+
+

‘बालबालिकालाई हामीले बच्चैमा बुढा बनाइरहेका छौं’

राज्यले विद्यालय तहमा बालबालिकाको मानसिक स्वास्थ्यमा काम गर्नुपर्छ : डा.सुशील कँडेल, साइकोलोजिस्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:३३

३ कात्तिक, काठमाडौं । बालबालिकाको स्वास्थ्य अवस्था तन्दुरुस्त राख्नको लागि राज्य, अभिभावक, शिक्षक, विद्यालय, समाज जिम्मेवार हुन जरूरी छ ।

बालबालिकालाई स्वास्थ्य समस्याबाट टाढा राख्नको लागि उनीहरूको उमेर अनुसारको मानसिक विकासलाई बुझ्नुपर्छ । नर्सरीदेखि १२ सम्मका बच्चाहरूलाई हामीले शिक्षाका लागि केन्दि्रत बालबालिका भन्छौं । नर्सरीदेखि कक्षा एकसम्म बालबालिकाले देखाएका समस्याहरूलाई अभिभावकले थाहा पाउँदा घरभित्र नै समाधान हुन्छ । समयमा नै समस्याको पहिचान गर्न सकियो भने बच्चाहरूले ठूलो समस्या लिएर बाहिर जानुपर्दैन ।

केही केही बच्चाहरूको जन्मको बेला अथवा वंशाणुगत रूपमा आएका समस्याहरू भने लामोसम्म रहन सक्छ । बच्चाहरूको जन्मको प्रकृति फरक हुन्छ । कोही सामान्य जन्मिएका हुन्छन् भने कोही योजनाबद्ध शल्यक्रिया । यसरी जन्मिएका बच्चाहरूमा कक्षा पाँचसम्म मानसिक स्वास्थ्यमा समस्या आएको थाहा पाएपछि देखाउने अभिभावकमा आउने परिवर्तनले बच्चा ठीक भइहाल्छन् ।

हाम्रो देशमा अभिभावक शिक्षाको अभाव छ । अभिभावकलाई बालबालिका कसरी हुर्काउने भन्ने नै थाहा छैन । हचुवाको भरमा आमाबाबुको भूमिका निभाइरहेका छौं । हाम्रा बच्चाहरू हचुवाभरमा ठूला भएका छन् ।

अभिभावक शिक्षा नभएकोले अभिभावकको तर्फबाट बच्चाहरू समस्यामा पर्ने बालबालिकाको संख्या हाम्रो देशमा अत्यधिक छ । बच्चाहरूले मनोवैज्ञानिक समस्या देखाइरहँदा अभिभावकले त्यसलाई बुझेर समाधान गर्नेभन्दा झन् थर्काउने र पिट्ने गरिरहेका हुन्छौं । हामी आफू परिवर्तन हुन नखोजेर बच्चालाई परिवर्तन गर्न कोसिस गर्छौं । त्यसले विकराल समस्या ल्याइरहेको छ ।

बालबालिकालाई हामी सकारात्मक रूपमा बुझ्दैनौं । हामीले बच्चालाई ‘नो’ भन्दा बढी केही बोलेकै छैनौं । त्यही हाम्रो नो भन्ने बानीले कक्षा पाँचसम्म आउँदा बालबालिका नै पूर्णरूपमा नकारात्मक भइसकेका हुन्छन् । त्यही नकारात्मकताका बालबालिका अनुशासनहीन बन्दै जान्छन् । जसको कारण बुबाआमाको इज्जत गर्दैनन्, समाजको इज्जत गर्दैनन्, परिवारका अन्य मान्यजनको इज्जत गर्दैनन् ।

जानीजानी बुझ पचाउने जनशक्ति स्कुलभित्र तयार छ । उल्टै अटेरी, अनुशासहीन भएको आरोपमा शिक्षकहरूले कसैले आँखाले कुट्छन्, कसैले मुखले कुट्छन्, कसैले हातले, कसैले लठ्ठीले नै कुट्छन् । यस्ता धेरै तरिकाबाट शिक्षकले विद्यार्थीलाई पढाइरहेका हुन्छन्

अभिभावकको कारण हुने समस्या स्कुलभित्र पुग्दा त्यहाँको समस्या बन्छ । समस्याले जेलिएर विद्यालय पुगेका बालबालिकाको समस्या शिक्षकले बुझ्दैन । अनि स्कुलमा विद्यार्थीको समस्याबारे नजानेका वा बेवास्ता गर्ने जनशक्ति छ । या जानीजानी बुझ पचाउने जनशक्ति स्कुलभित्र तयार छ । उल्टै अटेरी, अनुशासनहीन भएको आरोपमा शिक्षकहरूले कसैले आँखाले कुट्छन्, कसैले मुखले कुट्छन्, कसैले हातले, कसैले लठ्ठीले नै कुट्छन् । यस्ता धेरै तरिकाबाट शिक्षकले विद्यार्थीलाई पढाइरहेका हुन्छन् ।

हामी अभिभावक, शिक्षकभित्र अनुशासनको कमी छ । हाम्रा कारण बच्चाहरू पनि अनुशासनहीन बन्दै गइरहेका छन् । त्यसले बालबालिकाहरूमा पछि गएर मानसिक विक्षिप्तता हुने, आफ्नो कुरा प्रष्ट नभन्ने, झर्किने, शिक्षकले भनेको गृहकार्य नगर्ने, कक्षा कार्यहरू नगर्ने, आफ्नो दोष अर्कामाथि थोपर्ने हुन्छ ।

अहिले हाम्रो नेपालमा बच्चाहरूको मानसिक उमेर यत्ति बढेर गयो कि औसत सात वर्षको उमेर भएका बच्चाले करिब २१ वर्षको जस्तो व्यवहार देखाउँछ । भनेको हाम्रा बालबालिकाहरू सानैमा बुढा भए । उमेरले जुन समयमा गर्नुपर्ने त्यो समयमा नगर्ने, जे गर्नुपर्ने हो त्यो नगर्ने खालको व्यवहार देखाउन बढेको छ ।

अभिभावक शिक्षा राज्यले दिनुपर्छ

अभिभावक शिक्षा राज्यले दिनुपर्ने हो तर राज्यलाई अभिभावक शिक्षाको विषयमा कुरा गर्न फुर्सद् छैन । त्यसैले अब अभिभावक आफैं सचेत हुनुपर्छ । समाज सचेत हुनुपर्छ । स्कुलभित्र बच्चाहरूलाई भेँडाबाख्रा जस्तो थुपारेर कुनै एउटा समयमा शिक्षा आयोग पास गरेका शिक्षकलाई पढाउन हुँदैन ।

राज्यले त शिक्षकहरूको उमेर समूहलाई पनि व्यवस्थापन गरेको छैन । मानसिक स्थिति कस्तो छ, कस्तो शिक्षकले पढाइरहेको छ, त्यसको सरकारलाई हेक्का छैन । कुन उमेर समूहमा कस्ता शिक्षकले पढाउनुपर्छ, त्यसको पनि हेक्का छैन । शिक्षकहरूमा पनि परिस्कृत हुनुपर्छ भन्ने जाँगर छ ।

सामुदायिक विद्यालयमा पढ्न जाने बच्चाहरूले झोलामा किताब बोकेर जान सक्ने अवस्थाका छैनन् । कतिपय पहाडी जिल्लाहरूमा एउटा विद्यालयभन्दा अर्को विद्यालयमा पुग्न झण्डै एकदिनको दूरीमा कलिला बालबालिका घण्टौं हिँडेर पढ्नका लागि विद्यालय पुगेका हुन्छन् । त्यस्ता विद्यालयहरूलाई अझ मर्ज गर्न स्थानीय पालिकाहरू लागेका छन् । गाह्रो छ, तर बच्चाहरू गइरहेका छन् । त्यसरी बालबालिका पढ्न पुगेका विद्यालयमा शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न चाहन्छ तर आफैँ भने अनुशासनमा बस्न चाहँदैन समस्या त्यहिँबाट सुरु हुन्छ ।

राज्यले बालबालिकाको मानसिक स्वास्थ्य समस्याको बारेमा सोच्न सकेकै छैन । राज्यको प्राथमिकतामा ठूला भवन निर्माण, सडक निर्माण, राष्ट्रिय गौरव भनिएका योजनाहरूमा केन्द्रित छन् ।

समाज पनि बेथितिको आधारबाट चलिरहेको छ । उदाहरणको लागि एउटा विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्नलाई चुनाव जित्नुपर्छ । यो दल र ऊ दल भनेर मारामार झगडा हुन्छ । त्यसरी अध्यक्ष भएका व्यक्ति बालबालिकालाई दिइने शिक्षाको गुणस्तर, बालबालिकाको मानसिक स्वास्थ्य समस्या, शिक्षकहरूको पढाउने शैलीमा संवेदनशील हुन सक्दैन । त्यहाँ पनि राजनीति नै गर्छ । विद्यालय चलाउनको लागि पार्टी होइन, बालबालिकालाई दिने शिक्षाप्रति संवेदनशील हुनुपर्छ ।
शिक्षक आफैं परिस्कृत हुनुपर्छ

शिक्षकले विद्यालय छिर्नुअघि एउटा चस्मा बाहिर छोडेर जानुपर्छ । थोरै अंक ल्याउने विद्यार्थी नराम्रो र शतप्रतिशत अंक ल्याउने विद्यार्थी राम्रो भन्ने दृष्टिकोण बाहिरै छोड्नुपर्छ । अब पनि बच्चाको समस्या बुझ्ने चस्मा लिएर नजाने हो भने गम्भीर समस्या आउँछ ।

शिक्षक बच्चाको समस्या मनोवैज्ञानिक रूपमा सुक्ष्म किसिमले पर्गेल्न सक्ने हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई नसोधेसम्म बच्चाले समस्या भन्दैन । शिक्षकले त्यत्ति मात्रै बुझिदिए, आँखा खोलिदिए विद्यार्थीको समस्या ७० प्रतिशत समाधान हुन्छ । शिक्षकहरूले आँखा खोल्न जरुरी छ । अब शिक्षक आफैँ पनि परिस्कृत हुन जरूरी छ ।

कोभिडपछिको अवस्था झन् विकराल बन्दै

कोभिडले बालबालिकाको मानसिक स्वास्थ्य समस्यामा झन् विकराल अवस्था सिर्जना गरेको छ । कोभिडका कारण विद्यालय बन्द भयो । तर विद्यालय खोल्नलाई सरकार उदासीन भइदियो । वैज्ञानिक तरिकाले विद्यालय खोल्न सकेन ।

यिनै कारणहरूले बच्चाहरू दुई वर्षसम्मै घरभित्रै बसे । त्यसले बच्चाद्वारा निक्लिने सामाजिक र मानसिक स्वास्थ्य समस्या, परिवारको सामाजिक आधारको विखण्डन र बच्चाद्वारा शिक्षा प्रणालीलाई हेर्ने आँखा परिवर्तन हुन्छ भन्ने सरकारले बुझेन ।

त्यो नबुझेरै सरकारले फटाफटी एसईईभन्दा तल कक्षाका परीक्षा दिन नपर्ने बनायो । अधिकांश विद्यार्थीलाई उत्कृष्ट अंक दिएर पास गरायो ।

परीक्षा नदिई ए प्लसका विद्यार्थी र मेहनत गरेर ए प्लस अंक लिएर पास गर्नेबीच हुने मानसिक द्वन्द्वले भोलि समाजमा पर्ने असर सरकारले सोचेन । त्यसपछि पनि सरकारले के हेक्का राख्न सकेन भने अब हामीले विद्यालय केन्दि्रत शिक्षालाई अगाडि बढाइएन भने बच्चाले घरभित्र लिएर आउने सामाजिक समस्याहरूले अभिभावकमा विक्षिप्तता आउँछ । एउटा नयाँ सामाजिक समस्याको जन्म हुन्छ भन्ने कोणबाट सरकारले सोचेन ।

दुई वर्षसम्म घरैमा बस्दा बच्चाले बुबाले आमालाई अथवा आमाले बुबालाई दिएको पीडा अथवा व्यवहार देख्यो । आमा र बाबाबीचको सम्बन्धको आधार बुझ्यो । आमा र घरका अन्य सदस्यको सम्बन्ध बुझ्यो । आमाबुबाले समाजप्रति हेर्ने दृष्टिकोण र समाजले आमाबुबालाई हेर्ने दृष्टिकोण बुझ्यो । यसका कारण अब समाजभित्र ठूलो विक्षिप्तताको स्थिति बन्यो ।

केही कुरा पर्दाभित्र लुकेकै ठीक हुन्छ । लुक्नुपर्ने कुरा बाहिर आउँदा त्यसले समाजभित्र एउटा नकारात्मक प्रभाव पर्छ । त्यस्ता लुक्नुपर्ने कुराहरू दुई वर्षसम्म घरमा बस्दा बच्चाहरूले देखे, भोगे । यसले समाजप्रति हेर्ने उनीहरूको आँखा पनि परिवर्तन भयो ।

यसले दुईतर्फ प्रभाव पार्छ- ऊ भित्र आउने विचलन र त्यसले समाजमा ल्याउने प्रभाव । अब आउँदा १५ वर्ष पछाडिको आँकडा लगाएर हेर्दा समाजमा त्यस्तो व्यक्तिले देखाउने व्यवहार डरलाग्दो हुन्छ । यो स्तरबाट सरकारले बुझेन ।

कोभिडले धेरै बालबालिकामा विक्षिप्तता ल्याएको छ । अहिले हामी विद्यालय तहमा प्रवेश गरेर काम गर्नुपर्छ । निजी संघसंस्थाहरूले गरेको काम भनेको शून्य दशमलव पछाडि तीन शून्यमा एक अंक जत्ति काम गर्छन् । तर सरकारले चाहँदा एकैपटक प्रभावकारी काम गर्न सक्छ । त्यसैले राज्यले नै बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धित काम गर्न जरूरी छ ।

(अनलाइनखबरकर्मी नुनुता राईसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?