Comments Add Comment

इटुम्बाहलबाट चोरिएकी ‘सालभाञ्जिका’ न्युयोर्कमा भेटिइन्

नेपाल फिर्ता ल्याउन सरकारलाई अध्ययेताको आग्रह

२१ असोज, काठमाडौं । काठमाडौं, इटुम्बहालको भाष्करदेव संकारित केशचन्द्रकृत परावत महाविहारमा माथिल्लो भाग भाँचिएको काठको प्राचिन यक्ष मूर्ति छ । यो टुटेको मूर्तिमाथि उभिएकी यक्षिणी (सालभाञ्जिका) भने २०४२ सालतिर एक्कासी हराइन् । यक्षभन्दा माथि रहेकी यक्षिणीको मूर्ति भाँचेर चोरिएको थियो ।

त्यसबेला तिन यक्षिणीका काष्ठ मूर्ति चोरिएका थिए । मूर्ति चोरीको अपराध मौलाएको त्यो समयमा प्रहरीले सामान्य अनुसन्धान गरेपनि ति अमूल्य नेपाली कलाकृति कोबाट चोरिएर कता पुगे पत्ता लागेन ।

३५-३६ वर्षअघि हराएकी ती यक्षिणीमध्येका एकलाई पुरातत्वका विद्यार्थी विवेक सिटौलाले हालै अमेरिकाको न्युयोर्कस्थित ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’मा फेला पारेका छन् । उनका अनुसार त्यो मूर्ति संग्राहलयको भण्डारमा राखिएको छ ।

अमेरिकाको संग्रहालयमा राखिएको सालभाञ्जिकाको माथिल्लो भाग र नेपालमा रहेको त्यसको तल्लो भाग (दायाँ) ।

सार्वजनिक प्रदर्शनमा नरहेको ती सालभाञ्जिका इटुम्बहालको महाविहारमा टुटेको अवस्थामा रहेको यक्षको माथिल्लो भाग नै भएको सिटौलाले बताए । स्कटल्यान्डको ‘युनिभर्सिटी अफ हाइल्यान्ड्स एन्ड आइल्यान्ड्स’मा अध्ययरत उनी ‘रोयल सोसाइटी अफ आर्टस्’को फेलो पनि हुन् ।

नेपालका धेरै मूर्ति विश्वका प्रतिष्ठित संग्रहालयहरुमा पुगेका छन् । यीमध्ये न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट पनि एक हो । सिटौलाका अनुसार, संकलक इभिलिन क्रेनस कोसाकले सन् १९९१ मा यो म्युजियमलाई उपहार दिएका नेपालका प्राचीन कलामध्ये सबभन्दा महत्वपूर्ण काष्ठमूर्ति हो, सालभञ्जिका ।

कला अध्ययनका क्रममा मेट्रोपोलिटन म्युजियमको ‘इन्भेन्ट्री’ खोतल्दै गर्दा यो मूर्तिले सिटौलाको ध्यानाकर्षण गरेको थियो । ‘मूर्तिको बनोट हेर्दा नै यो नेपालबाट हराएकामध्यको एक हुनसक्ने लागेर सोधखोज थालेँ,’ उनले अनलाइनखबरलाई टेलिफोनमा भने, ‘नेपालबाट हराएका अमूल्य काष्ट कलामध्ये यो यक्षिणी एक हो ।’

नभन्दै, उनले त्यो नेपालबाटै अमेरिका पुगेको तथ्यहरू फेला पारे । म्युजियमको स्टोरमा बेवारिसे रहेको सालभन्जिकालाई नेपालले जतिसक्दो छिटो दाबी गरेर फर्काउने प्रकृया थाल्नुपर्नेमा उनको जोड छ । उनी भन्छन्, ‘यो प्राचीन मूर्ति इटुम्बाहल महाबिहार परिसरभित्रकै हो भन्ने प्रमाणित गर्न गाह्रो पनि छैन ।’

प्रमाणको छैन कमी

युर्गेन स्किकको ‘द गड्स आर लिभिङ द कन्ट्रीः आर्ट थेप्ट फ्रम नेपाल’ लगायत कला-संस्कृती सम्बन्धि चर्चित किताबहरुमा नेपालबाट हराएका धेरै मूर्तिको फोटोसहित विवरण पाइन्छन् ।

यक्षिणी मुकुट, झुम्का, हार, औंठीलगायत गहनाले सजिएकी छन् । सिटौलाका अनुसार, यी बज्रपाणीकालका आभूषण हुन् । गोलीगाँठो र खुट्टामा लगाउने गहना भने छैन । खुट्टामा गहना नहुनु यो मूर्तिको नौलो पक्ष भएको सिटौला बताउँछन्

सन् १९८९ प्रकाशित स्किकको किताबमा समेटिएका नेपालका प्राचीन मूर्तिहरुमध्ये सालभाञ्जिका पनि हो । फोटोमा निहुरिएका यक्षको दायाँ पाखुरामाथि बायाँ खुट्टाले टेकेर सालभाञ्जिका उभिएको देखिन्छ । सालभाञ्जिकाको दायाँ खुट्टा यक्षको बाँया काँधमा छ ।

स्किकले २९ असोज २०४० मा खिचेको फोटो किताबको पृष्ठ १०७ मा राखिएको छ । त्यस्तै, म्यारी सेर्फड स्लसर, केभिन आर. मार्श र पल जेटको किताव ‘द एन्टिक्युटी अफ नेप्लिज उडकार्भिङ : अ रिअसेसमेन्ट’ मा समेटिएका काठमाडौं उपत्यकका विलक्षण काष्ठकलाका तस्वीरमध्ये सालभाञ्जिकाको पनि छ ।

सन् १९६९ देखि १९७० सम्म तस्वीर खिचिएका यी मूर्तिहरु १९८४-१९८५ बीचमा चोरी भएको अनुमान छ ।

सालभाञ्जिकाको यो मूर्ति सन् ७७०-९७० बीचमा बनेको हुन सक्ने अनुमान छ । यसको तस्वीर भने १९६९/१९७०, १९८३ र पछि म्युजियममा २००४ मा खिचिएको सिटौला बताउँछन् ।

उनका अनुसार, फ्लोरिडाको बेटा एनालिटिकल रेडियो कार्बन डेटिङ ल्याबरेटरीले गरेको परीक्षणले सालभाञ्जिका यक्षणीको काष्ठमूर्ति लिच्छवीकालपछिको संक्रमणकालमा बनेको देखाएको छ । उनी भन्छन्, ‘सो कार्बन डेटिङलाई मान्ने हो भने नेपालको सबभन्दा पुरानो र लामो समय अस्तित्वमा रहेको काष्ठकलामध्ये एक हो, सालभन्जिका ।’

अमेरिकाको संग्राहलयमा रहेको सालभन्जिकाको मूर्तिको उचाइ ‘१३१.५×२१ सेन्टिमिटर’ छ । त्यसमा नेपालमा रहेको यक्षसहितको बाँकी भाग जोड्दा मूर्तिको वास्तविक उचाइ थाह हुन्छ ।

‘पूर्वकी मोनालिसा’

यो मूर्ति शौन्दर्य र काष्ठकलाको कारण पनि निकै महत्वपूर्ण छ । मूर्तिमा यक्षिणी परम्परागत आसन त्रिभङ्गामा बसेको देखिन्छ । खुट्टा ‘क्रस’ गरेकी सालभञ्जिका यक्षमाथि उभिएकी छन् । यक्ष चट्टानमा घुँडा टेकेर निहुरिएका छन् ।

यक्षिणीले आफूभन्दा माथिको वनस्पति हातले सम्हालेकी छिन् । सिटौलाका अनुसार, यस्तो विशेष आसनलाई ‘सालभाञ्जिका’ भनिन्छ । यसको अर्थ ‘सालको रुख भाँच्ने सुन्दरी’ भन्ने हुन्छ ।

हृष्टपुष्ठ सालभाञ्जिकाको पातलो कम्मर र ठूलो जाँघ छन् । वक्षस्थल खुला भएको सालभाञ्जिकाको ठूलो टाउको, वर्गाकार अनुहार र आँखा ठुल्ठूला छन् । उनको खुलेका अधरमा मन्द मुस्कान देखिन्छ । ‘घुंगुरिएको छोटो कपाल बज्रपाणीकाल (आठौं शताब्दी)को जस्तो देखिन्छ,’ कला अध्ययता सिटौला भन्छन्, ‘दुःखको कुरा नाक भने बिग्रिएको छ ।’

यक्षिणी मुकुट, झुम्का, हार, औंठीलगायत गहनाले सजिएकी छन् । सिटौलाका अनुसार, यी बज्रपाणीकालका आभूषण हुन् । गोलीगाँठो र खुट्टामा लगाउने गहना भने छैन । खुट्टामा गहना नहुनु यो मूर्तिको नौलो पक्ष भएको सिटौला बताउँछन् ।

यक्षिणीको रुपलाई सिटौला ‘पूर्वको मोनालिसा’ भन्न रुचाउँछन् । ‘यो मूर्ति ज्यादै चित्ताकर्षक छ, अलौकिक लाग्छ,’ उनी भन्छन्, ‘मुस्कानसहितको यो सालभाञ्जिकालाई ‘पूर्वको मोनालिसा’ भन्न सकिन्छ ।’

भाष्करदेव संकारित केशचन्द्रकृत परावत महाविहार भने यो मूर्तिबारे खासै जानकार पाइएन । महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य महाविहार जीर्णोद्धार गर्दा निकालिएका काठका पुराना मूर्तिहरुको टुटेफुटेको भागहरु स्टोरमा हुनसक्ने बताउँछन् ।

‘यहाँबाट धेरै निधि हराए, टुटेफुटेका पुराना मूर्तिहरु भण्डारमा होलान्,’ उनले भने ।

सरकारको दायित्व

अध्ययेता सिटौला यक्षिणीलाई घर फर्काएर यक्षसँग भेटाउन नेपाल सरकारले तदारुक्तता देखाउनैपर्ने बताउँछन् । आफ्नो तर्फबाट वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालको यक्षिणी मेट्रोपोलिटन म्युजियममा रहेको प्रमाणसहित फिर्तिको प्रक्रिया अघि बढाउन अनुरोधपत्र पठाएको उनले बताए ।

‘त्यसबाहेक, राजदूतदेखि कर्मचारीसम्मलाई फोन गरेर पनि घच्घचाएको थिएँ’ उनी भन्छन्, ‘नेपालमा पनि पुरातत्व विभागदेखि प्रज्ञा प्रतिष्ठानसम्मलाई यो निधिको उद्धार गर्न माग गर्दै पत्र पठाएको छु । हाम्रो यति अनमोल निधि विदेशको स्टोरमा थन्किएको छ । यसमा सम्बद्ध निकायले बेवास्ता गर्न मिल्दैन ।’

सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएर विदेश पुगेका मूर्तिको हकमा विना क्षतिपूर्ति फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

महासन्धिको दफा ७ मा गैरकानूनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख छ । अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्र नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भए सम्बन्धित देशले सो बारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, दफा ७ को बी (आई) मा मूर्तिको स्रोत राज्यको कुनै पनि सांस्कृतिक सम्पत्ति पुनःप्राप्ति र फिर्ता लिन उचित कदम चाल्ने सम्बन्धमा व्यवस्था गरिएको छ । यो दफामा कुनै पनि मुलुकबाट चोरी निकासी गरिएको मूर्ति भए क्षतिपूर्ति दिनु नपर्ने तर कुनै कारणले खरीद गरेर लगेको प्रमाण भेटिए क्षतिपूर्ति तिरेर मूर्ति एवं सांस्कृतिक वस्तु फिर्ता ल्याउन सक्ने व्यवस्था पनि छ ।

‘सरकारले सालभञ्जिका फर्काउने आफ्नो दायित्व चाँडै पूरा गरोस् भन्ने आग्रह हो,’ अध्येयता सिटौला भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment