+
+

मुख्यमन्त्री रहेरै दशैं मनाउने आचार्यको इच्छा !

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २० गते २०:३७

२० असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैं मनाएर मात्रै विश्वासको मत लिने इच्छा व्यक्त गरेका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यको दल नेकपा एमाले विभाजन भएपछि उनले विश्वासको मत लिनुपर्ने बाध्यता छ । मन्त्रिपरिषदबाट असोज २२ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका आचार्यले बुधबार भने दशैंपछि मात्र विश्वासको मत लिने इच्छा व्यक्त गरेका हुन् ।

बुधबार प्रदेशसभाको भवन उद्घाटन कार्यक्रममा उनले विपक्षी दलहरुलाई सहमतिको सरकार बनाउन प्रस्ताव पनि गरेका छन् । ‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाऔं, लडाईं झगडा तँछाडमछाड शब्दका वाण यी सबैको के जरुरी प¥यो ?’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निश्कर्ष निकालौं ।’

प्रतिपक्षी दलहरुले आचार्यले मुख्यमन्त्री भएर नै दशैं मान्न खोजेको भन्दै केही दिनअघि प्रदेश प्रमुखलाई भेटेर खबरदारी गर्न आग्रह गरेका थिए । उनीहरुले बुधबार सभामुखलाई पनि भेटेर मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गर्न आग्रह गरेका छन् ।

‘सभामुखलाई भेटेर हामीले नियम अनुसार प्रक्रिया शुरु गर्न भनेका छौं,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘उहाँले संविधान अनुसार चल्छु भन्नुभएको छ ।’

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा मुख्यमन्त्रीको दल नेकपा एमालेका ४१ सांसद छन् । मुख्यमन्त्री आचार्यले प्रदेशसभाको विश्वास पाउन ४७ सांसदको समर्थन पाउनुपर्छ ।

२–४ दिन तलमाथि होला तर संविधान मिचिन्न

मुख्यमन्त्री आचार्यले २–४ दिन पर सरेपनि विश्वासको मत लिने बताए । ‘संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने, ‘…२–४ दिन तलमाथि हुन सक्छ तर संविधान मिचिदैन ।’

संविधानको धारा १८८ को उपधारा २ मा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजाने व्यवस्था छ । तर विश्वासको मत लिने समय नतोकेको सत्तापक्षको तर्क छ ।

उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने’ उल्लेख छ ।

प्रदेशमा नेकपा एमाले विभाजन भई एकीकृत समाजवादी दल बनेको पत्र भदौ २५ गते दर्ता भएको छ । यो मितिको ३० दिनपछि विश्वासको मतका लागि प्रस्ताव लैजाने सत्तापक्षले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले अल्पमतमा रहेको जानकारी हुँदाहुँदै नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाउने बताए ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेशको आदर्श नेताको रुपमा पहिचान बनाउनका लागि जालझेल नगरी मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पनि मुख्यमन्त्रीले नैतिकता देखाउनुपर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?