+
+

‘उपन्यास अखबारमा छापिने समाचारमात्र नबनोस् भनेर श्वैरकल्पना रोजेँ’

‘मिथ्या पढ्नुपर्छ भनेर दाबी गर्दिनँ, पाठकले रुचिअनुसार पढ्ने हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १४:०७

३० असोज, पोखरा । नेपाली साहित्यको राजमार्गमा पोखराबाट उपन्यास लेखनको इतिहासमा कान्छा अर्थात पछिल्लो उपन्यासकारका रुपमा दीपक पराजुली आएका छन् । २०११ सालमा मुक्तिनाथ शर्माको ‘को अछुत ?’ मार्फत उपन्यास लेखनको थालनी भएको पोखराको औपन्यासिक इतिहास पराजलीको ‘मिथ्या’सम्म आइपुगेको छ ।

आख्यान तथा गैरआख्यानमा समेत कलम चलाउने पराजुलीको उपन्यास ‘मिथ्या’ शुक्रबार पोखरामा लोकार्पण भएको हो । पोखरेली साहित्यमा क्रियाशील पराजुलीले पूर्वीय चिन्तन, कथावाचन पद्धतिलाई प्रयोग गरेर मिथ्या जगतलाई उपन्यासको विषयवस्तु बनाएका छन् ।

यसअघि पोखराबाटै ‘राज्यको अन्त्य होस्’ किताब प्रकाशन गरिसकेको भए पनि बुकहिल प्रकाशन गृहबाट निकालिएको यो उपन्यासलाई पहिलो भनिएको छ । प्रस्तुत छ, लेखक पराजुलीसँग मिथ्या उपन्यासका सन्दर्भमा अनलाइनखबरले गरेको कुराकानीः

तपाईंले उपन्यासमा पस्केको कसको कथा हो ? त्यो कति सत्य नजिक, कति मिथ्या हो ?

यो स्वैरकाल्पनिक उपन्यास हो । यो कुनै खास स्थान वा व्यक्तिको कथा नभई समग्र मानव चेतनाको कथा हो । यसमा घटना वा पात्र केवल निमित्त हुन् । कथालाई मानवीय व्यवहारका अनेक आयामाले लिड गरेको छ । न त यो पुरै मिथ्या हो न सत्य ।

मिथ्या उपन्यासको अवधारणा निर्माण गर्ने कुनै घटना थियो ? अब यो लेख्नैपर्छ भन्ने झिल्को दिमागमा कसरी छि¥यो, त्यसले कति समय लखेट्यो ? लेख्न कति समय लाग्यो ?

त्यस्तो कुनै आकस्मिक घटनाबाट प्रेरित भएर यो उपन्यास रचिएको होइन । जस्तो धेरै लेखकले भन्ने सुनाउने गर्दछन् । पहिल्यैदेखि पूर्वीय चिन्तन, कथावाचन पद्धतिलाई प्रयोग गरी लेखौँ भन्ने मनसायले लेखेको हुँ । किनभने म त्यही स्कुलिङबाट हुर्केको मान्छे हुँ । त्यसमा मलाई सुविधा छ । त्यही विषयलाई पस्कने हुटहुटीले मलाई लेख्न प्रेरित ग¥यो । त्यसैले उपन्यासको आधार त्यसैले निर्माण गरेको हो । यो उपन्यास तयार पार्न मलाई तीन वर्ष लाग्यो ।

जुन कथावस्तुलाई मिथ्यामा उतार्नुभएको, यही कथालाई उपन्यास बनाउनुपर्छ भनेर किन लाग्यो ? मिथ्या पाठकले किन पढ्नु पर्छ ?

सुरुमा मैले एउटा कथा नै लेखेको थिएँ । तर जुन कुरा म अभिव्यक्त गर्न चाहन्थेँ त्यसका लागि एउटा फराकिलो कित्ता आवश्यक थियो । त्यसैले उपन्यास नै रोजेँ । पाठकले यसकारण नै मिथ्या पढ्नुपर्छ भनेर म दाबी गर्दिनँ । पाठकले आफ्नो रुचिअनुसार पढ्ने हो । पाठकको छनोट गर्ने अधिकार र रुचिलाई लेखकले सम्मान गर्नुपर्छ ।

उपन्यासमा कथा कथ्ने शैलीहरु धेरै छन् । तर, तपाईंले श्वैरकल्पना नै किन रोज्नुभयो ?

मेरो उपन्यास अखबारको विविध शीर्षकमा छापिने समाचार नबोस् भन्ने कामनाले श्वैर कल्पनालाई रोजेँ । भविष्यमा अन्य शैलीहरुको प्रयोग गर्ने नै छु ।

तपाईँले अचेलका उपन्यासहरु अखबारमा छापिने समाचारजस्ता छन् भन्न खोज्नुभएको हो ?

सबै होइन । त्यसप्रकारका उपन्यासहरु पनि आए भनेर समीक्षक÷समालोचकहरुले नै भनेका छन् । मैले त्यही कुरालाई उद्धृत मात्र गरेको हुँ ।

पोखरेलीले यहाँको पहिलो उपन्यासका रुपमा ‘राज्यको अन्त्य होस्’ उपन्यास पढेका थिए । तर, तपाईंले मिथ्यालाई पहिलो उपन्यास भन्नुभयो । तपाईंले आफ्नै पहिलो कृतिलाई अपनत्व नलिएको कि प्रकाशन गृहको चलाखी ?

त्यो लघु उपन्यास थियो । यसमा एउटा रोचक प्रसंग पनि जोडिएको छ । त्यो पछि कुनै बेला संस्मरण लेखेरै बताउन उपयुक्त होला भन्ठानेको छु । उत्तरको लागि केही समय धैर्य गर्नुपर्ने भयो ।

मिथ्यालाई विमोचनमा पोखरेलीको उपन्यास भन्नुभएको थियो । पोखरामा नै यो उपन्यास कहाँनेर उभिन्छ ?

स्रोतका कारण भनेको हुँ । मैले जे जति पाएँ, त्यो सबै पोखराले दिएको हो । पोखरा मेरो प्रेरणा र ऊर्जाको स्रोत हो । कसलाई कहाँ उभ्याउने भन्ने कुरा मर्मज्ञ पाठकहरुको जिम्मामा पर्छ । मैले त आफ्नो तर्फबाट प्रयास मात्रै गर्ने हो ।

उपन्यास प्रकाशन हुने भनिएको २ वर्षमा बल्ल बजारमा आएको छ । लेखनको पृष्ठभूमि र विषय ‘मिथ्या’ नै रोज्नुको अन्तरकथा के हो ?

१८ महिना जति ढिलो गरी प्रकाशित भएको हो । ढिला हुनुको मुख्य कारण त कोरोना महामारी नै हो । मिथ्या नै किन रोजेको भन्ने सवालमा म के भन्छु भने हामीले धेरै झुठा कुराहरुलाई सत्य मानेका हुन्छौँ । हामीले अभिव्यक्त गर्ने विचार, निर्णय र व्यवहार दाबी गरेजस्तो सत्य हुँदैनन् र सत्य कोही पनि मान्न तयार छैन । हामीले गर्ने गरेको विश्वासमा एकपटक अविश्वास गरी हेर्न जरुरी छ । तर त्यसको लागि ठूलो आँट चाहिएला । त्यो आँट मैले पनि गर्न सकेको छैन ।

जस्तो तपाईँको उमेर अनुसार त प्रेम कथा लेखेको भए पनि हुन्थ्यो नि किन त्यो विषय रोज्नु भएन ?

हुन त मिथ्यामा पनि प्रेमका बारेमा केही प्रसंग छन् । तर मलाई के लाग्छ भने प्रेम सर्वथा मिथ्या अवधारणा हो । कवि कलाकारले त भन्ने नै भए तर अचेल त पण्डित महात्मादेखि लिएर सबै खाले विदुषकहरुले प्रेमलाई ग्लोरिफाइ गरेको देख्छु । प्रेमको नाउँमा दुनियाँले दुनियाँलाई वेबकुफ मात्रै बनाइरहेका छन् ।

भनेपछि तपाईँ प्रेममा विश्वास गर्नुहुन्न ?

गर्दिनँ । खासमा जसलाई प्रेम भनेर व्याख्या गरिएको छ । त्यो मोह हो । जीवनमा मोह हुन्छ । मोह सत्य हो, प्रेम मिथ्या हो । यहाँ कृष्णलाई समेत प्रेमको प्रतीक भनेर जबर्जस्ती उपमा भिराइएरको छ । बोल्नुभन्दा अघि भागवत गीता राम्ररी पढे हुने हो ।

नेपाली साहित्यमा ‘ग्रुपिजम’ मौलाउँदै गएको भन्ने आरोप छ । बजारको हल्लाले पाठकलाई धोका दिइरहेको पछिल्लो समय गुनासो पनि सुनिँदै आएको छ । एउटा लेखकलाई किताबबाटै आम पाठकसम्म पुग्न कत्तिको सजिलो छ ?

लोकतन्त्रमा ग्रुपिजम हुनु स्वभाविक छ । फेरि यो खुला बजारमा कसैले कसैलाई निषेध गर्छु भन्नु मूर्खता त मात्रै हो । बजारको चरित्र यस्तै हुन्छ । हल्ला भनेको बजारको आत्मा हो । त्यो नभए त बजार मूर्दा बराबर हुन्छ । पाठकलाई यो ठूलो चुनौति बनेको छ । तर, यो चुनौतिलाई पाठकले स्वीकार गर्न सक्नुपर्छ । किताबबाट मात्रै सिधै आम पाठकसम्म पुग्न बढी समय लाग्ने भएर होला अन्य साधनको प्रयोग गर्नु परेको । सत्य कुरा के हो भने ग्रुपिजमले लेखक बनाउँदैन । लेखक बन्नको लागि लेख्नैपर्छ । लेखन नै साध्य हो । ग्रुपलाई साध्य मान्नेले राजनीति गर्ने हो, लेखक बन्ने होइन ।

भनिन्छ, ‘हामीसँग नयाँ कथा छैनन्, कसै न कसैले भनिसकेको छ, कतै न कतै लेखिइसकेको छ । प्रयोग र भन्ने शैलीमात्र फरक हो । त्यसैले नयाँ कृतिमा कहीँ न कहीँ कसैको प्रभाव झल्किने सम्भावना बढी हुन्छ ।’ तपाईंलाई यसबाट मुक्त हुन कत्तिको गाह्रो प¥यो ?

मेरो लेखनमा उल्लेखित घटना, पात्र र परिवेश आदि सामाग्री कुनै कालखण्डका हुनसक्दछन् तर कथा सारविन्दु भनेको वैदान्तिक दृष्टि हो । मैले कुनै मौलिक कथा लेखेँ भनेर दाबी गरेको छैन । समकालीन साहित्य लेखनमा कसैले त्यस्तो दाबी गर्न पनि सक्दैन । मेरो लेखनको आदिस्रोत धर्मशास्त्र, वेदान्त, पुराण आदि नै हो । हालसम्मलाई स्रोतमा मैले मुक्ति चाहेको छैन । बाँकी ढाँचा मात्रै आफ्नो हो भन्छु ।

सुरुमा यहाँले गजल, मुक्तक, गीत, कविताजस्ता विधामा कलम चलाउनुहुन्थ्यो । एउटा नाटक पनि मञ्चनै पनि भयो । किताबचाहिँ बजारमा उपन्यास ल्याउनुभयो । उपन्यास ननिकाली साहित्यकार नबनिने हो ?

मेरो साहित्यिक यात्रा भनेको मुख्य रुपमा आख्यान नै हुनेछ । अन्य विधामा मैले त्यति राम्रो गर्न सक्छु जस्तो लागेन । यो सत्य कुरा हो । मलाई गीत असाध्यै मनपर्छ । तर मैले त्यति राम्रो गीत लेख्छु जस्तो लाग्दैन । मैले त आफ्नो सुविधा अनुसार उपन्यास लेखेको हुँ । मलाई साहित्यकार नभने पनि हुन्छ । साहित्यकारमा दह्रिन उपन्यास नै लेख्नुपर्छ भन्नु मिथ्या कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?