+
+

फेसबुक संस्थापक जुकरबर्गले माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १०:१५

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् ।

फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए ।

मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाली समय अनुसार सोमबार राति करिब पौने ९ बजेदेखि फेसबुक मातहतका सोसल मिडिया प्लाटफर्महरु अबरुद्ध भएकोमा बिहान पौने ४ बजेसम्म चलेका थिएनन् । यसले अर्बौं आम प्रयोगकर्ता प्रभावित भए । फेसबुक लगायतका प्लाटफर्महरु अबरुद्ध हुँदा ग्राहकसँग जोडिनका लागि सोसल मिडियाको प्रयोग गर्ने कतिपय स–साना कम्पनीहरुले वित्तीय नोक्सानी पनि व्यहोर्नुपरेको थियो ।

यहाँसम्म कि स्वयं मार्क जुकरबर्ग पनि त्यो आर्थिक क्षतिबाट अछुतो रहेनन् ।

बिजनेस वेबसाइट फच्र्युन्स ट्रयाकिङ्ग सफ्टवेयरका अनुसार फेसबुकको शेयर तीव्र रुपमा गिरावट आएका कारण उनलाई ६ अर्ब डलर अर्थात् झण्डै ७ अर्ब रुपैयाँ बराबरको नोक्सानी पुगेको थियो ।

सोसल मिडिया साइटहरुको अबरोधका विषयमा जानकारी राख्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार अवरोधका केही घण्टामै विश्वभरका एक करोड भन्दा धेरै प्रयोगकर्ताले समस्याको उजुरी गरेका थिए ।

फेसबुकका अनुसार एक त्रुटीयुक्त कन्फिगरेसन परिवर्तनका कारण सोसल मिडिया प्लाटफर्महरु अफलाइन भएका हुन् । यसले केबल वेबसाइटहरुमा मात्र होइन कम्पनीको आन्तरिक टुल्सलाई पनि प्रभावित गरेको थियो । जसमा फेसबुकको इन्टरनल इमेल तथा कर्मचारीहरुको वर्कपास पनि थियो ।

कार्यालय बाहिर भिडभाड र दौडधुप

समाचार अनुसार ६ घण्टासम्म फेसबुक अबरुद्ध हुँदा केवल प्रयोगकर्ताहरु मात्र समस्यामा परेनन् स्वयं फेसबुक कम्पनीका कर्मचारीहरु पनि समस्यामा परे । त्यसक्रममा फेसबुक कम्पनीको कार्यालय बाहिर भिडभाड र दौडधुपको माहोल बनेको थियो ।

फेसबुकको समस्या पत्ता लगाउन सक्ने इन्जिनियरहरु स्वयं कम्पनीको गेटभित्र छिर्न सकेनन् । किनकी गेटमा राखिएको मेसिनले उनीहरुको परिचयपत्र पहिचान गर्न सकेन ।

न्युयोर्क टाइम्सका अनुसार केही कर्मचारीहरु जसोतसो क्यालिफोर्निया डाटा सेन्टरमा गएर सर्भर रिसेट गरेपछि मात्रै सेवा सुचारु भयो ।

समाजमा आफ्नो पहुँच र प्रभावका विषयमा दबाब झेलिरहेको अवस्थामा फेसबुकमाथि सेवा अबरोधको पछिल्लो समस्या सिर्जना भएको छ । फेसबुकका एक पूर्व कर्मचारी फ्रान्सेस हेगनले सुरक्षा भन्दा वृद्धिलाई बढी प्राथमिकता दिएका कारण फेसबुकमा समस्या आउने गरेको आरोप लगाएका छन् ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?