
२ कात्तिक, धनगढी । बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै पहिरो गएको छ ।
जिल्लाको थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले अनलाइनखबरलाई बताए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, बझाङले चाहिँ घटनाबारे पुष्टि गरेको छैन । गाउँपालिकाका प्रशासकीय अधिकृत पदमबहादुर ओलीले भने, ‘गाउँमा अहिले टेलिफोन सम्पर्कविच्छेद भएको छ, एनसेलमा मात्रै वेलावेला सम्पर्क हुन्छ ।’
बझाङ सदरमुकाममा रहेका सञ्चारकर्मी मकरराज धामीले अनलाइनखबरलाई बताएअनुसार वर्षाका कारण पहिरो गएको भनिएको क्षेत्रमा जान पनि सम्भव छैन । ‘शिक्षक साउदले यसअघि पनि गाउँमा भएका घटनाबारे जानकारी दिनुहुन्थ्यो’ धामीले भने, ‘उहाँले माथि डाँडामा आएर प्रहरीलाई पनि खबर गरेको बताउनु भएको छ, तर यकिन विवरण आएको छैन ।’
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले पनि घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
प्रतिक्रिया 4