूचक र दिशानिर्देश बनोस् ।

जनगणना समग्रमा समाज, नागरिक र राष्ट्रको समृद्धि र विकासका लागि तथ्याङ्कीय कोसेढुङ्गा बनोस् । राष्ट्रिय जनगणना २०७८ सफल बनोस्, सततः शुभकामना ।

(दुवाडी राष्ट्रिय जनगणना–२०७८ की सुपरीवेक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?